सौंराइ संवाद

‘पहिचान संरक्षणका लागि सम्मेलन’

सौंराइ संवाद


यही चैत २१ र २२ गते सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय थारू साहित्य सम्मेलन आयोजना हुँदैछ । थारू लेखक संघ नेपालले हरेक वर्ष आयोजना गर्ने सम्मेलनको यो पाँचौ संस्करण हो । दाङ, बर्दिया, कैलालीलगायतका जिल्लाहरूमा हुँदै यस वर्ष सुर्खेतमा गर्न लागिएको हो । करिब २५ जिल्लाका लेखक÷साहित्यकारको सहभागिता रहने सम्मेलनमा थारू पहिचान, साहित्य, भाषा, कला, संस्कृतिलगायत विविध विषयमाथि छलफल हुनेछन् । अहिले सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको छ । यसै सन्दर्भमा सम्मेलन मूल व्यवस्थापन समितिका संयोजक समेत रहेका सुर्खेतका थारू साहित्यकार मानबहादुर चौधरी “पन्ना”सँग गरिएको कुराकानीः

मानबहादुर चौधरी (संयोजक, सम्मेलन मूल व्यवस्थापन समिति)
  • सम्मेलनको तयारी कस्तो हुँदैछ ?

तयारी तीव्र गतिमा अगाडि बढेको छ । मेरो संयोजकत्वमा २४ सदस्यीय मूल व्यवस्थापन समिति गठन भएको छ । आवश्यकीय अन्य आर्थिक उपसमिति, भोजन तथा बास व्यवस्थापन उपसमिति, प्रचार–प्रसार उपसमिति, पाहुना व्यवस्थापन उपसमिति, मञ्च व्यवस्थापन उपसमिति एवम् स्वयम्सेवक उपसमिति समेत गठन गरेर अगाडि बढेका छौँ । लगभग ८० प्रतिशत कार्य पूरा भइसकेको छ ।

  • सम्मेलन आयोजना गर्नुको उद्देश्य के हो ?

सबैभन्दा पहिलो उद्देश्य त सरकारको ध्यानाकर्षण गराउनु हो । हाम्रो भाषा, साहित्य, कला, संस्कृतिको विकास होस्, संरक्षण होस्, प्रवद्र्धन होस् यो काम राज्यको दायित्व पनि हो भन्ने बोध गराउनु यसको मूल उद्देश्य हो । यसका साथै थारु साहित्य सम्बन्धी समकालीन साहित्यकारहरूसँग अन्तर संवाद गर्ने, थारु साहित्यको सिर्जनात्मक लेखनको रचनागर्भको खोजी गर्ने, थारु तथा गैर थारू साहित्यकारहरूबीच अनुभव आदानप्रदान गर्ने, थारु मानक भाषा लेखनबारे अन्तरक्रिया गर्ने, थारू भाषामा प्रकाशित पुस्तक विमोचन गर्ने, बिक्री वितरण गर्नेलगायत विविध उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

  • सुर्खेतमा आयोजना गर्नुको कुनै खास कारण छ कि ?

थारु लेखक संघ नेपालको योजनाअनुसार प्रत्येक वर्ष थारू बस्ती भएको जिल्लामा देशभरीका विभिन्न जिल्लामा बस्ने थारू स्रष्टा, साहित्यकार, अनुसन्धानदाताहरूलाई समेट्ने गरी आयोजना गरिने कार्यक्रम हो । यो भन्दा अगाडि दाङ, बर्दिया, कैलाली, रूपन्देहीमा सम्पन्न भइसकेको छ । यस पटक कर्णाली प्रदेशको एक मात्र सुर्खेत जिल्लामा बस्ने थारूहरूको पहिचान, कला साहित्यको गतिविधिलाई थप ऊर्जा दिन र कर्णाली प्रदेशमा पनि थारू छन् है भनेर चिनाउने मौका पनि हो भन्ने लागेर आयोजना गर्न गरिएको हो ।

  • दुई दिनसम्म चल्ने सम्मेलनमा के–के हुनेछन् ?

