कर्णालीमा लगानी भित्र्याउने कसरत

प्रदेशको दीर्घकालीन विकासको खाका तयार पार्न परियोजना बैंक बनाई सोहीअनुसार लगानी सम्मेलन गरिनेछ।

प्रदेशको दीर्घकालीन विकासको खाका तयार पार्न परियोजना बैंक बनाई सोहीअनुसार लगानी सम्मेलन गरिनेछ।


कर्णाली प्रदेशमा लगानी भित्र्याउन कसरत थालिएको छ । प्रदेश योजना आयोगले परियोजना बैंक निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । विकासका सम्भावनाको अध्ययन गरेर परियोजना बैंक बनाउन लागिएको हो । चैत महिनाको अन्तिम सातासम्म परियोजना बैंक निर्माण गरी लगानी सम्मेलनको तयारी गर्न लागिएको छ । परियोजना बैंक निर्माण गरी प्रदेश विकास परिषद्को बैठकबाट अनुमोदन गराएपछि लगानी सम्मेलन गरिने आयोगले जनाएको छ । आयोग जतिसक्दो छिटो परियोजना बैंक बनाएर प्राथमिकता निर्धारण गर्ने तयारीमा लाागेको हो ।

‘आगामी वैशाख महिनाभित्र लगानी सम्मेलन गर्ने तयारीमा जुटेका छौं,’ प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायले भने, ‘परियोजना बैंकमा निजी लगानीलाई प्रोत्साहन गर्ने खालका योजना ल्याइनेछ ।’ कर्णाली प्रदेश सरकारले परियोजना बैंकको चर्चा गर्न थालेको करिब दुई वर्षपछि कामको गति बढाइएको हो । आर्थिक वर्ष २०७५ सालमा परियोजना बैंक निर्माण गरिसक्ने भनिए पनि कामले गति लिन सकेको थिएन । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा. शंकर शर्माको परामर्शमा आगामी चैत्र महिनाभित्र परियोजना बैंक निर्माण कार्य सम्पन्न हुन लागेको बताइएको छ । कस्ता परियोजना निर्माण गर्न निजी क्षेत्रलाई समावेश गर्ने, जनसहभागितामा कस्ता र कुन परियोजना निर्माण गर्ने तथा कस्ता योजनामा निजी क्षेत्रको लगानी एवम् वैदेशिक अनुदान लिनेलगायत विषय समेटेर परियोजना बैंक बनाउन लागिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव हिरालाल रेग्मीले परियोजना बैंकका लागि सबै मन्त्रालयहरूमा योजना माग गर्ने काम भइरहेको जनाए । योजना आयोगका सदस्य सचिव समेत रहेका रेग्मीले विज्ञहरूको परामर्शपछि परियोजना बैंकले पूर्णता पाउने बताए । उनका अनुसार अहिले कस्ता योजना राख्ने, कुन योजनालाई प्राथमिकतामा राख्ने लगायतका विषयमा छलफल भइरहेको छ ।

कर्णाली प्रदेशमा निजी लगानीको सम्भावनालाई मूल्याङ्कन गरी परियोजना बैंकमा समेट्न लागिएको आयोगका पदाधिकारीले बताएका छन् । ‘राज्यले मात्रै लगानी गरेर पूर्ण विकासको अनुभूति जनतालाई दिलाउन सकिदैन,’ आयोगका सदस्य रोकायले भने, ‘त्यसैले निजी लगानीलाई प्रोत्साहन गर्नु जरुरी छ ।’ सडक, पूर्वाधार लगायत आधारभूत आवश्यकतामा सरकारले लगानी गरे पनि अन्य क्षेत्रमा निजी लगानी भिœयाउन सकिने उनको भनाइ छ । यसका लागि परियोजना बैंक निर्माण गरी लगानी सम्मेलन गर्ने तयारी थालिएको हो । पर्यटन, उद्योग, उर्जा लगायतका योजनाहरूलाई परियोजना बैंकले प्राथमिकतामा राख्नेछ । कर्णाली प्रदेशमा उद्योग, उर्जा र पर्यटनको अत्याधिक सम्भावना भएकोले यस्ता योजनाहरूलाई प्राथमिकता दिइएको आयोगले जनाएको छ ।

हाइड्रोपावर तथा केवलकार जस्ता आयोजनाहरू कर्णालीमा सफल हुने अनुमान गरिएको छ । यिनै क्षेत्रमा निजी क्षेत्रलाई लगानीको लागि आह्वान गर्न लागिएको हो । परियोजना बैंक निर्माण पछि सोही अनुसारको बजेट बनाइने बताइएको छ । परियोजना बैंक निर्माण भएपछि आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । परियोजना बैंकमा परेको योजनालाई नै आगामी वर्षको बजेटले समेट्ने आयोगले जनाएको छ ।

कर्णालीमा मझौला तथा ठूला उद्योग छैनन् । विद्युतको प्रशस्त सम्भावना भए पनि विद्युत उत्पादन न्यून छ । प्रदेशमा प्रशस्त घुम्नलायक पर्यटकीय स्थलहरू छन् । तर पनि कर्णालीमा पर्यटकहरू भिœयाउने खालका सरकारी तथा निजी क्षेत्रसँग योजना, संयन्त्र र लगानी भएको छैन । बहुमूल्य जडिबुटीहरूको खानी कर्णालीमा जडिबुटी प्रशोधनका लागि उद्योगको सम्भावना समेत उत्तिकै रहेको छ । पशुपालन तथा फलफूलका लागि पनि कर्णाली उपयुक्त भूगोल हो । हरेक क्षेत्रमा प्रचूर सम्भावना भए पनि यहाँको गरिबी ज्युँका त्युँ छ । कर्णालीबासीको आवश्यकता एकातिर छ भने अर्कोतिर बजेट विनियोजन हुने गरेको छ । विकास बजेट खर्चलाई समेत सरकारले बढाउन नसकेको अवस्था छ । यो अवस्थामा परियोजना बैंक निर्माण गरी लगानी भिœयाउन सके कर्णालीको समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   १० चैत्र २०७७, मंगलवार ०९:०१