कथा

एउटा पर्चा

कथा


मानबहादुर थापाले अगेनाबाट सानो अगुल्टो तानेर चुरोट सल्कायो ।

‘यी यो डाक्टरको पर्चा’ कागजको पर्चा दिएर बाटुली थापा आफ्नो धन्दामा लागिन् ।

के हुन्छ त्यो पर्चामा ? ट्याबलेट, क्याप्सुल, भिटामिनका सिसी यस्तै त लेखेको होला भन्ने सोच्दै मानबहादुरले गिलासको अन्तिम घुट्को रक्सी सिनित्तै पारेर पर्चा खोल्यो ।


प्रिय बुवा,

म आमाको गर्भमा बढ्दै गरेको हजुरको प्यारो सन्तान हुँ । आमाको पेटभित्र खेल्न मलाई प्रशस्त ठाउँ छ । अब बाहिर आएर उज्यालो संसार हेर्दै खेल्न चाहन्छु । हजुरको काखमा बसेर मुस्काउन कत्रो रहर छ । हजुरकै हात समाएर डुल्न, घुम्न, रमाइलो हेर्न र स्कुल जान पनि उस्तै रहर छ ।

बुवा, जब साँझ पर्छ मेरो टाउको भारी भएर दुख्छ, सास फेर्न गाह्रो हुन्छ कसैले घाँटी अँठ्याए झैं लाग्छ । आमा रोएको मैले भित्रैबाट सुन्छु, साह्रै दुःख लाग्छ । हजुर हुँदाहुँदै मेरी आमालाई पीडा दिएर कसले किन रुवाएको होला म केही बुझ्न सक्दैन । जसरी पनि हजुरले आमाको रक्षा गर्नुहोला बुवा । आमाको पेट नै त मेरो घर हो, म आफ्नो घरमा सधैँ सुरक्षित बस्न चाहन्छु बुवा ।

हजुरको गर्भे सन्तान


पर्चा पढिसकेपछि मानबहादुरले विस्तारै च्यात्यो, आगोमा हाल्यो र उता फर्केर बेस्सरी रोयो । आगोमा डढेर खरानी भएको पर्चालाई एकछिन हे¥यो, खोइ मनमा के पो प्रतिज्ञा ग¥यो तब आफ्नो आँसु पुछ्यो ।

कोल्टे फेर्दाफेर्दै आधारातसम्म पनि ओछ्यानमा पटक्कै निन्द्रा परेन मानबहादुरलाई । उता कोल्टे फर्केर गहिरो निन्द्रामा मस्त निदाइ रहिन् बाटुली । जे जस्तो भए पनि हात छोड्ने त्यो मेरो बानी नराम्रो । आफ्नी जहाँनसँगको अन्तिम झगडाको घटना दृश्य उघारियो मानबहादुरको मनमा ।

‘जति भने पनि लाग्दैन तपाईंलाई । किन हो सधैँ रक्सी खाएर आधा रातमा घर आउने ?’

‘घर नआएर कहाँ जाने त ? दिनभर काम गरिन्छ, थाकेर हैरान हुँदा साँझ साथी भाइसँग बसेर अलिकति खाइन्छ । तेरो किन टाउको दुख्नुपर्ने ?’

‘लोग्नेले रक्सी धोकेर स्वास्नीको पेट भरिन्छ ? स्वास्नी पाल्न नसक्ने हुतिहारा जँड्याले के नाप्न बिहा गर्नु ?’

‘सुस्त बोल्न सक्दिनस् ? आधा राति चिच्याएर जात्रा गर्छेस् अलच्छिनी ?’

‘जो चोर उसैको ठूलो स्वर ! यस्ता पापी लोग्नेसँग कसरी जुनि काट्नु’ भनाभनमा झगडा चर्किदै गयो ।

‘ए जा है जा । पोइल जानेभए पनि जा, धेरै धक्कु नलगा ।’

‘थुक्क नामर्द ! त्यस्तो भन्न लाज लाग्दैन ?’

‘कसलाई नामर्द भनेको तैंले ? ला नामर्द ! ला नामर्द !’ बाटुलिलाई हान्यो नी मानबहादुरले ।

‘ऐया आमा मरेँ ’ घोप्टिएर रोइन् बाटुली ।

‘कस्ता कस्ता ठेकेदार मिस्रीहरूले त सिधा हेर्न सक्दैनन् मलाई । जाबा स्वास्नीले ध्वाँस देखाउने’ उ भुनभुनायो ।

हिक्का छोड्दै रोइन् उनी निकैबेर, कुनै चोटले तनमा मात्र होइन मनमा पनि गहन पीडा दिन्छन् ।

