सरकारबाट बाहिरियो एमाले
तीन जना मन्त्रीद्वारा सामूहिक राजीनामा, संकटमा मुख्यमन्त्री शाही
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमालेका मन्त्रीहरू कर्णाली प्रदेश सरकारबाट बाहिरिएका छन् । एमालेबाट सहभागी भएका तीन जना मन्त्रीहरूले मंगलवार सामूहिक राजीनामा दिएका छन् ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले मन्त्री पदबाट राजीनामा दिएका हुन् । २०७४ फागुन ६ गते कर्णालीमा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनेको थियो । मन्त्रीहरूले राजीनामा दिएसँगै माओवादी केन्द्रको सरकार अल्पमतमा परेको छ ।
यही चैत ५ गतेदेखि लागु हुने गरी एमालेले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको थियो । तर सरकारमा सहभागी एमालेका तीन जना मन्त्रीले भने राजीनामा दिएका थिएनन् । बरु आफ्नै संसदीय दलको निर्णयविरुद्ध उनीहरूले सरकारलाई दिएको समर्थन कायमै रहेको बताउँदै आएका थिए । यद्यपि महिना दिन बित्न नपाउँदै उनीहरू राजीनामाको निर्णयमा पुगेका हुन् । दलको निर्णयलाई स्वीकार गर्दै सरकारबाट बाहिरिएको तीनै जनाको भनाइ छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि आफूहरूले मन्त्री पदबाट राजीनामा दिने निर्णय गरेको बताए । उनले सरकारमा रहँदा गरेका कामहरूको स्मरण गर्दै अब कर्णालीको विकासका लागि प्रदेशसभाको सदस्यको हैसियतले लागिपर्ने बताए ।
एमालेका मन्त्रीहरू फिर्ता भइसकेपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका छन् । योसँगै अब नयाँ सरकार गठनका लागि एमालेलाई सहज भएको छ । मुख्यमन्त्री शाहीले अब मार्गप्रशस्त गर्नुपर्ने एमालेका सांसदहरूले बताउँदै आएका छन् । मंगलवार बसेको एमाले संसदीय दलको बैठकले पनि अबको राजनीतिक कोर्ष कसरी अघि बढाउने भनेर प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ । यसका लागि बैठकले एमाले संसदीय दलका नेता यामलाल कँडेललाई जिम्मेवारी दिएको छ । दलका प्रमुुख सचेतक गुलावजंग शाहले अबको राजनीतिक कोर्षका लागि छलफल अघि बढाइने बताए । उनले भने,
‘एमालेविनाको सरकार कल्पना गर्न सकिदैन । जुन दलसँग पनि हाम्रो सहकार्य हुन सक्छ । माओवादी केन्द्र, कांग्रेस र राप्रपा जुन दलसँग पनि हुुन सक्छ । छलफल अघि बढाउँछौँ ।’ कर्णालीमा एमालेका सभामुखसहित २० जना सांसद छन् । यस्तै माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका ६ र राप्रपाका एक जना प्रदेशसभा सदस्य छन् ।
यसैबीच एमाले संसदीय दलको बैठकले दलको विधान पारित गरेको छ । यस अघिको बैठकमा दलको विधान निर्माणका लागि प्रमुख सचेतक शाहको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । विधानमा दलको नेता, उपनेता, सचेतकलगायतका व्यवस्था गरिएका छन् । यस्तै बैठकले नेता यामलाल कँडेललाई सबै अधिकार दिएको छ । बैठकले दलको विधान पारित गरे पनि यसलाई पार्टीले अनुमोदन गर्नुपर्ने भएकाले अहिले पार्टीको बैठक नबसेकाले विधान हुबहु कार्यान्वयनका लागि दलका नेता कँडेललाई अधिकार दिने निर्णय गरेको प्रमुख सचेतक शाहले जानकारी दिए । उनले संसदीय दललाई अघि बढाउन र अनुशासित ढङ्गले अघि बढाउन दलका नेता कँडेललाई अधिकार दिइएको बताए ।
माधव नेपाल पक्षका सांसदहरूले आफ्ना असहमतिका विषयहरूमा दल र पार्टी भित्रै छलफल गरिने बताएका छन् । पत्रकार सम्मेलनमा ज्वालाले भने, ‘हामीसँग असहमतिका विषय छन् । त्यसलाई संसदीय दलको बैठक र पार्टीभित्र पनि राख्छौँ । हाम्रा असहमति आफ्नै ठाउँमा राख्छौं । अहिलेलाई भने संसदीय दलले बैठकको निर्णयलाई स्वीकार गर्छौं ।’
अब के गर्लान् मुख्यमन्त्री ?
एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाही संकटमा परेका छन् । उनले अब वैशाख ५ गतेसम्म संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । उनीसँग दुई वटा विकल्प छन्, एउटा उनले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिन सक्छन् भने दोस्रो संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ । एमाले सरकारबाट बाहिरिए पछि उनले अन्य दलको साथ लिए पनि संसद्मा विश्वासको मत पु¥याउन सक्ने सम्भावना छैन । माओवादी केन्द्रबाट निर्वाचित भएका धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रसँग १२ जना मात्रै सांसद छन् । मुख्यमन्त्री शाहीले कांग्रेसका ६ र राप्रपाका एक जना सांसद साथमा लिएर पनि विश्वासको मत जुटाउन सक्दैनन् । त्यसैले पनि अब मुख्यमन्त्री शाहीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने एमालेका सांसदहरू बताउँछन् । एमाले संसदीय दलका प्रमुख सचेतक शाहले मुख्यमन्त्रीले अब नैतिकताका आधारमा अब बाटो छोडिदिनु पर्ने बताए । मुख्यमन्त्रीले छिटो मार्गप्रशस्त गरेपछि नयाँ राजनीतिक कोर्ष अघि बढ्ने उनको भनाइ छ ।
माओवादी संसदीय दलकी प्रमुुख सचेतक सीताकुमारी नेपालीले अब कसरी अघि बढ्ने भनेर संसदीय दलमा छलफल पछि निर्णय गरिने बताइन् । ‘एमालेबाट सहभागी हुनु भएका मन्त्रीहरूले राजीनामा दिनु भएको छ । हामीले अब कसरी अघि बढ्ने भनेर छलफल गरिरहेका छौँ । संसदीय दलको बैठक पनि बस्छौँ र उचित निर्णय गरेर अघि बढ्छौँ ।’
प्रकाशित मितिः २५ चैत्र २०७७, बुधबार ०६:००
साझा बिसौनी ।