नकआउट चरणका खेल हुने

जिल्ला लिग फुटबल अन्तर्गतको नकआउट चरणका खेलहरू चैत २१ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुने भएका छन् । प्रतियोगितामा सहभागी हुने टोलीले यही चैत १४ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने जिल्ला फुटबल संघ सुर्खेतले जनाएको छ ।

प्रतियोगितामा सहभागिताको लागि पाँच हजार एकसय रूपैयाँ टिम दर्ता शुल्क निर्धारण गरिएको छ । प्रतियोगितामा सहभागी हुने टोलीको अनिवार्य स्थायी लेखा नम्बर प्यान र जीवन बिमा गरेकालाई मात्र अनुबन्ध गरिने संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए । नकआउट चरणको अन्तिम ६ मा पुगेका टोलीलाई जिल्ला लिगको लागि छनोट गरिने संघले बताएको छ । यस्तै दोस्रो चरणको लिगमा यो वर्ष छनोट भएका र गत वर्ष जिल्ला लिगमा अंक तालिकामा शीर्ष स्थानमा रहेका ६ टोलीसँग प्रतिस्पर्धा गराईनेछ ।

यसैबीच फागुनमा भएको मेयरकप प्रतियोगिताको फाइनलमा खेलको नियम, मर्यादा र खेलाडीको अनुशासन विपरीत काम गरेको भन्दै वडा नम्बर चारका गोलकिपर मानसिंह गुरुङलाई कारवाही गरिएको छ । अनुशासन समितिको सिफारिसको आधारमा गुरुङलाई संघको वर्तमान कार्यसमितिको कार्यकाल अवधिभर हुने फुटबलको कुनै पनि गतिविधिमा संलग्नता नहुने गरी प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित मितिः   ९ चैत्र २०७७, सोमबार ०९:२२