साझा संवाद

जोखिम बढ्दैछ, सचेत बनौं

साझा संवाद


कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुर्खेतका मात्रै २२ जनाले ज्यान गुमाए । प्रदेश राजधानी समेत रहेको सुर्खेत महामारीबाट बढी प्रभावित हुन पुग्यो । अहिले पनि प्रदेशका अन्य नौ जिल्ला संक्रमणमुक्त हुँदा सुर्खेतमा सक्रिय संक्रमित छन् । पछिल्लो समय संक्रमितको संख्या थपिदैं छ । त्यसमाथि जोखिमयुक्त गतिविधि बढेका छन् । यही जोखिम रोकथाम तथा नियन्त्रण गर्न के–कस्तो सतर्कता अपनाइएको छ भन्ने विषयमा हाम्रा सहकर्मी सीता वलीले जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेसँग गरेको कुराकानीः

चेतननिधि वाग्ले प्रमुख, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेत
  • सुर्खेतमा अहिले कोरोना भाइरस (कोभिड–१९) को जोखिम कत्तिको छ ?

कोरोना संक्रमणको जोखिम हिजो जति थियो आज पनि त्यति नै छ । यद्यपि बीचको समयमा संक्रमण शून्यमा झरेको थियो । त्यसैले नागरिकहरू खुलमखुल्ला स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा नगरी हिँड्न थाले । भिडभाड बढ्यो । ‘कोरोना केही होइन’ भन्नेदेखि ‘मास्कले कोरोना छेक्छ र ?’ जस्ता भ्रम फैलाइयो । यही बेवास्ता र लापरबाहीले फेरि संक्रमितको सख्या थपिन थालेको छ । अहिले दैनिक कोरोना पोजेटिभको संख्या बढ्दो छ । पछिल्ला समय दिनमा दुई÷तीन जना कोरोना भाइरस संक्रमित भेटिने गरेका छन् । जसमध्ये केही भारतबाट आएकाहरू हुन् । त्यसैले सुर्खेत जिल्ला अहिले पनि उच्च जोखिममा छ । त्यसमाथि मानिसहरूको चहलपहल र भिडभाड बढी हुने भएकाले पनि जोखिम बढ्दो छ ।

सुर्खेत जिल्लाको हकमा हामीले हालसम्म ३४ हजार तीन सय ४१ जनाको कोरोना परीक्षण गरिसकेका छौं । जसमध्ये चार हजार एक सय ७७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । त्यसमध्ये अधिकांश कोरोनामुक्त भइसकेका छन् भने अहिले ११ जना सक्रिय संक्रमित छन् । उनीहरू चिकित्सकको निगरानीसहित होम आइसोलेसनमा छन् । कर्णाली प्रदेशभर कोरोना भाइरसको संक्रमणका कारण ३१ जनाले ज्यान गुमाए, जसमध्ये २२ जना सुर्खेतका हुन् ।

  • शून्यमा झरेको संक्रमणको जोखिम फेरि बढ्नुको कारण के हो ?

जबसम्म भारतसँगको हाम्रो नाका खुल्ला रहन्छ तबसम्म हामी जोखिममा हो । केही समय कोरोना भाइरस शून्यमा पनि झरेको थियो । तर भारतमा कोरोना बढ्ने वित्तिकै यता पनि बढ्न थालेको हो । भारतका केही स्थानहरूमा लकडाउन समेत भएको छ । त्यसैले भारतमा कोरोना बढ्दा हाम्रोमा पनि स्वतः बढ्छ, रोजगारीका लागि भारत जाने नेपालीहरूकै कारण हो । भारतमा देखिएको असर नेपालमा ढिला देखिएला तर त्यहाँको असर यहाँ अवश्य देखिन्छ ।

पछिल्लो समय सुर्खेतमा पनि दिनमा दुई÷तीनवटा केशहरू पोजेटिभ आएको छ । जसमा भारतबाट आएकाहरू पनि छन् । दैनिक कर्णाली भित्रिनेहरूको संख्या समेत बढेको पाइन्छ । नागरिकहरूले लापरबाही गरेकै कारण यो दर झन् बढ्ने सम्भावना छ । मास्क नलगाउने, भिडभाड गर्ने, स्यानिटाइजरको प्रयोग नगर्ने र साबुनपानीले हात नधुने कारणले जोखिम बढ्ने सम्भावना भएको हो ।

  • पछिल्लो समय कोरोना परीक्षण नै कम गरिएको हो ?

