लोकसङ्गीतका अथक योद्धा
झट्ट हेर्दा चङ्गेज खानजस्तो हुलियामा कुदाकुद गरिरहने प्रेमदेव गिरीको दैनिकी फट्यांग्राको वेग जत्तिकै छ । अघिल्लो दिन बेलुका उनी सुर्खेतमा थिए, भोलिपल्ट काठमाडौं भेटिए । फेरि अर्को दिन छोटो बातचित सिध्याएर साँझमा उनी नेपालगन्जका लागि बस चढ्ने हतारोमा थिए ।
राजधानीमा यो शनिबार सम्पन्न लोकसंगीत फिल्म फेस्टिबलमा प्रेमदेवले निर्देशन गरेको एउटा छोटोमीठो फिल्म प्रदर्शनमा आयो– ‘द ज्वेल इन द कोब्राज हेड ।’ सुर्खेतकै एउटा ११ वर्षे बालकलाई माओवादीले अपहरण शैलीमा लिएर गएको र लगातार बाँसुरी बजाउन लगाएको अनौठो कथामा प्रतीकात्मक ढंगले बनाइएको फिल्म फेस्टिभलमा नेपाली प्रतिस्पर्धीतर्फ उत्कृष्ट ठहरिएपछि शनिबार फेरि प्रेमदेवको खोजी भयो । फिल्मका मुख्य पात्र बाँसुरी वादक रत्नबहादुर विश्वकर्मा फेस्टिभलमा देखिए पनि निर्देशक प्रेमदेव भने बेपत्तै रहे । ‘यता कामको धपेडी छ, मादलमा खरी थप्दै छु,’ सुर्खेतबाटै बधाई स्विकार्दै प्रेमदेवले सुनाए, ‘आफ्नो निर्देशकीय कामले चिनारी पाएकोमा म औधि खुसी छु ।’
६४ वर्षीय प्रेमदेव गिरी मोफसलवासी संस्कृतिप्रेमी हुन, भेरी कर्णाली क्षेत्रका लोकभाका संकलक हुन् । र, योभन्दा बढी चिनिएका प्रखर मादल वादक हुन् । ‘धेरैले चिन्नु चिनाउनुपर्दा अझै मादले भन्छन,’ प्रेमदेव आफैं स्विकार्छन् । संगीत भनेको जीवनपर्यन्त हुनुपर्छ भन्ने मान्यतामा चल्ने प्रेमदेवलाई उनका पिताले दिएको मादल (खेलौना) उपहार उनको जिन्दगीकै अमूल्य निधि बन्यो । यही मादलले उनलाई विशिष्ट चिनारी दिलायो । विशेषता हरेक दसैं चाडका बेलामा गाउँले स्कुलमा लाग्ने नाटक र नाचगानमा तानिएर सांस्कृतिक दुनियाँमा छिरेका उनी बाजागाजाको रोजाइमा भने मादल बाजातिर लागेका रहेछन् ।
‘उमेरमा १२÷१४ वर्षको छँदै मादल समाउन थालेको हुँ, यसरी मादल बजाएरै जीवनको ५० वर्ष बितेको छ,’ उनले सम्झे, ‘पाएको भए अरू बाजा पनि बजाइन्थ्यो होला । तर, गाउँमा डम्फु, खैंजडी, मादल मात्रै थियो । हार्मोनियम वा तबला त अलिक सोखिनकहाँ मात्रै देख्न पाइन्थ्यो ।’ पछि २०२९ सालमा अञ्चलस्तरीय प्रतियोगिताको नृत्य र वादनमा प्रथम भएर काठमाडौं आएपछि प्रेमदेवले राष्ट्रिय नाचघरमै जागिर पाए र, लगातार २०४१ सालसम्म राजधानीमैं अडकिए । नाचघरमा वाद्यवादकको जागिर भनिए पनि नाटक खेल्ने, बाजा बजाउने वा नाचगानमा जाने सबैजसो काम गर्नैपथ्र्यो । त्यसपछिका केही वर्ष उनले रेडियो नेपालमा पनि वाद्यवादकका रूपमा काम गरेका थिए ।
