मार्सी धानको खेती आरम्भ
जुम्ला: नेपाली बजारमा लोकप्रिय बन्दै गएको मार्सी धानको यो वर्षको खेती आरम्भ भएको छ । जुम्लाका कृषकहरूले बिहीवारदेखि मार्सी धानको बिऊ राखेका छन् । धानको बिऊ बोरामा पानीमा भिजाइ राख्ने दिनलाई यहाँ धान उत्पादनको आरम्भ दिनको रूपमा लिइन्छ । यहाँको चलनअनुसार महिलाले मागल पुकारेसँगै सबैबाट चन्दननाथ, भैरवनाथ, मष्टो, कालिका, मालिका देवतालाई र आ–आफ्नाकुल देवतालाई सम्झेर बिऊ राख्ने चलन छ ।
जुम्लाको छुम चौरज्युलोमा सबैभन्दा बढी मार्सी धान लगाइन्छ । नेपालमा असार १५ गते धान दिवस मनाउने गरिए पनि कर्णाली प्रदेशले भने हरेक वर्ष चैत १२ गते जुम्लामा धान दिवसको सार्वजनिक बिदा दिने गरेको छ ।
चन्दननाथ नगरपालिका–१० का स्थानीय विष्णु भण्डारीका अनुसार हरेक वर्ष चैत १२ गते बिऊ बोराहरूमा राखेर पानीमा भिजाइन्छ, १६ गते बाहिर निकालिन्छ र २० गते बेर्नामा छरिन्छ । हरेक वर्ष चैत २० गते कर्णाली मार्सी धानको बिऊ घरमै उत्पादन गरी बेर्नामा छर्ने गरिन्छ । चैत १२ लाई यहाँको संस्कारमा बारुवा भनिने तातोपानी गाउँपालिका–७ कि जौंकला खड्काले बताइन् । जुम्लामा चन्दननाथ बाबाले दिएको उपदेशको आधारमा धान खेतीको सुरुआत गरेको पाइन्छ ।
चैत १६ गते भिजाएको धानको चिउरा कुट्ने र खाने चलन पनि रहेको छ । मार्सी धानलाई विभिन्न रोगको औषधिको रूपमा पनि प्रयोग गरिन्छ । यसको रातो भातकोे खीर निकै स्वादिलो हुन्छ । इतिहासमा उल्लेख भएअनुसार राजपरिवारमा पनि जुम्लाकै मार्सी धान हुलाकमार्फत पठाउने गरिन्थ्यो । बजारमा जुम्ली मार्सीको माग अहिले पनि अत्याधिक छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय पहिले जुम्ली मार्सी चामलको भात खाएको तस्बीर सार्वजनिक भएसँगै यसको लोकप्रियता झनै बढेको छ ।
प्रकाशित मितिः १३ चैत्र २०७७, शुक्रबार ०६:००
साझा बिसौनी ।