कर्णालीमा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिए

सुर्खेत: कर्णाली प्रदेशमा सहभागि भएका एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । मंगलवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उनीहरूले सामूहिक रूपमा राजीनामा पत्र बुझाएका हुन ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मन्त्री पदबाट राजीनामा दिनुभएको हो । २०७४ फागुन ६ गते कर्णालीमा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनेको थियो । अहिले सरकारमा एमाले तीन जना मन्त्री सहभागी थिए । मुख्यमन्त्री शाहीलाई राजीनामा पत्र बुुझाएलगत्तै उनीहरूले पत्रकार सम्मेलन गरेर राजीनामा दिएको जानकारी दिएका हुन । यही चैत ५ गतेदेखि लागू हुने गरी एमालेले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको थियो तर सरकारमा एमाले माधव नेपाल पक्षका मन्त्रीहरू सहभागी थिए । उनीहरूले सरकारलाई दिएको समर्थन कायमै रहेको बताउँदै आएका थिए । दलको निर्णयलाई स्वीकार गर्दै सरकारबाट बाहिरिएको उनीहरूको भनाइ छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि आफूहरूले मन्त्री पदबाट राजीनामा दिने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले आफूहरू सरकारमा रहँदा गरेका कामहरूको स्मरण गर्दै अब कर्णालीको विकासका लागि प्रदेशसभाको सदस्यको हैसियतले लागिपर्ने बताउनुुभयो । अब मन्त्रीहरूले राजीनामा दिएसँगै कर्णाली सरकार अल्पमतमा परेको प्रष्ट भएको छ । अब कर्णालीमा नयाँ सरकार गठनको तयारीमा एमालेले लागेको छ । कर्णालीमा एमालेका सभामुखसहित २०, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका ६ र राप्रपाका एक जना प्रदेश सभा सदस्य रहेका छन् ।

प्रकाशित मितिः   २४ चैत्र २०७७, मंगलवार १४:४२