एमयूमा परीक्षाका विषयमा विवाद

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)मा कानुन संकायको प्रवेश परीक्षाको विषयमा विवाद बढ्दै गएको छ । कानुन संकाय अन्तर्गत ‘स्कूल अफ ल’ को गत फागुन १७ गते प्रवेश परीक्षा लिइएको थियो । परीक्षा निष्पक्ष नभएको भन्दै ५२ जना विद्यार्थीहरूले परीक्षा रद्द गरेर फेरि परिक्षा हुनुपर्ने माग गरेका थिए । विद्यार्थीको गुनासो आएपछि विश्वविद्यालयले प्रवेश परिक्षाको विषयमा बुझ्न छानबिन समिति बनाएको थियो ।

छानबिन समितिले परिक्षा मापदण्डअनुसार नभएको निष्कर्ष निकालेपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले परिक्षा रद्द गरिसकेको छ । प्रवेश परिक्षा पुनः सञ्चालन गर्न मिति समेत तोकिएको छ । विश्वविद्यालयले पुनः परिक्षा तोकेको ‘स्कूल अफ ल’ का निर्देशक उपेन्द्र विकले बताए । उनले यही चैत २२ गते परिक्षा सञ्चालन हुने जनाए । यसअघिको प्रवेश परिक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूले भने पुनः परिक्षा गर्ने निर्णयप्रति विरोध जनाएका छन् । उनीहरूले छानबिन समितिले तयार पारेको पूर्णप्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेका छन् ।

प्रकाशित मितिः   १३ चैत्र २०७७, शुक्रबार ०६:००