नयाँ सरकार गठनको गृहकार्य

कर्णालीमा एमालेले बोलायो २२ चैतमा दलको बैठक


नेपाल कम्युनिष्ट पार्टी ‐एमाले) कर्णाली प्रदेशसभा संसदीय दलको बैठक डाकिएको छ । एमालेले संसदीय दलको बैठक २२ चैतमा बोलाएको हो । दलको बैठकमा एमालेको एकल सरकार गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

यसअघि ५ चैतमा बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । उक्त बैठकमा माधव नेपाल समूहका प्रदेशसभा सदस्यहरू भने उपस्थित थिएनन् । पछिल्लो राजनीतिक घटनाक्रमले एमालेका दुवै समूह एक हुने संकेतहरू देखिएका छन् । २२ चैतमा बोलाइएको संसदीय दलको बैठकमा नयाँ सरकार गठनका विषयमा रणनीति तयार गरिने नेकपा एमाले नेपाल समूहका प्रदेशसभा सदस्यहरूले नै बताएका छन् । नेपाल समूहका प्रदेशसभा सदस्य कुर्मराज शाहीले अब बस्ने बैठकमा आफूहरू सहभागी हुने बताए । ‘संसदीय दलको बैठकमा हामी पनि सहभागी हुन्छौं,’ शाहीले भने, ‘पार्टीको संसदीय दलको बैठकमा उपस्थित नहुने भन्ने हुँदैन ।’

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका छन् । उनले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएकाले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । उक्त अवधिभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत प्राप्त गर्न नसके नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।

एमाले प्रदेशसभा संसदीय दल कर्णाली प्रदेशले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई बुझाइसकेको छ । प्रदेश प्रमुखको कार्यालयले एमालेले समर्थन फिर्ता लिएको विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जानकारी समेत गराइसकेको छ ।

सर्वोच्च अदालतको नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई नै साथ दिँदै आएको एमालेको नेपाल समूहका प्रदेशसभा सदस्यहरूले साथ छोड्ने तयारी गरेका हुन् । चैत ४ गतेको एमाले संसदीय दललाई नेपाल समूहले ‘गुटको बैठक’ भनेका थिए । मुख्यमन्त्री शाहीलाई आफूहरूको समर्थन कायमै रहेको उनीहरूको भनाइ थियो । कर्णाली प्रदेशसभामा ४० जना सदस्य छन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एक हुँदा सरकारको नेतृत्व माओवादी केन्द्रले गरेको थियो । प्रदेशसभामा एमालेका २० र माओवादी केन्द्रका १३ सदस्य छन् । यस्तै, नेपाली कांग्रेसका ६ जना र राप्रपाका एक प्रदेशसभा सदस्य छन् ।

विकसित राजनीतिक परिस्थिति पहिलेको जस्तो नरहेको प्रदेशसभा सदस्य सुशील थापा बताउँछन् । थापा नेपाल समूहका नेता हुन् । उनले अब यही सरकारलाई समर्थन गर्न सक्ने अवस्थामा नरहेको बताए । प्रदेशसभा सदस्य थापाले मुख्यमन्त्री शाहीलाई २०७४ फागुन ४ गते नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने दलको निर्णयलाई सबैले समर्थन गर्ने दाबी गरे ।

प्रकाशित मितिः   १९ चैत्र २०७७, बिहीबार ०६:००