नयाँ डीआईजीको अठोटः ‘म रहुन्जेल अपराधी रहँदैनन्’
साझा बिसौनी संवाददाता
सुर्खेत, २ चैत ।
मध्यपश्चिमका प्रहरी प्रमुख डीआईजी माधवप्रसाद नेपालले सबैभन्दा बलियो सुरक्षा घेरा जनता नै भएको बताएका छन् । जनताको सहयोगले मात्र प्रहरीले शान्ति सुरक्षा कायम गर्नसक्ने भन्दै उनले अब प्रहरीले जनतासँग सहकार्य गरेर अपराध नियन्त्रण गर्ने बताएका हुन् । वीरेन्द्रनगरमा मंगलवार नागरिक समाज, राजनीतिक दल र पत्रकारहरूसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
केही दिन पहिला मात्र क्षेत्रीय प्रहरी कार्यालयमा आएका डीआईजी नेपालले मध्यपश्चिमको सुरक्षालाई थप प्रभावकारी बनाउनका लागि कुनै कसर बाँकी नराख्ने समेत प्रतिबद्धता जनाएका छन् । आफ्नो कार्यकालमा यस क्षेत्रमा अपराधीहरू रहन नसक्ने बताउँदै उनले भने, ‘म जनताको जीउधनको सुरक्षाको लागि प्रतिबद्ध छु, म यो क्षेत्रमा रहुन्जेल यहाँ अपराधीहरू रहने छैनन् । कानुन विरोधी काम गर्नेलाई कुनै पनि हालतमा छोडिदैन ।’ साथै उनले आफू भएको स्थानमा अपराधीहरूलाई कुनै स्थान नहुने बताए । अपराध नियन्त्रणका लागि उनले विभिन्न योजनाहरू समेत सार्वजनिक गरे ।
सुर्खेतलाई सुरक्षित जिल्लाका रूपमा स्थापित गर्नका लागि आफूले सक्दो प्रयास गर्ने उनको भनाइ छ । डीआईजी नेपालले यो क्षेत्रको सुरक्षाका लागि अपराधीहरूलाई कानुनी दायरामा ल्याउने आफ्नो पहिलो प्राथमिकता रहेको जानकारी दिए । यस्तै यो क्षेत्रको मुख्य चुनौतीको रूपमा लागूऔषधको प्रयोग र कारोबार रहेकाले त्यसलाई नियन्त्रण गर्न समेत विशेष योजना बनाइएको उनले बताए । उनले लागूऔषधको कारोबार रोक्न प्रहरीले नयाँ योजना बनाएको जनाए । त्यसैगरी तस्करी रोक्नका लागि समेत आफूले प्राथमिकता दिने जानकारी नेपालले दिए । अवैध रूपमा वन्यजन्तु र जडिबुटीको तस्करी हुने गरेको र यसले राज्यलाई राजश्वमा घाटा भएको भन्दै उनले अब यसलाई कडाइ गरिने बताए । जनतासँग मिलेर प्रहरी अगाडि बढ्ने भन्दै उनले जनताको काम नगर्ने प्रहरी आफ्नो क्षेत्रमा एक महिना पनि नरहने उल्लेख गरे । काम नगर्ने प्रहरीलाई हटाउने चेतावनी समेत उनले दिएका छन् ।
सो अवसरमा डीआईजी नेपालले महिला सशक्तीकरणका लागि महिला प्रहरीमा समेत नयाँ प्रयोग गर्न लागिएको जानकारी दिए । उनका अनुसार अब यस क्षेत्रमा महिला प्रहरीहरू मात्र रहेको चौकी स्थापना गर्न लागिएको छ । सो चौकी केही समयमा नै स्थापना गर्न लागिएको भन्दै उनले महिला प्रहरीहरू मात्र सो चौकीमा रहने बताए । कार्यक्रममा सहभागी जिल्लाका राजनीतिक दल, नागरिक समाज र पत्रकारहरूले प्रहरीलाई भरपर्दो सेवा प्रवाह गर्न सुझाव दिएका थिए । साथै उनीहरूले वीरेन्द्रनगर लगायत जिल्लाका विभिन्न स्थानमा थप प्रहरी विट स्थापना गर्नुपर्ने, कालोबजारी रोक्नुपर्ने, यातायातमा रहेको सिण्डिकेट तोड्नुपर्ने, महिला तथा बालबालिकामा हुने हिंसा रोक्नुपर्ने र अपराधीलाई कानुनी कारबाही गर्नुपर्ने सुझाव दिए । मेलमिलापको नाममा अपराधलाई समाजमा नै लुकाउने गरिएको र यसले अपराधमा वृद्धि भएको उनीहरूको गुनासो थियो । सो अवसरमा सुर्खेतका एसपी वीरेन्द्र श्रेष्ठले जिल्लाको सुरक्षाका लागि आफूहरू निरन्तर प्रयासमा रहेको बताए ।
साझा बिसौनी संवाददाता ।