फेरि बढ्यो कोरोना जोखिम
मास्क अनिवार्य, सीमा नाकामा कडाइ, क्वारेन्टाइन र आइसोलेशन केन्द्रलाई पुनः तयारी अवस्थामा राखिने
cvc
जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभर भिडभाड हुने गतिविधि नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । भारतमा कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमणको दर पुनः बढेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको हो । पछिल्लो केही दिनयता छिमेकी राष्ट्र भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
खुला सीमानाका कारण नेपालमा पनि पुनः कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै सरकारले भिडभाड, भेला र जमघटमा कडाइ गरिने यसअघि नै बताइसकेको छ । सरकारले आम नागरिकलाई कोरोना जोखिमबाट बच्न सजकता अपनाउन अनुरोध समेत गरिसकेको छ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सुर्खेतमा पनि स्थानीय प्रशासनले सचेत हुन आग्रह गरेको हो ।
मंगलवार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि विभिन्न निर्णय गरेको छ । जिल्लाका सार्वजनिक स्थलमा हुने भिडभाड नियन्त्रण गर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन कडाइ गर्नेलगायतका निर्णय गरिएको हो । त्यस्तै, अनिवार्य मास्कको प्रयोग, साबुन पानीले हात धुनेलगायत कार्यहरू गर्नसमेत प्रशासनले अनुरोध गरेको छ ।
बैठकले कोभिड संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा ल्याइएका क्वारेन्टाइन र आइसोलेशन केन्द्रहरूलाई पुनः तयारी अवस्थामा राख्ने र स्वास्थ्य केन्द्रहरूबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले संक्रमण थप फैलन नदिन परीक्षणमा जोड दिने, संक्रमणको अवस्था पहिचान गर्ने, स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने र चेतनामूलक सन्देश प्रसारण गर्ने निर्णय भएको जनाए । बैठकले सीमा नाकाहरूबाट आउने व्यक्तिहरूको अनिवार्य रूपमा अभिलेख राख्ने व्यवस्था मिलाउने र मास्क नलगाएर सार्वजनिक स्थलमा हिँड्डूल गर्नेलाई पनि कारबाही गर्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेशका अन्य जिल्लामा हाल सक्रिय संक्रमित नभए पनि सुर्खेतमा भने दैनिकजसो संक्रमित थपिने गरेका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले सुर्खेतमा दैनिक नयाँ संक्रमित पुष्टि हुने गरेको बताए । उनका अनुसार सोमवार र मंगलवार दुई दिनमा ६ जनालाई कोरोना संक्रमण देखिएको छ । जसमध्ये एक जना भारतबाट आएका व्यक्ति हुन् । उनको ‘कन्ट्याक्ट टे«सिङ’ गर्दा अर्को एक जनामा पनि संक्रमण पुष्टि भएको वाग्लेले जनाए । ‘केही दिनयताको अवस्था हेर्दा पुनः जोखिम बढेको जस्तो देखिन्छ,’ उनले भने, ‘स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन जरुरी छ ।’ पहिलेको तुलनामा कोरोना संक्रमण दर घट्दै गएपछि केही महिनायतादेखि स्वास्थ्य सुरक्षाका मापदण्डसमेत पालना गर्न छोडिएको छ । प्रदेश सरकार र स्थानीय तहहरूले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाएका क्वारेन्टाइनलगायतका संरचना पनि हटाइसकेका छन् ।
प्रशासन कार्यालयले सर्वपक्षीय बैठक गरेको हो । बैठकमा स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, जिल्ला विपद् व्यवस्थापन समितिका प्रतिनिधि, सुर्खेत उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ सुर्खेतलगायत संघ–संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।
प्रकाशित मितिः ११ चैत्र २०७७, बुधबार ०६:००
साझा बिसौनी ।