पत्रकार महासंघमा निर्विरोध नेतृत्व

सुर्खेत: नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको कार्यसमितिका अधिकांश पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । शाखाको १९ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित नौ जना सर्वसम्मत निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार एकल उम्मेदवारी परेकाहरूलाई सोमवार निर्वाचित घोषणा गरिएको हो ।

शाखाको अध्यक्षमा ललित बसेल निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सविता जिसी, सचिवमा ललित बुढा, खुला सह–सचिवमा ईश्वर अधिकारी, समावेशी सचिवमा टेकेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा ललित गाहा निर्वाचित भएका हुन् । खुला उपाध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा सुदिप पुरी र खगेन्द्रप्रसाद अधिकारीले उम्मेदवारी दिएका हुन् ।

त्यस्तै, शाखाको कार्यसमिति सदस्यमा लालसिंह मिजार, करिश्मा चौधरी र कल्पना ढेंगा मगर निर्वाचित भएका छन् । दलित, महिला र जनजातीमा एकल उम्मेदवारी परेपछि उनीहरू सर्वसम्मत भएका हुन् । अन्य आठ जना खुल्ला सदस्यका लागि १० जनाको उम्मेदवारी परेको छ ।

महासंघको प्रदेश परिषद् सदस्यमा १२ जना र राष्ट्रिय परिषद् सदस्यमा पाँच जना सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । महाधिवेशनका लागि सुर्खेत शाखामा आइतवार मनोनयन दर्ता गरिएको थियो । जिल्लास्थित पत्रकारहरूका संगठनले सर्वसम्मत नेतृत्वका लागि पहल गरेका थिए । सोही अनुसार अधिकांश पद निर्विरोध भए पनि केही पदका लागि भने निर्वाचन हुने भएको छ ।

नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस संगठनले नेतृत्व चयनका लागि शनिवार सहमति गरेका थिए । महासंघलाई सबै पत्रकारको साझा संस्था बनाउन संगठनहरूले यस्तो प्रयास गरिएको बताएका छन् । चैत २५ गते (भोलि) देशभर एकै दिन प्रत्यक्ष प्रणाली अनुसार महासंघको निर्वाचन हुँदै छ । पत्रकार महासंघको केन्द्र, प्रदेश र शाखाहरूमा कार्यसमितिको निर्वाचन हुन लागेको हो ।