लगानीको खोजी

औद्योगिक विकासका दृष्टिले कर्णाली प्रदेश पछि छ । यहाँ ठूलो लगानीका उद्योगहरू छैनन् । केही मझौला तथा अधिकांश साना र घरेलु उद्योगहरू छन् । भएका पनि पूर्ण रूपमा व्यावसायिक हुन सकिरहेका छैनन् । तिनका आफ्नै चुनौती छन् । जसका कारण कर्णालीको आर्थिक विकासको गति सुस्त छ । आर्थिक स्तरमा सुधार हुन नसक्दा अन्य विकास निर्माणमा पनि पछि परिरहेको अवस्था छ । यसको मुख्य कारण लगानी नबढ्नु हो । लगानीको वातावरण बन्न नसक्नु हो । लगानीकर्ताहरू आकर्षित नहुनु हो । तर कर्णालीमा लगानीका पर्याप्त स्रोत र सम्भावनाहरू छन् ।

सरकारी होस् या निजी क्षेत्रबाट लगानी भिœयाउन ठोस पहल हुन सकेको छैन । यद्यपि कर्णाली प्रदेश सरकारले पछिल्लो समय केही प्रयास भने गरेको छ । यसैक्रममा लगानी सम्मेलन आयोजना गर्नेदेखि परियोजना बैंक निर्माण लगायतका योजना अघि सारेको छ । अर्थात् कर्णाली प्रदेशमा लगानी भिœयाउन कसरत थालिएको छ । प्रदेश योजना आयोगले परियोजना बैंक निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । विकासका सम्भावनाको अध्ययन गरेर परियोजना बैंक बनाउन लागिएको हो । चैत महिनाको अन्तिम सातासम्म परियोजना बैंक निर्माण गरी लगानी सम्मेलनको तयारी गर्न लागिएको छ । परियोजना बैंक निर्माण गरी प्रदेश विकास परिषद्को बैठकबाट अनुमोदन गराएपछि लगानी सम्मेलन गरिने आयोगले जनाएको छ । आयोग जतिसक्दो छिटो परियोजना बैंक बनाएर प्राथमिकता निर्धारण गर्ने तयारीमा लाागेको हो । निर्धारित योजना अनुसार काम अघि बढे आगामी वैशाख महिनाभित्र लगानी सम्मेलन हुनेछ ।

जसमा परियोजना बैंक अन्तर्गत निजी लगानीलाई प्रोत्साहन गर्ने खालका योजना ल्याइनेछ ।bत्यसो त योजना बनाउने तर कार्यान्वयन नगर्ने समस्या विगतदेखिकै हो । अघिल्लो वर्ष गर्ने भनिएको लगानी सम्मेलन हुन सकेन । यस वर्ष पनि घोषणा त गरिएको छ तर निश्चिन्त हुने अवस्था बनिसकेको छैन । त्यसमाथि अहिलेको राजनीतिक अस्थिरताले पनि सरकारको कामकारबाही गतिशील हुन सकेको छैन । सरकारले परियोजना बैंकको चर्चा गर्न थालेको पनि केही वर्षअघिदेखि नै हो । दुई वर्षपछि कामको गति बढाइएको छ । आर्थिक वर्ष २०७५÷०७६ सालमा परियोजना बैंक निर्माण गरिसक्ने भनिए पनि कामले गति लिन सकेको थिएन । अब भने चैत्र महिनाभित्र परियोजना बैंक निर्माण कार्य सम्पन्न हुन लागेको बताइएको छ । यसले सकारात्मक बाटो देखाएको छ ।

कर्णालीमा लगानीका क्षेत्र प्रशस्त छन् । पूर्वाधार निर्माणदेखि औद्योगिक विकाससम्म । पर्यटन उद्योगमा लगानी बढाउन सकिने प्रचुर सम्भावना छ । जलविद्युत अर्को ठूलो सम्भावनाको क्षेत्र हो । कृषिजन्य उत्पादन होस् वा जडिबुटीमा लगानी भिœयाउन सके आर्थिक विकासमा फड्को मार्न सकिने अवस्था कर्णालीमा छ । तर भएका सम्भावनाहरूको सदुपयोगमार्फत लाभ लिन सक्नुपर्दछ । योजना बनाइए अनुसार परियोजना बैंक निर्माण गरी लगानी भिœयाउन सके कर्णालीको समग्र विकासमा टेवा पुग्ने निश्चित छ ।

प्रकाशित मितिः   ११ चैत्र २०७७, बुधबार ०६:००