रोजगारी सिर्जना

बेरोजगारी समस्या विकराल छ । धेरै युवाहरू रोजगारीको खोजीमा भौतारिएका छन् । अनेक विकल्प रोजिरहेका छन् । पढेर जागिर गर्नेदेखि आफै उत्पादनमूलक क्षेत्रमा लगानी गरी स्वरोजगार बन्ने विकल्प हरेकसँग हुन्छ । यो किनपनि महत्वपूर्ण छ भने रोजगारीले मानिसको जीविकोपार्जन सहज बनाउँछ । आवश्यकता पूर्तिका लागि सरल बनाउँछ । रोजगारी भन्नु नै आर्थिक उपार्जनको लागि गरिने काम । व्यक्तिले गर्ने श्रम र त्यसबाट प्राप्त आम्दानीले नै परिवारदेखि समाज र राष्ट्रको अर्थव्यवस्थालाई धानेको हुन्छ । तर रोजगारीका धेरै क्षेत्र भएर पनि हामीले त्यसको समुचित विकास गर्न नसक्दा अपेक्षित लाभबाट वञ्चित हुनुपरेको छ ।

एकातर्फ रोजगारीका लागि ठूलो संख्यामा युवाहरू भौतारिनु परिरहेको छ भने अर्कोतर्फ पछिल्लो समय ठूलै संख्यामा श्रमिकले रोजगारी गुमाउनुपरेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारणले धेरैले रोजगारी गुमाए । बेरोजगार बन्नुप¥यो । अवस्था विस्तारै सुधारोन्मुख छ । तर चुनौती धेरै छन् । भत्किएको अवस्थामा सुधार ल्याउन सहज छैन । तर त्यस्ता केही क्षेत्र छन् जसको माध्यमबाट लाभ लिन सकिन्छ । जसमध्यको दुई महŒवपूर्ण क्षेत्र हुन्, कृषि र पर्यटन । नेपाल यसैपनि कृषिप्रधान मुलुक हो । यसलाई आर्थिक विकासको महŒवपूर्ण आधार बनाउन सकिन्छ । यद्यपि विडम्बना के छ भने खाद्यान्नदेखि तरकारी, फलफूल, तेलहनजस्ता उपभोग्य वस्तुहरूमा मुलुक परनिर्भर छ । आयात गरेर उपभोग गर्नुपर्ने बाध्यता छ । बर्सेनि आयात बढ्ने, निर्यात घट्ने समस्या छ । यदि उल्लेखित समस्या समाधान गर्न सक्ने हो भने त्यसले कृषिको परनिर्भरता पनि अन्त्य गर्नेछ भने सँगसँगै रोजगारीका अवसर पनि वृद्धि गर्नेछ । त्यसैले राज्यले कृषिलाई आर्थिक विकास र रोजगारीको माध्यमका रूपमा उपभोग गर्न जरुरी छ । यसका लागि ठोस योजनासहितको कार्यक्रम आवश्यक छ ।

आर्थिक विकास र रोजगारी वृद्धिको अर्को महत्वपूर्ण क्षेत्र हो, पर्यटन । पर्यटन विकासमार्फत पनि मुलुकले थुप्रै आर्थिक लाभ लिन सक्दछ । झन नेपालमा पर्यटनको प्रचूर सम्भावना छ । मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ डोर्‍याउन, रोजगारी सिर्जना गर्न एवम् राष्ट्रिय आय वितरणलाई सन्तुलित तुल्याउन पर्यटनको भूमिका महत्वपूर्ण हुन्छ । यसैगरी, स्थानीय स्रोतहरूको विकास एवम् संरक्षण गर्न सघाउँछ । तर दुःखद यथार्थ त के छ भने प्रचूर सम्भावना भएको क्षेत्रबाटै अपेक्षित लाभ लिन सकिएको छैन । पर्यटकीय स्थलहरूको पहिचान, संरक्षण, विकास र प्रचारले मात्रै पर्यटन क्षेत्रबाट आर्थिक लाभ लिन सकिन्छ । यसका साथसाथै शान्ति सुरक्षा उत्तिकै महत्वपूर्ण छ । पर्यटकीय स्थलहरू भएर पनि त्यहाँ आवश्यक पूर्वाधार विकास हुन सकेका छैनन् । पूर्वाधार विकासविना पर्यटन विकास हुन सक्दैन । त्यसैले आवश्यक पूर्वाधार विकास गर्नेतर्फ ध्यान दिन जरुरी छ । तब मात्रै आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित गरेर लाभ उठाउन सकिन्छ । यसले सिंगो मुलुककै अर्थतन्त्रमा सघाउ पु¥याउँछ ।

प्रकाशित मितिः   २४ चैत्र २०७७, मंगलवार ०६:००