दिदी–बहिनी झुण्डिएको अवस्थामा मृत फेला

पश्चिम सुर्खेतको पञ्चपुरीमा दुई जना दिदीबहिनी झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । नगरपालिका–६ बावियाचौरमा बस्दै आएका १४ र १५ वर्षीय दिदीबहिनी झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरू शुक्रवार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

प्रहरीका अनुसार ८ बजे घरबाट घाँस काट्न नजिकैको जंगलमा गएका उनीहरूलाई त्यहीँ ११ बजे झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । मृतक १४ वर्षीया कक्षा ७ मा र १५ वर्षीया कक्षा ८ मा पढ्थे । उनीहरू दुवै जना कमला बादीकी दिदीका छोरीहरू हुन् ।

कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए । ‘दुईजना बालिकाहरू आफ्नो सानीआमा (आमाको बहिनी) कमला बादीको घरमा बसेर पढ्दै आएका रहेछन्,’ डिएसपी घर्तीले भने, ‘बिहान घाँस काट्न भनेर जंगल गएका उनीहरूलाई झुण्डिएको अवस्थामा स्थानीयहरूले देखेका रहेछन् ।’ स्थानीयले झुण्डिएको अवस्थामा भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमार्टम्को लागि प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   २२ चैत्र २०७७, आईतवार ०८:१९