संकटमा खस सभ्यता

जुम्ला: संघीय राजधानी काठमाडौंबाट कर्णालीको जुम्ला पुगेका १० जनाको समूह हिमा गाउँपालिकामा रहेको काठेपुलमा रमाइरहेको थियो । उनीहरू काठेपुलमा कुँदिएका चित्रहरूको अवलोकन गरिरहेका थिए । त्यहीँ समूहमा थिए, प्राध्यापक कवि पोखरेल । खस सभ्यताको उद्गमथलोमा परम्परागत सीप झल्काउने सम्पदा देख्न पाएपछि नेपाली हुनुमा गर्वको महसुस भएको पोखरेलले बताए ।

काठेपुलको किनारमा मूर्ति निर्माणकर्ता कालो तिरुवाको नाम लेखिएको छ । प्राध्यापक पोखरेल भन्छन्, ‘जसले यो काठेपुल र काठकै मूर्तिहरू बनाए, उनीहरूले आफ्नौ मौलिक परम्परलाई जगेर्ना गर्न ठूलो योगदान दिएका छन् ।’ राज्यस्तरबाट यस्ता मौलिक सीप र शैलीको कदर हुन नसकेपनि स्थानीयको यो योगदानले सिङ्गो नेपालीको पहिचान दिने उनी बताउँछन् ।

नेपाली भाषाको उद्गमथलोमा परम्परागत सीपबाट निर्मित काठेपुल यहाँ पुग्ने पर्यटकका लागि आर्कषणको केन्द्र हो । स्थानीय धर्मेन्द्र अधिकारीकाअनुसार नाग्म–गमगढी सडकखण्ड नजिकैको यो काठेपुलमा रारा र सिंजा घुम्न आउने सबै पर्यटकले अवलोकन गर्छन् ।

जुम्लाका साना तथा मझौला नदी पार गर्न बनाइएका काठेपुलहरू केवल आवतजावतका माध्यम मात्र होइनन्, यीनले यहाँको सभ्यता, कला र संस्कृति पनि बोकेका छन् । नेपाली भाषाको जननीभूमि जुम्लाको सिंजा क्षेत्रको आफ्नै इतिहास छ । बाईसे र चौबीसे राज्यको पालामा जुम्लाको खस राज्य शक्तिशाली राज्यका रूपमा भएको इतिहासमा पनि उल्लेख भएको पाइन्छ ।
नेपाली खस भाषा र सभ्यताको उद्गमथलो सिंजा क्षेत्र ऐतिहासिक दृष्टिले सम्भावनायुक्त क्षेत्र हो । रारा जाने पर्यटकका लागि छुटाउनै नहुने गन्तव्य पनि हो, सिंजा सभ्यता । तर, सरकारको उदासिनताका कारण सिंजा सभ्यता संकटमा पर्दै गएको छ । यहाँका शिलालेख, ऐतिहासिक स्थलहरू, पाण्डव गुफा, विराट दरबार, कनकासुन्दरी मन्दिर लगायत ढुङ्गाले कुँदिएका विभिन्न आकृतिहरूले पर्यटकको मन लोभ्याउँछन् ।

पाण्डव गुफाभित्र पाँच भाइ पाण्डव र द्रौपदीका मूर्ति छन् । पाण्डवले गुफाबाहिर बनाएको ढुङ्गाको ढोका भने अहिले भत्किएको स्थानीय लिलाराज सञ्ज्यालले बताए । पछिल्लो समय खस भाषा, यहाँका कला, सीप र परम्परागत पहिरनहरू लोप हुँदै छन् भने अर्कोतिर ऐतिहासिक मठ मन्दिर, ढुङ्गाका देवलहरू पनि जीर्ण बन्दै गएका हुन् । इतिहासमा उल्लेख भएअनुसार खस राजा नागराज र उनका उत्तराधिकारीले सिंजा नगरमा करिब तीन सय वर्षसम्म शासन गरेका थिए । त्यस अवधिमा सिंजा क्षेत्र राजधानी मात्र होइन एक चर्चित सभ्यताका रूपमा विकास भएको इतिहास छ ।

कर्णाली प्रदेश राजधानी सुर्खेतदेखि सिंजा हुँदै मुगुको रारातालसम्म सडक जोडिएपछि पछिल्ला वर्षमा पर्यटकहरूको आगमन पनि बाक्लिएको स्थानीय हरिकृष्ण भट्टले बताए । चहलपहल बढेसँगै सडक आसपासका बासीन्दाको आम्दानीको बाटो पनि खुलेको छ । यहाँका व्यापार व्यवसाय चल्न थालेका छन् ।

कर्णालीका सम्भावनालाई कुल्चेर सधैँ पिछडिएको दृष्टिले हेर्नु राज्यको कमजोरी भएको स्थानीयहरू बताउँछन् । सिंजा गाउँपालिकाले अहिले खस संग्राहलय निर्माण गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलकाअनुसार सिंजा क्षेत्रको इतिहासलाई संरक्षण गर्न संग्राहलयको स्थापना गर्न लागिएको हो ।

प्रकाशित मितिः   १० चैत्र २०७७, मंगलवार ०८:५६