धिक्कार छ मेरो व्यहोरालाई । विगतको त्यो नमिठो घटना सम्झेर मनमनै उसले आफैलाई सराप्यो । बाटुलीको देब्रेकान पछाडि गर्धनमा विस्तारै मुसा¥यो जहाँ उसैको चोटले घाउ बनेको थियोे । नजाने औंठीले कोत¥यो कि घडीको चेनले काट्यो, अब ओइलाउदै गएको थियोे । सुस्तरी फेरि बाटुलीको पेट सुमसुम्यायो जहाँ उसको सन्तान भुर्लुक–भुर्लुक रिङ्दै घुम्दै खेलिरहेको थियो । रोक्दारोक्दै अनयासै गालाबाट भल बगेर सिरानीमा झ¥यो झरिरह्यो उसको आँखाको पानी । दुःख कष्टमा त बग्छ नै बग्छ आँसु, कहिलेकाही हर्षमा पनि झर्छ । तर कुनै–कुनै पश्चतापमा पनि यसरी पोखिँदोरहेछ आँसु ।

गर्भे सन्तानको चिठ्ठीमा उल्लेखित व्यहोराले केही दिनसम्म मानबहादुरको मनस्थिति पटक्कै स्थिरमा रहेन । कुनै एक दिनको बेलुका कामको छुट्टी भएपछि सँगसँगै गए मानबहादुर र घनश्याम परसम्म एउटै बाटो । चोकमा पुगेपछि घनश्यामले भन्यो, ‘ल हिँड माने दुई भाइले एकएक बोतल खानुपर्छ आज पैसा बुझेको दिन । निकै थाकियो पनि ।’

‘नाइँ दाइ म रक्सी नखाने ।’

‘ओहो ! दुईचार दिन भो तँ त निकै साधु पो बन्न खोज्दैछस्, के गर्न आँटिस् ए माने ? घडेरी जोड्दैछस् कि कसो ?’

‘घडेरीको कुरा होइन घनश्याम दाइ । जहाँनलाई सञ्चो छैन, आफूले काम नसघाइ हुँदैन ।’

‘आ छोड्दे ती कुरा । आजको खर्च मेरो तर्फबाट ल हिँड् ।’

‘तपाईं जानुस मेरो थुप्रो काम छ दाइ घरमा’ दुई साथीभाइको निकै गलफत्ती प¥यो चौबाटामा एकछिन ।

‘हत्तेरीका कस्तो जोईटिङ्ग्रे रहेछ गाँठे यो मान्छे !’

‘तपाईं जे भने भन्नुस् ।’

‘ल तैंले अब मसँग संगत नगरेस् ।’ घनश्याम छुट्टिएर भट्टीको बाटो लाग्यो । चुपचाप मानबहादुरले आफ्नो बाटो नापी रह्यो । संगतै त रहेछ सपार्ने र बिगार्ने । कमाइ पनि नभएको त होइन नि रक्सी र मासुमै जान्छ पैसा अनि यत्रो हुन्छ उन्नति ! ओहो, मासु त थोरै लैजानु पाए हुन्थ्यो नि । यस्तो सोच्यो तब फेरि फर्केर उ मासु पसलतिर गयो ।

‘ए साहुजी, मलाई कुखुराको आधा किलो मासु दिनुस न ।’

मानबहादुर घर पुग्दा बाटुलीले अगेनामा आगो फुक्दै थिइन् ।

‘आगो बलेन र ? खोइ छोड त म फुक्छु ।’

‘म फुकिहाल्छु नी यो आगो त । दाउरा चिसा भएर पो त ।’

‘छोड–छोड म फुक्छु भात पकाउँछु । तँ उ त्यहाँ चकटिमा बस । ला बरु यो पैसा राख’ चकटिमा बसेर मुस्काउँदै बाटुलीले पहिलो चोटि गनिन् आफ्नो लोग्नेको कमाइ ।

‘यति पैसाले त पहिलाको जमानामा घरबारी आउँदो हो ।’

‘आउँथ्यो नि हाम्रा बाहरूको पालामा । ए जिरा कहाँ छ ?’

‘अहिले किन चाहियो र जिरा ?’

‘मासु ल्याकोछु नी त ।’

‘ए, हो र ? जिरा उ त्यो कालो बट्टामा छ, पहेँलो बट्टामा धनियाँ छ । लसुन अदुवा र सुकेको खुर्सानी पनि मिसाएर पिस्नुस त । एकछिन मसलामा मोलेर राख्ने अनि पकाउँदा उल्का मिठो हुन्छ चराको मासु ।’

साँझ प्रायः रक्सी खाएर झगडा गर्ने, बिहानभरी चिया पसलमा सिमेन्ट हलानो कम्पनीको नराम्रो फलामे डण्डी फलानो कम्पनीको राम्रो, यो ठेकेदार चोर त्यो असल भन्दै कुरा गरेर नथाक्ने, आफ्नो लोग्नेमा यो बदलाव कसरी आयो होला भन्ने नबुझेर बाटुली हैरान थिइन् । बाटुलीले सिकाएर भने बमोजिम मानबहादुरले मसला पिन्यो, मासु भुट्यो र भात पकायो ।

‘ला त चाख कस्तो छ मासु’ बटुकोमा दियो ।

‘अचम्मै मिठो, होटलमै पकाए जस्तो ।’

‘त्यसोभए खाना पस्कनु त ?’

