वातावरणको अर्धवार्षिक समीक्षा

साझा बिसौनी संवाददाता
सुर्खेत, ३ चैत ।
वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको आर्थिक वर्ष २०७२÷०७३ को अर्धवार्षिक उपलब्धीको समीक्षा गरिएको छ । सहकारीले सञ्चालन गरेको बचत तथा ऋण र लघुवित्त कार्यक्रमको गत साउनदेखि पुस मसान्तसम्मको अर्धवार्षिक उपलब्धीको बुधवार वीरेन्द्रनगरमा समीक्षा गरिएको हो । 
संस्थाले ६ महिनामा ५० प्रतिशतभन्दा बढी उपलब्धी हासिल गरेको जनाएको छ । लघुवित्ततर्फ ४० वटा स्वीकृत कार्यक्रमबाट ५८ प्रतिशत उपलब्धी हासिल गरेको लघुवित्त प्रबन्धक श्यामलाल न्यौपानेले जानकारी दिए । यस्तै बचत तथा ऋणतर्फ ३८ वटा स्वीकृत कार्यक्रमबाट ६७ प्रतिशत उपलब्धी हासिल गरेको सहकारीका प्रबन्धक अम्बिका खनालले जानकारी दिइन् । बाँकी अवधिमा पनि संस्थाले आफ्नो लक्ष्य प्राप्त गर्न सफल हुने दुवैजनाले बताएका छन् । 
कार्यक्रममा डिभिजन सहकारी प्रमुख देवीप्रसाद पौड्यालले कुनै पनि सहकारी संस्थाहरूले अर्धवार्षिक समीक्षा गर्नुपर्ने बताउँदै यसबाट सुशासनमा सघाउ पुग्ने बताए । उनले ६ महिनामा आधाभन्दा बढी उपलब्धी प्राप्त गर्नुले संस्था आफ्नो लक्ष्यतर्फ उन्मुख भएको उल्लेख गरे । यस्तै एपेक्स बैंकका रामप्रसाद शर्मा, काँक्रेविहार विकास बैंकका कर्णबहादुर सिंजाली, कृषि सहकारी संघका लक्ष्मीप्रसाद गौतम, सहकारी संघका कर्णबहादुर बुढा, वातावरण सुधार समाजका अध्यक्ष नेत्रा रेग्मी लगायतले संस्थाले ६ महिनाको अवधिमा प्राप्त गरेको उपलब्धीप्रति धन्यवाद दिँदै आगामी दिनमा थप लक्ष्य हासिल गर्ने सुझाव दिए । 
संस्थाका अध्यक्ष डम्बरप्रसाद अर्यालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन किरण बस्नेतले गरेका थिए भने स्वागत संस्थाका उपाध्यक्ष देवकुमार सुवेदीले गरेका थिए ।
प्रकाशित मितिः   ४ चैत्र २०७२, बिहीबार १०:२९