क्षयरोगीको संख्या घट्दै
कर्णालीमा प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रही आएको क्षयरोग (टीबी)का बिरामी पछिल्ला वर्षहरूमा घट्दै गएका छन् । २०७४ सालयताको तथ्याङ्क हेर्दा कर्णालीमा क्षयरोगका संक्रमितको संख्या घट्दै गएको पाइएको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा ९४, २०७५÷७६ मा ७८, २०७६÷७७ मा ६९ जनामा क्षय रोग देखिएको थियो ।
चालु आर्थिक वर्षको अहिलेसम्म नयाँ ३७ जनालाई मात्रै क्षयरोग देखिएको छ । निर्देशनालयका क्षय÷कुष्ठ अधिकृत पदम केसीले पछिल्लो समय क्षय रोगका बिरामीहरूको संख्यामा कमी आएको बताए । कर्णालीका सुुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम–पश्चिममा अन्य जिल्लाको तुलनामा क्षयरोगका बिरामी बढी छन् ।
जनचेतनासँगै ग्रामीण भेकमा हुने शिविर तथा स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धिका कारण कर्णालीमा क्षयरोगीको सख्या घट्दो क्रममा रहेको बताइएको छ । हाल क्षयरोग पत्ता लगाउन भरपर्दो विधि मानिएको ‘जीन एक्सपर्ट’बाट प्रदेशका चार जिल्लामा परीक्षण गर्ने गरिएको छ । यही चैत महिनादेखि अन्य तीन जिल्लामा पनि उक्त परीक्षण विधिको सेवा विस्तार गर्न लागिएको केसीले जनाए । उनकाअनुसार ‘जीन एक्सपर्ट’ सेवाका लागि कालीकोट, रुकुम–पश्चिम र मुगुमा तयारी थालिएको छ । योसँगै प्रदेशका सात ठाउँबाट ‘जीन एक्सपर्ट’ सेवा लिन सकिने छ । यसअघि सुर्खेतसहित जुम्ला, दैलेख र सल्यानमा उक्त विधिबाट परीक्षण हुँदै आएको थियो ।
‘अहिले धेरै जसो माइक्रोस्कोप विधिबाट परीक्षण हुन्छ । ‘जीन एक्सपर्ट’ सेन्टरबाट परीक्षण भरपर्दो हुुन्छ । सरकारले पनि यसलाई प्राथमिकता दिएर सबै जिल्लामा सेवा विस्तार गर्ने नीति लिएको छ,’ क्षय÷कुष्ठ अधिकृत केसीले भने ।
क्षयरोग किटाणुबाट लाग्ने सरूवा रोग हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ । क्षयरोग नियमित रूपमा औषधिको सेवनबाट पूर्ण रूपमा निको हुन्छ । क्षयरोगका औषधिहरू स्वास्थ्य संस्थामा निःशुल्क रूपमा वितरण गरिँदै आएको छ । उपचारको किसिम र अवधि भने संक्रमित अङ्ग र रोगको प्रकृति हेरी फरक हुने चिकित्सकहरूले बताएका छन् । क्षयरोगका बिरामीलाई डट्स विधिबाट उपचार गरिन्छ । जसमा बिरामीलाई प्रत्येक दिन उपचार सहयोगीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने गरिन्छ । यसैबीच, विश्व क्षयरोग दिवस आज (बुधवार) विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।
प्रकाशित मितिः ११ चैत्र २०७७, बुधबार ०६:००
साझा बिसौनी ।