प्रदेशस्तरीय भलिबल प्रतियोगिता आजदेखि

मैत्रीपूर्ण खेलमा पत्रकारको जित

प्रदेशस्तरीय भलिबल प्रतियोगिता आजदेखि

प्रदेशस्तरीय भलिबल प्रतियोगिताको पूर्वसन्ध्यामा मंगलवार पत्रकार र आयोजकबीच मैत्रीपूर्ण खेल भएको छ । पत्रकार र चुली युवा क्लबबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता गरिएको हो । वीरेन्द्रनगरमा भएको खेलमा पत्रकारको टोलीले जित हात पारेको छ । चुलि युवा क्लबको आयोजना र खेलकुद पत्रकार मञ्चको समन्वयमा भएको खेलमा पत्रकारको टोली दुई शून्यको अन्तरले विजयी भएको हो ।

पहिलो सेटमा २५­–१६ को अन्तरमा हराएको पत्रकारको टोलीले दोस्रो सेटमा २५–­२१ को अन्तरले पाखा लगायो । दोस्रो सेटमा शुरुवाती अग्रता लिएको चुलीले आफूलाई सम्हाल्न नस्कादा नतिजा सुम्पन पुगेको हो । ९–­३ को अग्रता बनाएको चुलीले सेटर र डिफेन्डरको तालमेल मिल्न नस्कदा आफू अनुकूलको नतिजा हात पार्न सकेन ।

मैत्रीपूर्ण खेल समापनपछि बोल्दै खेलकुद पत्रकार मञ्च सुर्खेतका अध्यक्ष भानुभक्त अधिकारीले कर्णाली प्रदेशलाई खेलकुदका क्षेत्रमा अगाडी बढाउनुपर्ने बताए । नियमित खेलकुदका गतिविधिले मात्र खेलप्रति आकर्षण बढ्ने र त्यसका लागि सरकारी तथा निजी क्षेत्रको चासो आवश्यक रहेको उनले औंल्याए । अध्यक्ष अधिकारीले खेलकुदका गतिविधिमा सञ्चारमाध्यमको पनि ‘कभरेज’ बढाउनुपर्ने बताएका थिए । विधागत पत्रकारितामा जोड दिनुपर्ने उनको भनाइ थियो ।

चुली कप २०७७ आज (बुधवार)देखि सुरू हुँदै छ । आयोजकका अनुसार प्रतियोगिताको तयारी पूरा भइसकेको छ । प्रदेशस्तरीय उक्त भलिबल प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नेछन् । प्रतियोगिताका विजेताले दुई लाख, उप–बिजेताले एक लाख ५० हजार नगद पुरस्कार पाउने आयोजक संस्थाका सदस्य अम्मर चन्दले बताए । प्रतियोगितामा तेस्रो हुने टिमले एक लाख र चौथोले ५० हजार रूपैयाँ पुरस्कार पाउने छन् भने विभिन्न विद्यामा सर्वोत्कृष्ट खेलप्रदर्शन गर्ने खेलाडीहरू पनि पुरस्कृत हुने बताइएको छ ।

प्रकाशित मितिः   ११ चैत्र २०७७, बुधबार ०६:००