नाकामै निगरानी

छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दर बढ्दै गएपछि त्यसको त्रास नेपालमा पनि फैलिएको छ । नेपालीको ठूलो संख्या भारतका विभिन्न स्थानहरूमा छन् । विशेषगरी कर्णाली प्रदेशका नागरिकको रोजगारीको मुख्य केन्द्र नै भारत हो । यसअघि पनि कोरोनाका कारण भारतमा रहेका धेरै नेपालीले सास्ती खेप्नुप¥यो । रोजगारी गुमाएर स्वदेश फर्किनुप¥यो । त्यही नियति फेरि दोहोरीएको छ । भारतमा संक्रमण बढ्न थालेपछि त्यहाँ कार्यरत नेपालीहरू स्वदेश फर्किन थालेका छन् । रोजगारीका लागि गएका नेपालीहरू धमाधम फर्किन थालेका हुन् । केही दिनयता भारतबाट कर्णाली भित्रिनेको भिड लागेको छ । तीव्र संक्रमण फैलिएका भारतका विभिन्न सहरहरूबाट आएका उनीहरू सीधै गाउँ जाने गरेका छन् । यसले कर्णालीका बस्तीहरूमा कोरोना संक्रमणको जोखिम बढेको छ ।

कर्णालीमा अघिल्ला महिनाहरू भन्दा कोरोनाको संक्रमणदर केही घटेको भए पनि दैनिक नयाँ संक्रमित पुष्टि हुने क्रम भने रोकिएको छैन । भारतमा संक्रमण बढेसँगै कर्णालीमा पनि पुनः जोखिम बढ्ने आकलन गरिएको छ । विना सावधानी सयौंको संख्यामा संक्रमणका आशंकितहरू गाउँ गए पनि सतर्कता भने अपनाइएको छैन । उनीहरूको कोरोना परीक्षण नै नगरी गाउँ पठाउने गरिएको हो । प्रदेश भित्रिने मुख्य नाकाहरूमा ज्वरो नाप्ने र विवरण राख्ने काम मात्रै हुने गरेको छ । सामान्य सतर्कता अपनाइए पनि त्यो पर्याप्त छैन । भारतबाट आउनेहरू सीधै गाउँ जान थालेपछि स्थानीय तहहरूमा त्रास बढेको छ । यसरी आउनेलाई परीक्षण गर्ने, कोरोना नदेखिएकालाई घर पठाउने र उनीहरूलाई निश्चित समयसम्म होम क्वारेन्टाइन बस्न लगाउनुपर्ने व्यवस्था मिलाउन ढिलाई गरिएको छ । नाकामा राखिएका स्वास्थ्य सहायता कक्षमार्फत सामान्य स्वास्थ्य चेकजाँच थालिएको छ । तर स्थानीय तहले पनि यसपटक कोरोना रोकथाममा तयारी गरेको पाइएको छैन । पालिकाहरूले संक्रमण जोखिमको बेवास्ता गरेका हुन् ।

पछिल्लो पटक बढ्दै गएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश विपद् व्यवस्थापन केन्द्रले विभिन्न निर्णय गरेको छ । जसमा सीमा नाकामा भारतबाट आउनेहरूको विवरण राख्ने, प्रत्येक पालिकामा कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याउने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने, हटलाइन कल सेन्टरको व्यवस्था मिलाउने र सार्वजनिक यातायात क्षेत्रमा कडाइ गर्नेलगायतका निर्णय छन् । तर केन्द्रले गरेका अधिकांश निर्णय कार्यान्वयन भएका छैनन् । भारतबाट फर्किएकाहरू निष्फिक्री गाउँघरमा घुमिरहेका छन् । सीमा नाका भएर आउने तथा संक्रमण पुष्टि भएका व्यक्तिहरूले अनिवार्य होम आइसोलेसनमा बस्नुपर्ने हुन्छ । जोखिम नियन्त्रण नहुँदासम्म आवश्यकता सुरक्षा र सतर्कतामा ध्यान दिनु अपरिहार्य हुन्छ । चिकित्सकहरूले पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन जोड दिएका छन् । भारतबाट फर्किनेहरूको ‘¥यापिट टेष्ट’ गर्न सुझाएका हुन् । अहिले लक्षण देखिएकालाई मात्रै गर्ने भन्ने छ । तर सम्भव भएसम्म सबैको परीक्षण गर्न सके ढुक्क हुने अवस्था बन्छ । जोखिम कम हुन्छ । यसतर्फ सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।

प्रकाशित मितिः   १८ चैत्र २०७७, बुधबार ०६:००