सडक सुधार्ने चन्द्र

चन्द्रबहादुरले सडकमा काम गर्न थालेको २५ वर्ष भइसकेको छ । यो बीचमा थुप्रै उतारचढाव आए, उनको जीवनमा र सडकमा पनि । सडकको दैनिकीले कैयन् खुसी ल्यायो, कष्ट दियो । जस पाए, अपजस भोगे । तर, उनले सडक भने छोडेनन् ।


जागिर गर्नलाई पढाइ थिएन्, गाउँमै केही गरौं रोजगारीका अवसर थिएनन् । शैक्षिक योग्यता नभएपछि जागिर पाइने आश उनले गरेनन् पनि । घरपरिवार सबै आफूमै आश्रित । परिवारको जिम्मेवारी बोकेर हिँड्न त्यति सजिलो कहाँ हुन्छ र । तै पनि आँट थियो, परिवारलाई पाँखुरी चलाएर सन्तुष्ट पार्न सक्छु । अभिभावकीय भूमिका निभाउछु ।

यही आत्मविश्वासले वीरेन्द्रनगर–१४ गढीका चन्द्रबहादुर दर्लामी आफूसँगैका दौतरीसँग परिवारको खुसी खोज्दै मुग्लान पसे । उनी कामको खोजीमा भारत जाँदा २२ वर्षको लक्का जवान थिए । एउटा बच्चाको बाउ बनिसकेका थिए ।

वि.सं. २०३० सालमा जन्मिएका चन्द्रबहादुर चार कक्षा पढेका छन् । केही वर्ष आफ्नै खेतबारी जोते । भारत जाने आउने क्रम चलिरहेकै थियो । दर्लामीलाई सडमा लेन्थवर्करको काम मिल्यो । भारतको कमाइकै कति भर पर्नु ? उनले सोचे अब यही सडककै काम गर्छु । आखिर दुई छाक टार्नकै लागि कति परदेशमा गइरहनु । चन्द्रबहादुरले वि.सं. २०५२ साल मंसिर १ गतेदेखि सडक विभाग अन्तर्गत लेन्थवर्करमा काम गर्न थाले ।

‘सडकमा काम गर्न थालेको पनि २५ वर्ष भइसकेछ,’ उनले भने, ‘यो बीचमा थुप्रै अनुभव बटुल्ने मौका पाइयो ।’ यो अवधिमा उनले थुप्रै कष्ट बेहोर्नुप¥यो । जस पाए, अपजस भोगे । तर, सडक छोडेनन् । पाँच जनाको परिवार उनीमै आश्रित छ । सडकको जागिरले परिवार धानेका उनको सपना छ, छोरा छोरीको भविष्य उज्ज्वल बनाउने । आफूले धेरै नपढे पनि शिक्षाको महŒव राम्रैसँग बुझेका छन् उनले । ‘पढ्ने मन हुँदाहुँदै आफूले आर्थिक अभावका कारण पढाइलाई अगाडि बढाउन सकिएन,’ उनी भन्छन्, ‘तीन सन्तान छन् । यिनलाई उच्च शिक्षा पढाउने धोको छ ।’

सुर्खेत–दैलेख सडक खण्डमा गाडी चल्न थालेपछि चन्द्रबहादुरले लेन्थवर्करको रूपमा काम गर्न थालेका हुन् । ‘पहिले हिलोमा गाडी फसेर हैरान हुन्थ्यो । कपासेमा फसेको गाडी निकाल्न सिद्धपाइलाबाट ट्याक्टरमा ढुङ्गा ल्याउनुपर्ने अवस्था थियो,’ उनले सडक सुचारु गर्दाको सास्ती सम्झिए । वैदेशिक रोजगारमा जाने आउने साथीहरूले कति धुलोमा काम गर्छस् हिँड् विदेश जाऊँ नभनेका भने होइनन् । तर, उनले सडकको काम छाडेनन् ।

चन्द्रबहादुर बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सडकमै हुन्छन् । ‘सडकको धुलो खान थालेको वर्षाैं भयो । धुलो सडक थुप्रै पटक कालोपत्रे भयो र फेरि उस्तै धुलाम्मे बन्यो,’ म यही सडक व्यवस्थित गर्न निरन्तर खटिएको छ,’ उनी भन्छन् ।

कच्ची सडकका खाल्डा पुर्ने, पक्की सडकको नाली सफा गर्ने यस्तै काममा दैनिकी बित्छ उनको । काम सुरु गर्दा उनको मासिक तलब एक हजार ५० रूपैयाँ थियो । त्यही पैसाले उनले परिवारको खुसी किनेका थिए । अहिले मासिक १९ हजार रूपैयाँ कमाउँछन् तर पनि परिवार धान्न मुस्किल परेको छ ।
‘महङ्गी बढेर आकाश छोयो । अहिले परिवार पाल्नै हम्मेहम्मे छ,’ उनले भने ।

चन्द्रबहादुर सडकमा काम गर्दागर्दै नेपाल प्रहरी र नेपाली सेनामा जागिरका लागि भिडे । त्यसमा सफल हुन सकेनन् । उनी भन्छन्, ‘मैले सडकमै जीवन बिताउनु रै’छ । अरु जागिर खाने कोशिस गरे पनि सफल हुन सकिएन ।’ चन्द्रबहादुरले ४७ वर्ष नाघे । उनको सडकसँग यति गहिरो प्रेम छ कि बाँकी जीवन पनि यसरी नै सडक सुधारेर बिताउन चाहन्छन् ।

 

प्रकाशित मितिः   २१ चैत्र २०७७, शनिबार ०९:०९