‘एक्कैछिन साँझ ढलोस् अनि खाउँला ।

हुन्न र ?’ ‘हुन्छ नि ।’

मैले कहिल्यै तँ माथि ज्यादती पनि गरेहुँला चित्त नदुखा है बाटुली, मनले भनेको यो कुरा उसले मुखबाट बोल्न पटक्कै सकिरहेको थिएन ।

बिहानको भुइँकुइरो आकाशमा उडेर फाटेपछि झलमल्ल घाम लाग्यो । पसलबाट एक थैलो चामल काँधमा बोकेर मानबहादुर घर आउँदा बाँटाभरी लुगा भिजाएर बाटुलीले धुने तरखर गर्दै थिइन् ।

‘ए के गर्दैछेस् ?’ ‘तपाईंले भात पकाउनुस् म लुगा धुन्छु है ?’ ‘होइन होइन छोड म धुन्छु लुगा । चिसो लाग्छ तँलाई ।’

‘म भात पकाउँनु त ?’

‘अहिले किन पकाउनु भात चिसो पार्नलाई ? लुगा धोएर त म पकाइहाल्छु नि ।’ लुगामा साबुन घोटेर मिच्न थाल्यो मानबहादुरले । भित्रबाट पुराना थाङ्ना लुगा लिएर आइन् र उसको नजिकै गुन्द्री ओछ्याएर बसिन् बाटुली । सियोमा धागो छिराउँदै भनिन्, ‘त्यसोभए म आफ्नो धन्दा गर्छु ।’

‘हो स्याबास ! तैंले थाङ्ना सिएर राख, फुर्सदमा म कन्दनी बाटौंला ।’ बाटुलीले उसलाई पुलुक्क हेरिन् उसले झिमिक्क आँखो झिम्कायो ।

‘थाङ्ना र कन्दनीमा भुल्दा भात पकाउन ढिलो होला बाबै, पछि भोकै जानुपर्ला नयाँ काममा ।’

‘किन ढिलो हुन्छ भात पकाउन ? अगेनामा भात बसाल्छु, सिलौटामा टिमुर हालेर गोलभेंडाको अचार पिन्छु । भात पाक्छ सिन्की उमाल्छु । उखानै छ त सिन्की पकाउन पर्दैन साली फकाउन पर्दैन ।’

‘ए, त्यसोभए सालीमा दिल बसेको छ ?’

‘सुत्केरी श्रीमतीको स्याहार गर्नलाई पो चाहियो साली । त्यतिबेला माया बस्यो भने कसको के लाग्यो त नि ।’

‘के अरे !’ बाटुली झर्के झैँ गरिन् मानबहादुर बोलेन ।

के सुन चाँदी हिरा मोती मात्रै चाहिन्छ र खुसी हुनलाई ? चाहिँदैन । यस्तै सानातिना रमाइला क्षेणहरूलाई बटुलेर उन्ने हो भने मस्त पुगिसरी आउँछ खुसी । धोएर निचोरेको लुगा मानबहादुरले बारमा सुकायो, तन्ना, छेउलो, लुङ्गी धोती, मेक्सी, गुनियो, पटुका, स्वीटर, चोलो, कमिज र पाइन्ट ।

खाना खाएर मानबहादुरले नयाँ लुगा लगायो किनकि अब मिस्री भएर उसलाई नयाँ काममा जानू थियो । एक तसला मसला यता लेउ । पानीमा चोपेर इट्टा मेरो नजिक फाल । ए मसलामा पानी हाल, ओहो गिलो भयो पानी नहाल । मिस्री हुनुको नाताले अब लेबरहरूमा उसको आदेश निर्देश चल्ने छ । कार्य कुशलतामा पारंगत भए पनि उसलाई मिस्रीको दर्जा मिलिरहेको थिएन । कमेजमाथि बाहिरबाट उसले हाफ स्वीटर लगाए पछि नजिकैकी आफ्नी जहानलाई सोध्यो ।

‘स्वीटर कस्तो भयो ?’

‘जातिबित्ती सुहायो नि मेरो प्यारो मिस्रीलाई’ यति भन्दै उनले लोग्नेको हात चपक्क समाइन्, मायाले । कहिल्यै हाने पनि पिटे पनि लोग्नेको माया मनमा त हुन्छ नि कतै, हुन्न र ! त्यही मायाले त धोइ पखाल्छ मनको कालो मैलो । आँगन छेउ पुगेको मानबहादुरले यता फर्केर बोल्यो, ‘ए ! खाना पछिको औषधि खान बाँकी छ, नबिर्सनु है !’

