एकैदिन दश जना संक्रमित
सुर्खेतमा १० जना कोरोना संक्रमित थपिएका छन् । १५ जनामा गरिएको परीक्षणमा १० जनामा संक्रमण देखिएको हो । उनीहरू सबै वीरेन्द्रनगरका स्थानीय हुन् । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार संक्रमितमध्ये एक जना दैलेख र दुई जना केही दिन पहिले काठमाडौंबाट आएका थिए । यी सबै लक्षणसहितका संक्रमित हुन् ।
जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले पछिल्लो समय संक्रमणको जोखिम बढेको बताए । लक्षण देखिएकाहरूको मात्रै परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको उनले जनाए । कोरोना संक्रमण फेरि बढेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न उनले सुझाव दिएका छन् ।
हाल लक्षण देखिएकाहरूको मात्र परीक्षण हुँदै आएको छ । लक्षणसहितका आशंकित संक्रमितको हप्तामा तीन दिन परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । लक्षण देखिएकाहरूले आइतवार, मंगलवार र बिहीवार जनस्वास्थ्य सेवा कार्यालयमा आएर स्वाब दिन सक्ने वाग्लेले बताए । आवश्यकताअनुुसार स्थानीय तहमा पनि कोरोना परीक्षणको व्यवस्था मिलाइएको उनी बताउँछन् । बिहीवारसम्म सुर्खेतमा १३ जना कोरोनाका सक्रिय संक्रमित छन् । सुर्खेतबाहेक अन्य जिल्लामा हाल कोरोना परीक्षण भएको छैन ।
कर्णालीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या सात हजार पाँच सय ८६ पुगेको छ । त्यसमध्ये सात हजार चार सय जना संक्रमणमुक्त भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । संक्रमणका कारण ३१ जनाको मृत्यु भइसकेको छ । भारतमा कोरोना संक्रमणको दोस्रो लहर आएसँगै रोजगारीको शिलशिलामा त्यहाँ रहेका कर्णालीवासी धमाधम फर्कन थालेका छन् । यसले गर्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले सचेत हुन आग्रह गरेको छ ।
प्रकाशित मितिः २० चैत्र २०७७, शुक्रबार ०६:००
साझा बिसौनी ।