‘तर मादलसहितका लोकबाजालाई अहिलेसम्मै मनोरञ्जन र आत्मरतीको साधन मात्रै मान्ने गरिएको छ,’ उनी भन्छन्, ‘लोकबाजाहरू छामेरै पत्तो लगाउने साधन भएका छन् । यही मादलको बोल, लय अथवा सिद्धान्त बारेमा कहींकतै अध्ययन भएकै छैन । तैपनि मादललाई आज सिंगो राष्ट्रले अपनाएको छ, राष्ट्रिय बाजासरह । यो खुसीको कुरा हो ।’ मादल बजाउने सोख र पेसाका अतिरिक्त प्रेमदेवले २०३१ सालयता लोकभाकासमेत संकलन गर्न थालेका थिए । अहिलेसम्म राप्तीरभेरी किनारका १ सयभन्दा बढी गीत उनले संकलन गरेका छन् । उनका लोकभाकामा पुराना गायकहरू कुमार बस्नेत, गणेश रसिक, हिरण्य भोजपुरे, कविता आलेसहितले स्वर भरेका छन् ।
धेरै स्रष्टा र कलाकारजस्तो प्रेमदेवलाई ‘मोफसलको आयतन’ ले काम गर्नमा साँगुरो महसुस गराएको छैन । ‘मलाई काठमाडौं फर्केर केही गर्न पाएको भए हुन्थ्यो भन्ने कहिल्यै भएन । मादल बजाउने हो, लोकभाका संकलन गर्ने हो, यो काम त काठमाडौभन्दा बढी सुर्खेतमा बसेर भएको छ,’ उनी भन्छन, ‘म धुरीमा चढेर गाउनेरबजाउने होइन, मादल ठोक्नलाई खुला चौर जहाँ पनि छ ।’
प्रेमदेव आफूलाई ‘सांस्कृतिक सूत्रधार’ भन्न रुचाउँछन् । न कलाकार, न कुनै पदीय हैसियत– लोकभाकाको हुलाकीजस्तै प्रेमदेव गिरी । प्रेमदेवले कवि संगीतस्रोताले लेखेको ‘लैजा चरी समाचार…’ मा पनि आफ्नै निर्देशन र प्रस्तुतिमा बेजोडको श्रव्यदृश्य उतारेका छन् । ‘मैले आजसम्म के कमाएँभन्दा ‘जन’ कमाएछु । आज मलाई चिन्नेहरू छन् । मसँग धनको कुरा नगरौं, मैले जन मात्रै कमाएँ । धन कमाउँदा मलाई मात्रै हुन्थ्यो, जन कमाउँदा सबैलाई भएको छ,’ प्रेमदेवको धारणा छ, ‘धन कमाउने कुरा भनेको धनको लालसा हुनेलाई मात्रै हो । म सधैं नांगो छु, अब टाई सुटको अपेक्षा छैन ।’
लोकभाका संकलन गर्ने र त्यसमा प्राण भर्ने हुटहुटीमा प्रेमदेव देशका सबै जिल्ला घुमेका छन् । भेरी कर्णालीका जिल्लाहरू त कतिपटक पुगेका छन् भनेर हिसाब गर्नै पनि मुस्किल छ । कमजोर र पातलो देख्ने शारीरिक हुलियामा प्रेमदेवले मादल बजाएको (ठोकेको) छनक देख्ने हो भने यिनको ‘जादुगरी’ अनुभूत गर्न सकिन्छ । घरपरिवार, आफन्त वा आफ्नै ज्यानभन्दा बढी प्रेम मादलमा जोडिएको अनौठो अनुभूति सुनाउँदै प्रेमदेव जिन्दगीका बारेमा पनि अनौठो व्याख्या सुनाउँछन, ‘जिन्दगी ? जटिल भनौं भने चारैतिर ऐना छ, सहज भनौं भने आफ्नै अनुहारजस्तै छ ।’
इकान्तिपुरबाट
प्रकाशित मितिः १३ मंसिर २०७३, सोमबार १२:२२
साझा बिसौनी ।