मार्सीको मेलो
कनकासुन्दरी गाउँपालिका–७ जुम्लाकी सानी रोकायलाई मार्सी धानको बिउ राख्ने चटारो छ । मार्सीको बिउ राख्नको लागि खेत जोत्ने लगायतका कामको लागि उनी चैत्र महिनाको पहिलो सातादेखि जुटेकी हुन् । यहाँको परम्पराअनुसार चैत्र १२ गते मार्सीको बिउ भिजाउनुपर्ने हुन्छ । उक्त बिउ चैत्र २० गते छरिन्छ । यसलाई स्थानीय भाषामा बिसुवाँ मनाउने भनिन्छ । मार्सीको बिउ चैत्र महिनाको २० गते छरेपछि चेलिबेटी बोलाएर मिठो मसिनो खाने चलन छ । सानी यही चाजोबाजो मिलाउने हतारोमा थिइन् । सानीलाई १३ जनाको परिवारलाई वर्षभरी खान पुग्ने मार्सी फलाउनको लागि यतिबेला बिउ राख्ने चटारो परेको हो ।
‘चैत १२ गते भिजाएको बिउ १६ गते भान्सा कोठामा थुपार्छाैं । हरियो स्याउलाले छोपिन्छ । बिउ भिजाउने, थुपार्ने र छर्नलाई जुम्लाको आफ्नै परम्परा छ,’ उनले भनिन् । यही परम्पराभित्र रहेर मात्रै स्थानीय किसानले मार्सी धानको बिउ राख्छन् । ‘बिउ छरिकन माइत जान्या हुँ,’ १९ चैतमा भेटिएकी उनले भनिन् ‘चेलिबेटी बोलाएर खाना खुवाउन पनि बाँकी नै छ ।’
मार्सीको बिउ छरेपछि खेतमा मल ‘गोबर’ बोकेर थुपार्ने काम हुन्छ । चैत महिनामा छरेको मार्सी जेठमा रोप्ने र कार्तिक महिनामा काट्ने गरिन्छ । चिसो ठाउँ भएकाले ढिलो गरी बिउ उम्रिने र ढिलै पाक्ने हुन्छ ।
हिमा गाउँपालिका–५ जुम्लाका ४० वर्षीय धोजबहादुर शाही भारतबाट मार्सी धानको बिउ राख्न चैत्र १३ गते घर आइपुगे । गत मंसिरमा मार्सी धान भित्राएर उनी भारत पसेका थिए । माइका लागि भारत जाने यहाँका अधिकांश पुरुषको यस्तै तालिका हुन्छ, घर फर्किने । धोजबहादुरको पनि ठूलो परिवार छ । ‘१९ जनाको परिवार छ । मार्सी धानको बिउ राख्न घर आएको हुँ । हामी मार्सी भित्राएर जिल्लाबाहिर कामको खोजीमा जान्छौं । बिउ राख्न आइपुग्छौं ।’ जति नै मेहेनत गरे पनि मार्सीले वर्षभरी खाना भने पुग्दैन । अरु महिना खाने चामलको जोहो गर्न भारत जाने बाध्यता रहेको शाहीले बताउँछन् । उनीसँगै गएका अन्य १२ जना समेत मार्सी धानको बिउ छर्न घर फर्किएको उनले सुनाए ।
मार्सी फलुञ्जेलसम्म यहाँका किसानले खाद्यान्नको अभाव झेल्नुपर्ने बाध्यता छ । भारतबाट फर्किनेहरू बाँकेको नेपालगन्जबाट चामल बोकेर जुम्ला पुग्छन् । भारतबाट भर्खरै घर फर्केका प्रेमबहादुर शाहीले चार महिना कमाएको पैसाले तराइको चामल किनेर ल्याएको बताए । कनकासुन्दरी–७ जुम्लाकै डल्ली सुनारलाई पनि मार्सीको बिउ राख्ने कामले भ्याइनभ्याइ छ । चैत्र २० गते बिसवाँ मनाइएन भने त्यसपछि बिउ राख्न नमिल्ने उनले बताइन् । ‘परम्परा तोडेर मार्सीको बिउ राखिँदैन ।, उनले भनिन्, ‘हाम्रातिर परम्परा यस्तै छ ।’ जिल्लाभरी सबैले परम्परा अनुसार नै बिउ भिजाउने, थुपार्ने र छर्ने गरेको उनी बताउँछिन् ।
जुम्ला उच्च हिमाली जिल्लामा पर्छ । चिसो हावापानीमा फल्ने मार्सी धान समुद्री सतहभन्दा दुई हजार दुई सय ५० फिटदेखि दुई हजार नौ सय फिटसम्म फल्छ । मार्सी धानको लागि जुम्ला उपयुक्त मानिन्छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार जिल्लाका सबैजसो स्थानहरूमा मार्सी धानको खेती हुन्छ । उनले जिल्लाभर एक हजार तीन सय हेक्टर जमिनमा कालो मार्सी धान लगाउने गरिएको बताए । गतवर्ष यहाँ तीन हजार तीन सय मेट्रिकटन मार्सी फलेको थियो ।
चिसो ठाउँ र उचाइमा फल्ने यो धानको चामल रातो हुन्छ र भात पकाउँदा अरुभन्दा गिलो । यसमा प्रोटिनको मात्रा बढी हुने तथा स्वादिलो, स्वस्थकर र आडिलो हुने विश्वास छ । कृषि विज्ञहरूकाअनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिला हुन्छन् ।
स्थानीय पाकाहरूका अनुसार राणाकालमा हरेक दिन एक माना मार्सी धानकोे चामल जुम्लाबाट काठमाडौँ मगाउने गरिन्थ्यो । हुलाकीले जुम्लादेखि मार्सी धान बोकेर काठमाडौँको दरबारसम्म पु¥याउने गरिन्थ्यो । जुम्लाको कालीमार्सी स्वादिलो र पोषिलो हुने भएकाले दरबारबाटै मगाउने गरिन्थ्यो । जुम्लामा मार्सी धानको बिउ चन्दननाथ बाबाले भारतको कास्मिरबाट ल्याएको भन्ने किंवदन्ती रही आएको छ । उनले ल्याएको धानको बिउ जुम्लाको छुमचौरमा पहिलो पटक लगाइएको थियो ।
मार्सी धानको बिउ छर्दा र रोप्दा घरका पुरुषहरू नभए मृत्यु भए सरह मान्ने परम्परा रहेको सिंजा गाउँपालिका–२ का भक्तप्रसाद तिवारीले बताए । अरुबेला जहाँ गए पनि मार्सीको बिउ राख्न आइपुग्ने परम्परा भएको उनी बताउँछन् । पछिल्लो समय मार्सी धानको चामलले बजार समेत राम्रो पाउने गरेको छ । बजारमा माग बढेपछि किसानहरू मार्सी धाना व्यावसायिक खेतीतर्फ पनि आकर्षित भएका छन् ।
प्रकाशित मितिः २१ चैत्र २०७७, शनिबार ०९:१३
साझा बिसौनी ।