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले अहिले मात्रै होइन विगत एकवर्षदेखि निरन्तर रूपमा कोरोना भाइरस संक्रमणको परीक्षण गर्दै आएको छ । हामीले परीक्षणलाई एकदिन पनि रोकेका छैनौं । हाल हप्तामा तीन दिन परीक्षण हुने गरेको छ । आइतवार, मंगलवार र बिहीवार कोरोना भाइरसको लक्षण देखिएकाहरूलाई परीक्षण गर्ने गरेका छौं ।

सुर्खेत जिल्लाका नौ वटै स्थानीय तहमा समेत स्वास्थ्यकर्मीहरूलाई तालिम दिइसकेका छौं । सम्बन्धित स्थानीय तहमा त्यस्ता खालका लक्षण देखिएका बिरामी भएको खण्डमा स्वाब संकलन गरी पठाइन्छ । खासगरी अहिले दुई विधिबाट परीक्षणलाई अगाडि बढाएका छौं । पीसीआर विधि र एन्टिजेन विधिबाट परीक्षण गर्ने गरेका छौं ।

  • कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्य अहिले कसरी चलिरहेको छ ?

नेपाल सरकारले निर्धारण गरेको प्राथमिकीकरणको आधारमा हामीले पहिलो चरणको पहिलो प्राथमिकतामा परेका फ्रन्टलाईनरहरूलाई माघ १४ देखि २४ गतेसम्म खोप लगायौं । जसमा स्वास्थ्यकर्मीहरू, एम्बुलेन्स चालक, शवबाहन चालक, स्वास्थ्य सरसफाइकर्मीहरू, जनप्रतिधिहरू, धेरै भिडभाड हुने कार्यालयका कर्मचारीहरू र पत्रकारहरू थिए । जसमा दुई हजार तीन सय ४० जनालाई खोप लगाइएको थियो ।

पहिलो प्राथमिकताको दोस्रो चरण अन्तर्गत फागुन महिनाको २ गतेदेखि १० गतेसम्म पाँच हजार एक सय ३५ जनालाई प्रदेश अस्पताल सुर्खेतमा खोप लगाइयो । दोस्रो प्राथमिकतामा परेको ६५ वर्षदेखि माथिका वृद्धवृद्धाहरूलाई फागुन २३ देखि चैत्र ३ गतेसम्म खोप लगाइयो । अब दोस्रो चरणको (दोस्रो डोज) लगाउने तयारी भएको छ । पहिलो प्राथमिकतामा परेको माघ १४ देखि २४ र फागुन २ देखि १० सम्म खोप लगाएकाहरूलाई आगामी वैशाख ७ गतेदेखि खोप लगाउने तयारी रहेको छ । दुईपटक कोभिशिल्ड लगाएपछि पुग्छ । तर खोप लगाउँदैमा संकट टर्छ भन्ने होइन । स्वास्थ्य सुरक्षाको मापदण्ड भने पुरा गर्नैपर्छ । मास्क, स्यानिटाइजर र भिडभाड नगर्ने कुरालाई भने सधैं ध्यान दिनुपर्छ । कोरोनाको जोखिमबाट बच्नको लागि उत्तम विकल्प भनेकै मास्क लगाउने, भिडभाड नगर्ने र पटक–पटक साबुन पानीले हात धुने र स्यानिटाइजर लगाउने नै हो ।

  • दोस्रो चरणको कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि तयारी के छ ?

