सखाप हुँदै वन

वनमा बर्सेनि आगलागी हुन्छ । डढेलोले वनजङ्गलमा हुने नोक्सानीको कुनै हिसाब छैन । गर्मीयाममा आगलागीको जोखिम अझ बढी हुन्छ । यस वर्ष पनि गर्मी सुरु भएसँगै आगलागीका घटना बढ्न थालिसकेका छन् । हरेक सुख्खायाममा वन तथा बस्तीमा भीषण आगलागी हुन्छ । आगलागीले ठूलो जनधनको क्षति पुग्ने गरेको छ । तीन महिनायता मात्र कर्णाली प्रदेशका ६५ वटा वन क्षेत्रमा आगलागी भएको छ । आगलागीले एकातर्फ वनजङ्गल सखाप पारिरहेको छ भने अर्कोतर्फ प्रदूषण बढाएको छ । आगलागीका कारण हुने धुवाँले वातावरण नै बिगारेको छ । यसको प्रत्यक्ष असर मानव स्वास्थ्यमा पर्ने देखिन्छ । धेरै ठाउँमा एकै पटक डढेलो लागेर जताततै बाक्लो धुवाँ र धुलो फैलिएको छ । वायु प्रदूषणका कारण आँखा पोल्ने, सास फेर्न कठिन हुने समस्या देखिन थालिसकेका छन् ।

आगलागीले ठूलो नोक्सानी हुने गरे पनि यसको न्यूनीकरण गर्न सरकार वा समुदायले खासै चासो दिएको पाइदैन । बेवास्ता गर्ने गरिएको छ । आगलागीका विभिन्न कारण छन् । तर मानवीय कमजोरीका कारण वनहरूमा डढेलो लागेको हो । मानवीय तथा प्राकृतिक कारणले लाग्ने आगलागीले हजारौँ हेक्टर वन क्षेत्र मासिएको छ । वनमा लागेको आगोले रुख बिरुवा मात्र होइन वन्यजन्तुको समेत ठूलो क्षति हुँदै आएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले चालु आर्थिक वर्षमा सबैभन्दा बढी सुर्खेतका वन जङ्गलमा आगलागी भएको देखाएको छ । पछिल्लो समय मात्र सुर्खेतका ३९ वटा वन क्षेत्रमा आगलागी भएको हो । अन्य जिल्लाहरूमा पनि आगलागी भएको छ । वनजङ्गलमा आगलागी हुनुको प्रमुख कारण मानवीय लापरबाही नै हो । आगो लगाएपछि घाँस पलाउँछ भन्ने सोच र पछिल्लो समय प्रकृतिले पनि साथ नदिएका कारण आगलागी बढिरहेको छ । यसले गर्दा वन जङ्गलमा ठूलो क्षति पुग्ने गरेको छ । वनमा आगो लाग्दा सामान्य रूपमा लिने गरेकाले वनजङ्गलमा हुने क्षतिको मूल्याङ्कन हुन नसकेको सरोकारवाला बताउँछन् । रुख बिरुवा र वन्यजन्तु नष्ट हुनुुका साथै जैविक विविधतामा समेत असर पर्नेबारे आम नागरिकमा जानकारीको अभाव छ । वनजङ्गलमा लागेको आगलागीका कारण आसपासका बस्ती समेत आगलागीको जोखिममा पर्ने गरेका छन् ।

वन जोगाउने दायित्व नागरिकको हो । त्यसैले वन जङ्गलमा आगलागी हुन नदिन जनचेतनामा पनि जोड दिनुपर्ने हुन्छ । आगलागी हुनै नदिन र भएपछि पनि नियन्त्रण गर्न विभिन्न प्रयासहरू थालिए पनि प्रभावकारी हुन सकेका छैनन् । वनजङ्गलमा हुने क्षति नियन्त्रण गर्नका लागि सरोकारवालाहरूको सञ्जाल गठन गर्ने, सामुदायिक वनको सञ्जाल बनाउने, सुरक्षा निकाय र स्थानीय प्रशासनसँग स्थानीयको समन्वय गरेर आगो लाग्ने बित्तिकै निभाउन जाने गरी सञ्जाल निर्माण गर्न जरुरी छ । आगलागी हुनै नदिन समेत विभिन्न निकायले पूर्व सावधानीका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्दछ । तब मात्रै सम्पत्तिको रूपमा रहेको वन जोगाउन सकिन्छ ।

प्रकाशित मितिः   २५ चैत्र २०७७, बुधबार ०६:००