पुनः थालियो पूर्वसावधानी

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेशमा पुनः तयारी थालिएको छ । पछिल्ला दिनहरूमा छिमेकी मुलक भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएको छ । त्यसको प्रत्यक्ष प्रभाव कर्णालीमा पर्ने देखिएकाले पूर्वसावधानी अपनाउन थालिएको हो । रोजगारीका लागि भारतमा जाने कर्णालीवासीको संख्या ठूलो छ । भारतमा संक्रमण बढेसँगै उनीहरू घर फर्किन थालेका छन् ।

शुक्रवार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रले फेरि कोरोना जोखिम बढेको भन्दै त्यसको नियन्त्रणका लागि विभिन्न १० वटा निर्णय गरेको छ । केन्द्रको बैठकले सीमा नाकामा भारतबाट आउनेहरूको विवरण राख्ने, प्र्रत्येक पालिकामा कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याउने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने, हटलाइन कल सेन्टरको व्यवस्था मिलाउने र सार्वजनिक यातायात क्षेत्रमा कडाइ गर्नेलगायतका निर्णय गरेको हो ।

त्यस्तै, बैठकले प्रत्येक जिल्लामा एउटा कोभिड अस्पताल र सुर्खेत, जुम्ला र रुकुम–पश्चिमको चौरजहारीमा बेडसहितको आईसीयू सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहरूलाई पनि अनिवार्य मास्क लगाउन भन्न यातायात समितिहरूलाई अनुरोध गर्ने तथा त्यसको कार्यान्वय भए÷नभएको सम्बन्धी प्रशासन कार्यालयले अनुगमन गर्ने छन् । सीमा नाकाबाट आएका र संक्रमण पुष्टि भएका व्यक्तिहरूले अनिवार्य होमआइसोलेसनमा बस्नुपर्ने र त्यसको व्यवस्थापन सामाजिक विकास मन्त्रालयले मिलाउने बताइएको छ ।

कर्णालीमा अघिल्ला महिनाहरू भन्दा हाल कोरोनाको संक्रमण दर घटेको छ । तर, दैनिक नयाँ संक्रमित पुष्टि हुने क्रम भने रोकिएको छैन । भारतमा संक्रमण बढेसँगै कर्णालीमा पनि पुनः जोखिम बढ्ने आँकलन गरिएको छ ।

प्रकाशित मितिः   १४ चैत्र २०७७, शनिबार ०६:००