६ जिल्ला धान्ने एक्ला कर्मचारी

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतमा एक जना कार्यालय प्रमुख र एक जना कार्यालय सहयोगी मात्रै छन् । कार्यालयको कामले प्रमुख बाहिर जाँदा कार्यालय सहयोगीको भरमा छोड्नुपर्छ । संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य तथा गुण नियन्त्रण विभाग अन्तर्गत २०७५ सालमा स्थापना भएको ६ जिल्ला हेर्नुपर्ने उक्त कार्यालय तीन वर्षदेखि एक जना कर्मचारीको भरमा छ ।
कार्यालयलाई कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, रुकुम–पश्चिम, हुम्ला र डोल्पा जिल्ला कार्यक्षेत्र तोकिएको छ । तर, काम गर्ने कर्मचारी भने एक जना मात्रै । ती एक्ला कर्मचारी हुन्, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापा । ‘एक्लैले ६ वटा जिल्ला हेर्दै आएको छु,’ उनले भने, ‘कार्यालयको दैनिक प्रशासनिक काम, बजार अनुगमन र अन्य निकायसँग समन्वय गर्नुपर्ने हुन्छ ।’ आफू एक्लैले यी सबै जिम्मेवारी सम्हाल्दै आएका उनी बताउँछन् ।
कार्यालयमा सहयोगीसहित विभिन्न तहका ६ जना कर्मचारीको दरबन्दी छ । तर, कर्मचारी भने आएका छैनन् । प्राविधिक सहायक पदका लागि गत वर्ष विज्ञापन भए पनि कोरोना महामारीका कारण पदपूर्ति हुन नसकेको प्रमुख थापाले बताए । ‘सोही पदका लागि अहिले लिखित परीक्षा भएको छ,’ उनले भने, ‘सायद अब पदपूर्ति होला ।’
दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्यालय प्रमुख नै जिल्ला–जिल्लामा अनुगमनको लागि जानुपर्ने बाध्यता रहेको थापाले बताए । उनकाअनुसार सामान्यतया हप्तामा तीन दिन बजार अनुगमन गर्नुेपर्ने हुन्छ । उद्योग सञ्चालन गर्नेलाई अनुज्ञा–पत्र दिने, हरेक वर्ष अनुगमन गरेर मात्रै नवीकरण गर्नुपर्नेलगायतका कामका लागि पनि कर्मचारीको अभाव निकै खड्किएको उनी बताउँछन् ।
‘उद्योगीले बोलाउँदा महिनौसम्म जान पाइँदैन,’ थापा भन्छन्, ‘म एक्लो कहाँ–कहाँ जानु ?’ यसबाहेक कार्यालयले वार्षिक रूपमा अनिवार्य रूपमा गर्नैपर्ने कामहरू पनि छन् । होटेल रेष्टुरेण्ट तथा होमस्टे सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी तालिम, होटेलको स्तरीकरण तालिम, बजार अनुगमन, होटेल तथा मिठाइ पसल अनुगमन र खाद्य उद्योग तथा दाना उद्योगको अनुगमनको काम पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले नै गर्छ । व्यवसायमा अनुचित कार्य गर्ने उद्योगी व्यवसायीलाई कारबाहीका लागि सिफारिस गर्नेलगायतका काम पनि यसै कार्यालयको हो ।
कार्यालयमा कर्मचारी त छैनन् नै भौतिक पूर्वाधार पनि पर्याप्त छैन । कार्यालयको एउटा गाडी समेत नहुँदा अरूको सहयोगमा अनुगमनमा जानुपर्ने बाध्यता रहेको प्रमुख थापाले बताए । नागरिकका गुनासा समेत कर्मचारी अभावका कारण सुनुवाइ गर्न नसकिएको उनले बताए । एक्ला कर्मचारी थापालाई अनुगमनमा जाँदा कार्यालयमा आउने काम रोकिने र अनुगमन नजाँदा उद्योगीको काम रोकिने दोहोरो समस्या छ ।
प्रकाशित मितिः ११ चैत्र २०७७, बुधबार ०६:००
साझा बिसौनी ।