हुन्छ भन्ने संकेतमा बाटुलीले मुस्काउँदै टाउको हल्लाए पछि मानबहादुर हिँड्यो सरासर गन्तव्यमा अगाडि । परै पुग्ने बेलासम्म हेरिरहिन् बाटुलीले । उ ओझेल परेपछि डोकाले थुनिएका कुखुराको दुई वटा चल्लालाई चारो हालिन् जो सुत्केरी खुराकको जोहो गर्दै कतैबाट किनि ल्याएको थियो मानबहादुरले । त्यसो त केही दिन अघि चारमाना घिउ पनि त ल्याएको थियोे उसले, त्यतिखेर भित्रैदेखि खुसीले गदगद भएकी थिइन् बाटुली । बसिरहे उठ्न मन लाग्ने, उठ्दा उभिन नसकेर बस्न मन लाग्ने । प्रतिक्षाको छट्पटीमा बाहिर केहीबेर पालो कुरेर आफ्नो नाम आएपछि बाटुली भित्र पसिन् ।

‘नमस्कार डाक्टरसाप ।’

‘नमस्कार, बस्नुस । खै त्यो पर्चा यता दिनुस त । अँ, कस्तो छ अहिले तपाईंलाई ?’

‘बिसञ्चो भनेर त्यस्तो बिसञ्चो पनि केही छैन । बिहान र बेलुका अलिअलि टाउको दुख्छ, कहिलेकाहीँ रिंगटा पनि चल्छ….।’

‘ए ! त्यसोभए त्यो बेडमा पल्टिनुस त एकछिन’ आला समाएर डाक्टरले जाँचे मेहेनतपूर्वक ।

‘औषधि थप्नुपर्ला र डाक्टरसाप ?’

‘नपर्ला । ल उठ्नुस आउनुस यता बस्नुस् ।’

‘डाक्टरसाप, म एउटा कुरा सोध्छु है ?’

‘हुन्छ, सोध्नुस् न ।’

‘हजुरले श्रीमान्लाई दिनु भनी मलाई दिएको त्यो पर्चामा के लेख्नुभएको थियोे र ?’ बाटुलीको अनुहारमा चकित आँखाले हेरिरहेका डाक्टरलाई यो प्रश्नले करिब महिना दिन अगाडिको एउटा दृष्टान्तमा पु¥यायो । त्यतिबेला पनि यसरी नै जँचाउन आएकी थिइन् बाटुली । देब्रे कान पछाडिको भागमा आलो घाउ देखेपछि डाक्टरले सोधे । लोटेको भन्ने उनको असत्य कुरालाई डाक्टरले पत्याएनन् । उनी अत्यन्त गम्भीर भइन् आफ्नो झुठो व्यहोरामा लामो टिक्न सकिनन् र कायल भएका आँखाले आँसुलाई आँखामै थाम्न सकेनन् । साँझमा श्रीमान्ले नशा पिएर आएपछि झगडा पर्छ भन्न उनलाई परिस्थितिले बाध्य बनायो ।

‘किन ? तपाईंले पढ्नुभएन र त्यो पर्चा ?’

‘मैले त अक्षरै चिन्दिन् डाक्टरसाप कसरीbपढ्नु र ।’

‘ए हो र ! आजभोलि के भन्नुहुन्छ तपाईंको श्रीमान् ?’

‘मुखले केही भन्नुभएको छैन, व्यवहार भने धौपत्याउनु गौप्राणी भएको छ । उदेक लागेको छ मलाई एउटा राक्षस कसरी देउता…।’ यस्तो सुनेपछि डाक्टरले मनमनै सोचे, ठूलाठूला भाषण र आश्वासनले मात्र खासमा केही हुँदैन, परिवर्तनका लागि साना–साना योजना पनि काफी हुन्छन् ।

‘त्यो पर्चामा मैले, तपाईंको गर्भमा हुर्कंदै गरेको बच्चाबाट वहाँलाई चिठ्ठी लेखेको थिएँ, र चिठ्ठीमा…।’

थाहा थियोे औषधिले जीवन बचाउन सक्छ, तर थाहा थिएन डाक्टरको एउटा पर्चाले मान्छेको जिन्दगी बदल्दिन सक्छ । हृदयमा मुल फुटेपछि हात जोडेर सजलआँखाले डाक्टरलाई हेरिरहिन् एउटी गर्भवती महिलाले ।

उमालाल आचार्य
प्रकाशित मितिः   १४ चैत्र २०७७, शनिबार ०६:००