दोस्रो चरणमा कस्तो खालको भाइरस आउँदैछ भन्ने कुरा परीक्षण त भएको छैन । तर पनि हामी संक्रमणबाट बच्नको लागि सधैं तयारी अवस्थामा नै छौं । केही समय बिरामी नभएका कारण स्थानीय तहका आइसोलेसनहरू बन्द थिए अब तिनलाई तयारी अवस्थामा राख्ने, स्वास्थ्य सुरक्षाको मापदण्डमा कडाई गर्ने, नाकाहरूमा हेल्थ डेस्क राख्ने, कर्णाली भित्रिनेहरूलाई निगरानीमा राख्ने काम भइरहेको छ । अर्को कुरा हरेक नागरिक सचेत हुनु जरुरी पनि छ । सबै सुरक्षाको तयारी स्वास्थ्यकर्मीले मात्रै गर्नुभन्दा पनि नागरिकहरूले को व्यक्ति बाहिरबाट आयो, कसलाई रुघाखोकी तथा ज्वरो आएको छ यो सबै कुराको निगरानी गरी उसलाई सही सुझाव दिन जरुरी छ । कोरोनाको औषधि छैन परीक्षण किन गर्नु भन्दै नागरिकहरू लक्षण भए पनि खुलेआम हिँडेको पाइन्छ । त्यसो गरे आफू लगायत परिवार र समाज समेत झन् संक्रमित हुन सक्छ । स्वयम् व्यक्तिलाई समेत उसको अक्सिजन कति छ भन्ने लगायतका कुरा जाँच गरी उपचार गर्न सकिन्छ । त्यसैले कोरोनाको जोखिमबाट बच्नलाई सबै सचेत बन्नुपर्छ र संक्रमितहरू सचेत भएर सुरक्षित स्थान होमआइसोलेसन तथा अस्पतालमा बस्नुपर्छ । हामीले एम्बुलेन्स सधैं तयारी अवस्थामा राखेका छौं । सबै स्थानीय तहमा एम्बुलेन्स छन् । पहिले जस्तो विद्यालयहरूमा क्वारेन्टाइन राख्ने अवस्था न्यून छ । त्यसैले सबै सचेत हुनु जरुरी छ ।

  • प्रशासनले धेरै मानिस जम्मा हुने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ, यो अवस्थामा प्रशासनले गरेको निर्णय सही हो ?

एकदमै सही हो । हामी पहिलेदेखि नै सचेत थियौं । तर पनि पछिल्लो समय कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने खतरा भएको कारण आउँदै गरेको होलीको अवसरमा भिडभाड नगर्ने, पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेसन केन्द्रहरूलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्रहरूबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउने, कोभिड–१९ को संक्रमण थप फैलन नदिन विद्युतीय माध्यमबाट चेतनामूलक सन्देश प्रसारण गर्ने र स्वास्थ्य परीक्षण गराइ संक्रमणको अवस्था पहिचान गर्ने निर्णय भएको हो । त्यस्तै स्यानिटाइजर, मास्क र सामाजिक दूरी पालना गर्न कडाई गर्ने, मास्क नलगाउनेलाई संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने, सीमा नाकाहरूबाट आउने व्यक्तिहरूको अनिवार्य रूपमा अभिलेख राख्ने व्यवस्था मिलाउने निर्णय भएको हो । यो आवश्यक छ । सोही बमोजिम हामीले सुर्खेतका बबई र कुइनेमा हेल्थ डेस्क राखेका छौं । मंगलवार मात्रै बबई नाकाबाट तीन हजार सात सय दुई जना, कुइने नाकाबाट एक सय ३७ र सुर्खेत विमानस्थलबाट ४८ जना भित्रिएको तथ्याङ्क छ । तर उहाँहरू भारतबाट मात्रै आएको तथ्याङ्क भने होइन । पछिल्लो समयमा निगरानी बढाएका छौं ।

  • अन्तमा, आम नागरिकलाई के भन्न चाहनुहुन्छ ?

स्वास्थ्य सुरक्षाको मापदण्ड नै कोरोना भाइरसको संक्रमणबाट बचाउने औषधि हो । त्यसैले भिडभाडमा नजानुहोस्, मास्क अनिवार्य लगाउनुहोस् र पटक–पटक साबुनपानीले हात धुनुहोस् अथवा स्यानिटाइजर प्रयोग गर्नुहोस् । पछिल्लो समय कोरोनाको जोखिम बढ्दैछ सबै सचेत बन्नुहोस् । आम नागरिकहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु । गाउँघरमा नयाँ व्यक्तिको आँगमन भएको छ भने उसलाई निगरानीमा राख्नुहोस् । लक्षण देखिएको छ भने कोरोना परीक्षण गरी चिकित्सकको सल्लाह बमोजिम गर्नुहोस् ।

प्रकाशित मितिः   १२ चैत्र २०७७, बिहीबार ०६:००