पहिलो दिन उद्घाटन सत्र हुन्छ । साथै विभिन्न जिल्लाबाट प्रकाशित पुस्तक विमोचन हुनेछन् । विभिन्न विषयमा छलफल हुनेछ । जसमा थारू गीतको बाटो कता ?, आख्यानको खोज, लकडाउनमा थारू साहित्य र कविता वाचनलगायतका कार्यक्रम पहिलो दिन रहेका छन् । त्यसैगरी दोस्रो दिनमा थारू मानक भाषा लेखन शैली, थारु लोक संस्कृति र दस्तावेजीकरण, सुर्खेतमा थारु पहिचान गतिविधि तथा साहित्य आदि विषयमा प्यानल छलफल हुने कुराहरू समावेश गरेका छौँ ।

  • थारु साहित्यसँग सम्बन्धित छलफल मात्रै हुन्छ कि अन्य विषयहरूमा पनि हुन्छ ?

प्रश्न निकै सान्दर्भिक छ । वास्तवमा यो सम्मेलन थारु साहित्यसँग सम्बन्धित त अवश्य छ नै यसका साथै थारू र गैर थारू साहित्यकारहरूबीच अनुभव आदानप्रदान गरिने विषय पनि रहेका छन् । सम्मेलनको प्यानलिष्टमा आख्यानकार महेशविक्रम शाह, नयनराज पाण्डे एवम् प्रज्ञा प्रतिष्ठान बालसाहित्य विभागका प्राज्ञ लक्ष्मी माली आदि प्राज्ञिक व्यक्तित्वहरूको उपस्थितिले थारू लेखक स्रष्टाहरूलाई थप ऊर्जा दिनेछ भन्ने मैले विश्वास लिएको छु ।

  • छलफलका वक्ताहरूमा स्थानीय सहभागिता कत्तिको हुन्छ ?

प्यानलिष्ट छलफलका वक्ताहरूमा स्थानीय सहभागिताको सन्दर्भमा सुर्खेतका थारू पहिचानको गतिविधि तथा साहित्य विषयमा म लगायत थारु कल्याणकारिणी सभाका प्रतिनिधिहरू रहेका छन् ।

  • समावेशी सहभागितामा कत्तिको ध्यान दिनुभएको छ ?

हामीले यस सम्मेलनमा थारूसाहित्यकारहरूको जमघट भए पनि अरुबाट पनि सिक्न जरुरी छ भन्ने लागेर नै गैर थारू स्रष्टा, प्राज्ञिक विज्ञहरूलाई समेत समेटेका छौँ । समावेशी समाजमा बसे पछि समावेशी सहभागिता नहुने कुरै हुँदैन । यसतर्फ हामीले ध्यान दिएका छौँ ।

  • थारु साहित्यमा सुर्खेतको उपस्थिति र अवस्था कस्तो छ ?

सुर्खेतमा थारू साहित्यको कुरा गर्दा प्राचीन समयकालमा मौखिक रूपमा लोक साहित्य अन्तर्गत थारु लोक कथा, थारू लोक गीत मुखाग्र भनिदै सुनिँदै विकास भएको देखिन्छ । देशमा आएको प्रजातन्त्र लोकतन्त्रसँगै यहाँका थारूहरू पनि शिक्षादीक्षा लिने अवसर पाए । सामाजिक सांस्कृतिक रूपान्तरण हुने क्रममा केही थारु युवाहरू पनि साहित्यका माध्यमबाट आफ्ना विचारहरू दस्तावेजीकरण गरेको पाइन्छ । फुटकर रूपमा कविता, मुक्तक, कथा विधामा कलम चलेको पाइन्छ । कृतिको रूपमा मैले कविता संग्रह, कथा संग्रह, खण्डकाव्य, हास्यव्यङ्ग्य संग्रह आदि प्रकाशित गरेको छु । अन्य जिल्लाको तुलनामा सुर्खेती थारू साहित्य कमजोर देखिन्छ । यसको लागि युवाहरू जागरुक हुन जरुरी छ । साहित्य पनि समाजको सशक्त हतियार हो ।

  • अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?

अन्त्यमा म के भन्न चाहन्छु भने भाषा साहित्य पनि हाम्रो संस्कृति हो । कुनै पनि जातिको भाषा म¥यो भने जाति मर्छ, जाति म¥यो भने संस्कृति मर्छ, संस्कृति म¥यो भने पहिचान मर्छ । त्यसकारण आफ्नो भाषा साहित्य संस्कृति जोगाउनु हामी सबैको कर्तव्य र दायित्व हो । यस महान काममा राज्य त जिम्मेवार हुनु पर्छ नै त्यसको साथसाथै सबैले आ–आफ्नो ठाउँबाट लाग्नु पर्छ जस्तो लाग्छ ।

प्रकाशित मितिः   १४ चैत्र २०७७, शनिबार ०६:००