थारू सम्मेलनमा १० बुँदे घोषणा–पत्र

सुर्खेत: राष्ट्रिय थारू साहित्यिक सम्मेलन सम्पन्न भएको छ । वीरेन्द्रनगरमा दुई दिन सञ्चालन भएको पाँचौं थारू साहित्यिक सम्मेलनले १० बुँदे घोषणा–पत्र जारी गरेको छ । लेखक संघ नेपालको आयोजना तथा थारू कल्याणकारिणी सभा सुर्खेत, जंग्रार साहित्यिक बेखरी, नेपाल प्रज्ञा प्रतिष्ठान, एआईपीपी, युनिक नेपाल, बर्दिया, थारु भाषा तथा साहित्य संरक्षण मञ्च लगायतका संस्थाहरूको सहकार्यमा सम्मेलन भएको हो ।

थारू भाषाको मानकताको लागि सबै भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरू एकबद्ध भएर काम गर्ने, थारू मातृभाषामा शिक्षाको लागि विद्यमान संवैधानिक र कानुनी प्रावधानको व्यावहारिक कार्यान्वयनको लागि सम्बन्धित निकायलाई दबाव दिने, थारू लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने, थारू समुदायका विषयवस्तुहरू समेट्ने लगायतका बुँदाहरू घोषणा–पत्रमा समावेश गरिएको छ । आगामी दिनमा आख्यान विधामा स्रष्टालाई आकर्षित गर्ने खालका कार्यक्रमहरू सञ्चालन गरिने छ । भाषा र साहित्यको क्षेत्रमा योगदान गर्ने स्रष्टाहरूका लागि पुरस्कार स्थापना गरी सम्मानित र पुरस्कृत गर्ने सम्मेलनले जारी गरेको घोषणा–पत्रमा उल्लेख छ ।

यस्तै, सम्मेलनले थारू मौलिक तथा लोकगीत संरक्षण, भाषा र साहित्य विकासको लागि गठित नेपाल प्रज्ञा प्रतिष्ठानलगायत सरकारी निकायहरूमा पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्वको लागि जोड्दार माग गर्न सम्मेलनका सहभागी एकमत भएका छन् । आगामी छैटौं राष्ट्रिय सम्मेलन २०७८ चैतमा कञ्चनपुरमा गर्ने समेत घोषणा गरिएको सम्मेलन आयोजकले जनाएका छन् ।

प्रकाशित मितिः   २४ चैत्र २०७७, मंगलवार ०६:००