जोखिमपूर्व सावधानी

कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वलाई नै आक्रान्त बनायो । धेरैको ज्यान लियो । ठूलो संख्यामा मानिसहरू कोरोना संक्रमित बने । यसको त्रास यति फैलियो कि नेपालसहित धेरै देशले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन घोषणा गरे । लामो समयको लकडाउनले सबै क्षेत्र पूर्ण रूपमा प्रभावित बने । अर्थतन्त्र धरासायी बन्यो । मानव जीवन अस्तव्यस्त रह्यो । तथापि पछिल्लो केही समययता अवस्था सुधार हुँदै गयो । सामान्य अवस्थामा फर्कने परिस्थितिको निर्माण हुँदै गयो । बन्द भएका सबै क्षेत्र सञ्चालनमा आउन थाले । सँगसँगै कोरोनाको जोखिमलाई बेवास्ता गर्न थालियो । त्यही बेवास्ताले फेरि अर्को जोखिम निम्ताएको छ । किनभने कोरोनाको संक्रमणमा केही कमी आएको भए पनि निर्मूल भइसकेको थिएन ।

कतिपय मुलुकमा नयाँ लक्षणसहितको कोरोना संक्रमण देखा परिसकेको छ । छिमेकी मुलुक भारतमै पनि कोरोनाको संक्रमणले ज्यान गुमाउनेको संख्या डरलाग्दो नै छ । संक्रमणको दर पुनः बढेको छ । पछिल्लो केही दिनयता कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको हो । भारतसँग नेपालको खुला सीमाना छ । सहजै आवत–जावत हुन्छ । जसले गर्दा नेपाल पनि थप जोखिममा परेको छ । यही जोखिमलाई मध्यनजर गर्दै सरकारले पुनः नागरिकलाई सचेत बनाउने प्रयास गरेको छ । जोखिमयुक्त गतिविधिमा रोक लगाउन खोजेको छ । जिल्ला प्रशासन कार्यालयहरूले भिडभाड हुने गतिविधि नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरिरहेका छन् । खुला सीमानाका कारण नेपालमा पनि पुनः कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै सरकारले भिडभाड, भेला र जमघटमा कडाइ गरिने यसअघि नै बताइसकेको छ । सरकारले आम नागरिकलाई कोरोना जोखिमबाट बच्न सजकता अपनाउन अनुरोध समेत गरिसकेको छ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपालमा पनि सतर्कता अपनाउन थालिएको हो ।

भिडभाड कोरोना संक्रमण फैलिने जोखिमयुक्त कार्य हो । तर अहिले सार्वजनिक स्थलहरूमा मानिसहरूको जमघट र भिडभाड बढेको छ । धेरै मानिस जम्मा हुनेखालका भेला, सम्मेलन, गोष्ठीलगायतका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यसले पनि संक्रमणको जोखिम बढाउँछ । त्यसैले सार्वजनिक स्थलमा हुने भिडभाड नियन्त्रण गर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन कडाइ गर्नुपर्ने आवश्यकता देखिएको छ । सरकारले कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि योजनाबद्ध तयारी र काम गर्न नसकेमा जोखिम बढ्दै जानेछ ।

जोखिमपूर्व तयारीमा उत्तिकै ध्यान पु¥याउन जरुरी छ । यसका लागि पहिले सञ्चालनमा ल्याइएका क्वारेन्टाइन र आइसोलेसन केन्द्रहरूलाई पुनः तयारी अवस्थामा राख्न सकिन्छ । यसका साथसाथै स्वास्थ्य केन्द्रहरूबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउनेतर्फ सचेत हुनुपर्नेछ । संक्रमण थप फैलन नदिन परीक्षणमा जोड दिने, संक्रमणको अवस्था पहिचान गर्ने, स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने र चेतनामूलक सन्देश प्रसारणजस्ता सावधानी अपनाउनु अपरिहार्य छ । यसले फेरि फैलिन सक्ने कोरोना महामारी नियन्त्रणमा मद्दत पुग्नेछ ।

प्रकाशित मितिः   १२ चैत्र २०७७, बिहीबार ०६:००