अनि शर्मा उद्यमी बने
उद्यम
वीरेन्द्रनगर–१२, ढकालचोकका शिवप्रसाद शर्माले थुप्रै वर्ष भारतमा बिताए । ३७ वर्षीय शर्मा कमाइका लागि भारत जाने आउने गरिरहे । रोजगारी खोज्न २०६० सालदेखि उनी परदेश जान थालेका हुन् । वर्षको दुुई पटक भारत पुग्थे, केही महिना ज्यालामजदुरी गरेको पैसा ल्याएर फर्कन्थे । शर्मालाई कमाउनका लागि भारत नगइ करै थियो । परिवारको गर्जो टार्न विदेशिनुको विकल्प थिएन । शर्मा भारतसँगै कमाइका लागि तेस्रो मुलुकसम्म पुगे ।
२०६० सालको कुरा हो । त्यतिबेला नेकपा माओवादी भूमिगत थियो । माओवादी र सरकारबीच चलेको युद्ध उत्कर्षमा पुगेको थियो । शर्माको परिवार त्यहीँ सशस्त्र द्वन्द्वको चपेटामा प¥यो । ‘उतिबेला गाउँमा बसिनसक्नु अवस्था थियो,’ शर्माले द्वन्द्वको बेला सम्झिए, ‘कि माओवादीसँगै हिँड्नुपथ्र्यो कि त गाउँ नै छोड्नुपर्ने हुन्थ्यो ।’ गाउँमा त्रास हुन थालेपछि उनको परिवार दैलेखको नौमूलेबाट सुर्खेत झ¥यो ।
‘हामी सुर्खेत त आयौं । यहाँ न कुनै रोजगारी थियो न त आफ्नो खेतबारी । बिहान–बेलुकाको छाक टार्नै मुस्किल हुन थाल्यो । परिवारको गुजरा चलाउन ज्यालामजदुरी गर्नुको विकल्प थिएन,’ शर्माले भने । उनले जे काम पाए पनि गर्ने निधो गरे । निकै दिन काम खोज्दै हिँडे पनि । शर्माले काम भने पाएनन् ।
बजारमा ज्यालामजदुरीको काम नपाएर थाकेका उनी जग्गा भएका साहुँहरूकोमा पुगे । अरूको जग्गामा अधियाँमा खेती गरे । तीनै साहुको घरमा काम पनि गरे । उनको परिवार ठूलो थियो । उनको एक्लो कमाइले सबै परिवार पालिन सम्भव थिएन । ‘हाम्रो सात जनाको परिवार हो । यहाँ काम नपाएपछि त्यतिबेला परिवारलाई बिहान बेलुकाको छाक टार्न हम्मेहम्मे हुन्थ्यो,’ शर्माले भने । यताको कमाइले पुग्ने छाँट नदेखेपछि उनले भारत जाने निधो गरे । त्यसपछि शर्मा कमाइका लागि भारत जाने आउने क्रम चलिरह्यो । भारतको कमाइले पनि परिवारलाई खान लाउन भने पुग्दैनथ्यो । ऋणको भारले च्याप्दै गएपछि उनले तेस्रो मुलुक जाने योजना बनाए । विदेश जान पनि पैसा नै चाहिन्थ्यो । एक लाख ५० हजार ऋण लिए । शर्मा २०७१ सालमा कमाउनका लागि साउदी अरब उडे ।
साउदीमा तीन वर्ष बिताएँ । त्यसपछि उनी घर फर्किए । कमाएर ल्याएको पैसा ऋण तिर्दैमा सकियो । उनी फेरि बेरोजगार भए । आफ्नो ठाउँमा रोजगारीका कुनै अवसर थिएनन् । फेरि भारत जानुपर्ने बाध्यता आइलाग्यो । शर्मा गत वर्ष यही समयमा भारतमै थिए । कोरोनाको महामारी बढ्दै गएपछि उनी भारतबाट फर्किए । उनी सुर्खेत पुगे लगत्तै लकडाउन भयो । लकडाउनका बेला सबै क्षेत्र ठप्प थिए । यसैबेला शर्माको परिवारलाई आर्थिक समस्याले पनि पिरोल्न थाल्यो । कोरोना महामारी केही मत्थर भयो । सरकारले लकडाउन खुकुलो बनाइयो ।
विदेशमा गएर पनि आर्थिक अवस्थामा सुधार नभएपछि शर्माले आफ्नै ठाउँमा केही उद्यम गर्ने सोच बनाए । कोरोनाको प्रभावका कारण भारत तथा अन्य देशबाट फर्किएका व्यक्तिहरूलाई केही संस्थाले सहयोग गर्ने गरेको उनले थाहा पाए । वीरेन्द्रनगर नगरपालिका, यूएनडीपी र अन्तरनिर्भर समाज सुर्खेतको साझेदारीमा कोभिड–१९ रेस्पोन्स तथा सामाजिक आर्थिक पुनर्उत्थान परियोजना सञ्चालन थियो । उक्त परियोजनाले कोरोना प्रभावले समस्यामा परेका परिवारलाई आर्थिक उपार्जनसँग जोड्न विभिन्न सहयोग प्रदान गर्दै आएको छ । शर्माले पनि सोही परियोजनाको सहायतामा च्याउ खेती गर्न थाले । यसले उनलाई भारत जानुपर्ने बाध्यता मात्र टरेन, उद्यमी समेत बनाइदियो । उनले च्याउ खेतीको लागि टनेल, पराल काट्ने मेसिन, बिउ, पराल बफाउने ड्रम, प्लास्टिक र प्राविधिक सहयोग पाएका छन् । उनी थोरै जग्गालाई सदुपयोग गरेर आफ्नै ठाउँमा कृषि कर्ममा होमिएका छन् ।
‘अहिले च्याउ खेती गरेर राम्रो आम्दानी गरिरहेको छु,’ उनले भने, ‘च्याउ बेचेर पछिल्लो समय ८७ हजार कमाइ गरियो ।’ उनले बिहान–साँझ च्याउ खेतीमा समय दिने र दिउँसो अन्य काम गर्ने गरेको बताए । शर्माले व्यवसाय गर्दा परिवारको साथ पाएका छन् । उनकी श्रीमती च्याउ बिक्री गर्न वीरेन्द्रनगरका विभिन्न ठाउँमा पुग्छिन् । शर्मा आफ्नो परिवारसँगै बसेर उद्यम गर्न पाउँदा खुसी छन् । भन्छन्, ‘अर्काको ठाउँमा गएर धेरै दुःख पाइयो । अरूको गाली खाइयो । अब आफ्नै ठाउँमा केही गर्ने सोच बनाएर लागेको छु ।’ च्याउ खेतीको उत्पादन बढाउने गरी योजना बनाएको उनले सुनाए । ‘म अहिले निकै खुसी छु । आफ्नै ठाउँमा कर्म गर्नुको आनन्द बेग्लै हुने रहेछ,’ शर्माले भन ।
प्रकाशित मितिः १४ चैत्र २०७७, शनिबार ०६:००
साझा बिसौनी ।