राष्ट्रपति रनिङ्ग शिल्ड सिम्तामा

यही चैत २६ गतेदेखि पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ को भानु माध्यमिक विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । सिम्तामा १२औं राष्ट्रपति रनिङ्ग शिल्ड हुन लागेको हो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । अहिले खेल पूर्वाधार निर्माण र खेलाडीहरूको बसोबासको व्यवस्थापन लगायतका काम भइरहेको बताइएको छ । विगत दुई वर्षदेखि रोकिएको राष्ट्रपति रनिङ्ग शिल्ड यस वर्ष सिम्तामा आयोजना गरिएको हो ।

प्रतियोगिताको लागि सुर्खेतका नौ वटा स्थानीय तहका झण्डै ५५ भन्दा धेरै विद्यालयले सहभागिता जनाउने भएका छन् । प्रतियोगिता सञ्चालनका लागि झन्डै १६ लाख खर्च हुने गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले बताए । उनले अहिले खेलमैदान, शौचालय निर्माण, खानेपानी, मञ्च व्यवस्थापन लगायतको काम भइरहेको जनाए । भानु माध्यमिक विद्यालयका बजेडीचौरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीर्घ मल्लले यति ठूलो प्रतियोगिता आयोजना गर्न पाउनु आफूहरूका लागि अवसर र चुनौती दुवै भएको बताए । प्रतियोगितामा कराँते, तेक्वान्दो, कपर्दी, भलिबल, एथलेक्टिक्ससहित ६ वटा विधाका खेलहरू खेलाइने छ । प्रतियोगितामा जिल्लाभरका १२ सय विद्यार्थीहरूको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामबहादुर वलीले जानकारी दिए । प्रतियोगिता चैत २८ गतेसम्म सञ्चालन हुनेछ

 

प्रकाशित मितिः   २२ चैत्र २०७७, आईतवार ०८:२४