सुर्खेतका जिल्ला शिक्षा अधिकारीलाइ पत्र
आदरणीय जीतबहादुर शाहज्यू
जिशिअ, जिल्ला शिक्षा कार्यालय सुर्खेत ।
आधारभूत तहमा करिब ९८ प्रतिशतभन्दा बढी खुद भर्नादर भएको र ९५ प्रतिशत भन्दा बढी साक्षरता प्रतिशत रहेको तथा एउटा विश्वविद्यालय र करिब एक दर्जन क्याम्पस भएको सुर्खेत जिल्लाको शैक्षिक अवसर यो पुस्ताको महत्वपूर्ण प्राप्ति हो भन्ने लाग्छ मलाई ।
आजभोली सुर्खेत जिल्लाकै १४ वटा श्रोतकेन्द्रहरुको नियमित मासिक प्रअ बैठकमा उपस्थित भई भ्याइ नभ्याइ सहभागिता जनाई आफ्ना अनुभव सेयर गर्दे श्रीमान् जिल्ला शिक्षा अधिकारीज्यू दौडधूपमा मात्रै हैन मेडियमा समेत आइरहनुभको छ । खुशी लागेको छ । बधाइ तथा शुभकामना छ हजुरलाई ।
तुलनात्मक रुपमा यस भन्दा पहिलाका जिशिअभन्दा हजुरसंग विलक्षण प्रतिभा र जोश तथा परिवर्तनको अपेक्षा पनि छ । सुर्खेत जिल्लाले हजुरबट केही भएपनि शैक्षिक रुपान्तरणको अपेक्षा गरेको छ ।
जिल्ला शिक्षा अधिकारीलाई हेप्ने देखि पुज्नेसम्मका संवेदनाहरु उपत्यकाभित्रबाटै आएका दृष्टान्तहरु सुर्खेत जिल्लाका इतिहास हुन् । मैले पनि यस जिल्लाको परिवर्तनका केही एजेण्डालाई अघि बढाएको थिएँ । पूरा गर्न नपाउँदै मेरो के लाग्थ्यो र यो कृपावादी कर्मचारीतन्त्रमा ।
जिशिअज्यू,
सुर्खेत जिल्लाको शैक्षिक गुणस्तर उठानको शुरुवात वीरेन्द्रनगर उपत्यकाबाट नखोजी बाहिर बाहिर दगुर्नु व्यर्थ नै छ । एक दुइ जनाले परिवर्तन चाहेमा सुर्खेतको शैक्षिक अवस्था सुध्रिन्छ भन्ने मलाई लाग्दैन । सिंगो सुर्खेती शैक्षिक सरोकारवालाको प्रवृतिमानै सकारात्मक परिवर्तन ल्याउने मनोसामाजिक परामर्श र प्रतिबद्धतासहितको शैक्षिक परिवर्तनको अभियान हजुरबाट शुरु होस कामना छ सर जसमा म सुर्खेतवासी भएकै हैसियतले आफ्नो ठाउँबाट दिन रात सहयोग गर्न तत्पर पनि छु । अन्यथा मलाइ याद छ र कल्पना पनि गर्दछु २०७२ जेष्ठ २५ गतेको दिन मनाएको शैक्षिक मेला र जनताले गरेको रमाइलो कार्यक्रमजस्तो बाहेक केही हुनेछैन ।
धन्यवाद ।
धीरेन्द्रप्रसाद शर्मा
विद्यालय निरिक्षक, जिल्ला शिक्षा कार्यालय सुर्खेत
(शर्माको फेसबुकबाट साभार)
प्रकाशित मितिः १३ मंसिर २०७३, सोमबार १४:१२
साझा बिसौनी ।