तेस्रो राष्ट्रिय महिला तेक्वान्दो प्रतियोगिता सुरु

तेस्रो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता वीरेन्द्रनगरमा सुरु भएको छ । नेपाल तेक्वान्दो संघ महिला सशक्तीकरण समितिको आयोजनामा शुक्रवारदेखि प्रतियोगिता सुरु भएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

नेपाल तेक्वान्दो संघ महिला सशक्तीकरण समितिका संयोजक नन्दा बस्यालले प्रतियोगितामा देशभरका पाँच सय खेलाडीहरूले सहभागिता जनाउने जानकारी दिइन् । उनले कर्णाली प्रदेशमा महिलाहरूलाई खेल क्षेत्रमा लाग्न प्रेरित गर्न प्रतियोगिता आयोजना गरिएको बताइन् । प्रतियोगिता आज (शनिवार)सम्म सञ्चालन हुुनेछन् ।

प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले खेल क्षेत्रको विकासका लागि भौतिक पूर्वाधारलाई प्राथमिकता दिइने बताए । प्रदेशमा ऐन पारित गरेर खेलकुुद परिषद् गठन गरेको बताउँदै अब पालिका स्तरसम्म खेलकुदका संरचना र कार्यक्रम लैजाने मुख्यमन्त्री शाहीले बताएका छन् । कर्णालीमा दक्ष खेलाडी उत्पादन गर्नका लागि प्रदेश सरकारले विशेष कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले खेलकुद क्षेत्रको विकासका लागि सरकारले ध्यान दिनुुपर्ने जनाए । खेलाडी छनोट तथा खेलाडीहरूलाई दिने सेवा सुविधामा सरकारको ध्यान जानुपर्नेमा उनको जोड थियो । प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, द्वितीयलाई ५० हजार र तृतीयलाई २५ हजार नगद पुरस्कार दिइने छ ।

यसैबीच, काठमाडौंको चन्द्रागिरी नगरपालिकामा आयोजित १२औं धनबहादुर स्मृति नेशनल कराँते च्याम्पियनमा कर्णालीका दिपक विक प्रथम भएका छन् । शुक्रवार र शनिवार सञ्चालन हुने दुई दिने प्रतियोगितामा सिनियर कँरातेमा विक प्रथम भएका हुन् ।

प्रकाशित मितिः   १४ चैत्र २०७७, शनिबार ०६:००