बहिनी पढाउन दिदीको सक्रियता

शैक्षिक क्षेत्र सुधार्ने प्रतिबद्धता

शैक्षिक क्षेत्र सुधार्ने प्रतिबद्धता


सुर्खेतका सामुदायिक विद्यालयमा सञ्चालित ‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ प्रभावकारी भएको पाइएको छ । विद्यालयस्तरमा लागू भएको यो कार्यक्रमले बालिका तथा किशोरीहरूलाई शिक्षाको पहुँचमा पु¥याउन सकारात्मक प्रभाव पारेको हो । सामुदायिक स्वयम्सेवकको रूपमा रहेका ठूली दिदीहरूले समुदायका सीमान्तकृत सानी बहिनीहरूलाई विद्यालय जान उत्प्रेरणा दिएका हुन् । बहिनीहरूको आत्मसम्मान र सिकाइ सीप बढाउन तथा विद्यालयमा नियमित गराउन दिदीहरूले मद्दत गरेका छन् । सुर्खेतका केही सामुदायिक विद्यालयमा लागू भएको बहिनी शिक्षाका लागि दिदी कार्यक्रम प्रभावकारी देखिएपछि परियोजनाको कार्य क्षेत्र विस्तार गर्नुपर्ने सरोकारवालाले सुझाएका छन् ।

शिक्षा क्षेत्रमा क्रियाशील तथा नीति निर्माणमा संलग्न व्यक्तिहरूले कर्णालीको शिक्षा क्षेत्र सुधारको प्रतिबद्धता समेत जनाएका छन् । बिहीवार वीरेन्द्रनगरमा भएको बहिनी शिक्षाका लागि दिदी कार्यक्रमको प्रदेशस्तरीय सिकाइ आदान–प्रदान कार्यक्रमका सहभागी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूले शिक्षा क्षेत्र सुधारको प्रतिबद्धता व्यक्त गरे । उनीहरूले शैक्षिक विकासका लागि सरकारी र गैरसरकारी निकायहरू हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

‘आर्थिक र सामाजिक कारणले कर्णालीका अधिकांश बालिका तथा किशोरीहरू शिक्षाबाट वञ्चित छन्,’ कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष देवी ओलीले भनिन्, ‘आगामी दिनमा प्रदेशले बनाउने नीति र कार्यक्रमले छोरी तथा खासगरी विपन्न वर्गका बालबालिकालाई समेट्ने छ ।’ आगामी वर्षहरूमा प्रदेशले निर्माण गर्ने नीति तथा कार्यक्रम र बजेटमा शिक्षालाई विशेष प्राथमिकतामा राखिने उनले प्रतिबद्धता जनाइन् ।

शिक्षा क्षेत्रका सरोकारवालाहरूले भीएसओ नेपालले सुर्खेतमा सञ्चालन गरेको ‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ निरन्तरताको माग समेत गरेका छन् । विपन्न परिवारका छोरीहरूलाई शिक्षाको पहुँचमा पु¥याउन उक्त कार्यक्रम प्रभावकारी देखिएको भन्दै कर्णालीका सबै स्थानीय तहमा बहिनी शिक्षाका लागि दिदी कार्यक्रम लागू गर्नुपर्ने उनीहरूले बताएका हुन् ।

भीएसओले सुर्खेतका १२ वटा सामुदायिक विद्यालयमा सञ्चालन गरेको कार्यक्रम प्रभावकारी पाइएकाले यसको निरन्तरता र विस्तारका लागि जोड दिइनुपर्ने बताइएको हो । बिहीवार सुर्खेतको वीरेन्द्रनगरमा भएको बहिनी शिक्षाका लागि दिदी कार्यक्रमको प्रदेशस्तरीय सिकाइ आदान–प्रदान कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका अध्यक्ष ओलीले यस्ता कार्यक्रम साविक कर्णालीका जिल्लाहरूलाई लक्षित गरेर सञ्चालन गर्न पनि सुझाइन् । भीएसओ नेपाल र आसमानको सहकार्य तथा शिक्षा पत्रकार समाज कर्णाली प्रदेशको संयोजनमा अनुभव आदान प्रदान गरिएको हो ।

त्यस्तै, कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले शिक्षक गुणस्तर सुधार्न र शिक्षामा सबै वर्गको सहज पहुँच स्थापित गर्ने गरी प्रदेशले शिक्षाका प्रदेश योजना बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘गरिबी र जनचेतना अभावका कारण विपन्न समुदायका बालबालिकाहरू शिक्षाको पहुँचबाट वञ्चित छन्,’ शाहीले भने, ‘अब बन्ने शिक्षाका योजनाले शिक्षामा सबैको पहुँच स्थापित गर्नेछ ।’ शिक्षा सर्वसुलभ भए पनि जनचेतना अभावकै कारण अधिकांश छात्राहरू विद्यालयको पहुँच बाहिर रहनुपर्ने तितो यर्थाथ रहेको उनले औंल्याए । सबै निकायको सहकार्यमा शिक्षामा सबैको पहुँच स्थापित गर्नुपर्नेमा उनको जोड थियो ।

सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले पालिकाले शैक्षिक सुधारका थुप्रै प्रयासहरू गरेको सुनाए । सिम्तामा रहेका सामुदायिक विद्यालयमा मनोपरामर्शकर्ताहरू नियुक्त गरेको, सबै बालबालिकाहरूलाई विद्यालयको पहुँचमा पु¥याउन बाल क्लब, संवाद समितिहरू बनाइएको लगायतका काम भइरहेको उनले जनाए । शिक्षामा नतिजामुखी उपलब्धीका लागि एकले अर्को निकायलाई आलोचना गर्नुभन्दा पनि सर्वपक्षीय सहभागिता आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रमका अन्य सहभागीहरूले शिक्षाको गुणस्तर सुधार गर्न सबै वर्ग र क्षेत्रको पहुँच स्थापित गर्न नीति निर्माणदेखि कार्यान्वयनको तहसम्म सुधारको प्रयास गर्ने प्रतिबद्धता जनाए । कार्यक्रम लागू भएका विद्यालयका ठूली दिदी र सानी बहिनीका अनुभव समेत आदान प्रदान गरिएको थियो ।

सीमान्तकृत समुदायका बालिकाहरूको विद्यालयमा पहुँच बढाइ शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यले बहिनी शिक्षाका लागि दिदी कार्यक्रम सञ्चालन गरिएको भीएसओ नेपालका कार्यक्रम व्यवस्थापक सुशीलबाबु खनालले बताए । कार्यक्रमले विपन्न छात्राहरूको शिक्षालाई निरन्तरता तथा उनीहरूको आत्मसम्मान र सिकाइ सीपमा मद्दत पुगेको उनको भनाइ छ । अनुभव आदान–प्रदान कार्यक्रममा गुराँस गाउँपालिका दैलेखका अध्यक्ष खेमराज वली, शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमाल, राष्ट्रिय विद्यालय व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेश अध्यक्ष गोविन्द कोइरालालगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मितिः   १३ चैत्र २०७७, शुक्रबार ०६:००