एमडी सुरु, एमबीबीएस अनिश्चित

जुम्लामा चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह (एमडी) को अध्ययन सुरू गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यही चैत १ गतेदेखि एमडी पठनपाठन थालिएको हो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाका अनुसार चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानमा स्नातकोत्तर तहका लागि पाँच वटा कोटा उपलब्ध गराएको छ । जनरल प्राक्टिस इमरजेन्सी मेडिसिनमा तीन जना र एनेस्थेसिया क्रिटिकल केयर तथा मेड्रियाट्रिकमा एक÷एक जनाको कोटा दिइएको हो । पाँचवटै कोटामा नेपाल सरकारले छात्रवृत्ति दिएको छ । अहिले तीन जना विद्यार्थी जुम्लामा पुगेर अध्ययन थालिसकेका छन् । दुईजना विद्यार्थी आउने क्रममा रहेका शिक्षाध्यक्ष थापाले बताए ।

जुम्लामा डाक्टरी शिक्षाको अध्ययन सुरु भएपछि कर्णालीको स्वास्थ्य अवस्था थप सुधार हुने अपेक्षा गरिएको छ । अब कर्णालीका विद्यार्थीले डाक्टर पढ्नका लागि बाहिर जानुपर्ने बाध्यता विस्तारै हट्दै जाने भएको छ । कर्णालीमा उत्पादित चिकित्सा जनशक्तिले यहाँको स्वास्थ्यस्तर सुधार्नमा टेवा पु¥याउने विश्वास लिइएको छ ।

२०६८ सालमा स्थापना भएको प्रतिष्ठानले पछिल्लो समय कर्णालीको स्वास्थ्य अवस्थामा निकै सुधार ल्याएको छ । सामान्य उपचार नपाएर ज्यान गुमाउनुपर्ने कर्णालीवासीको बाध्यता पनि टरेको छ । २०२० सालमा स्थापना भएको जुम्ला जिल्ला अस्पतालको जगमा अहिले सुविधा सम्पन्न प्रतिष्ठान स्थापना भएको छ । कुनै समय सहायक स्तरका स्वास्थ्यकर्मीले धानेको अस्पताल अहिले शिक्षण अस्पतालको रूपमा स्तरोन्नति भएको हो । जहाँ हाल ७५ जनाभन्दा बढी विशेषज्ञ चिकित्सक कार्यरत छन् ।

यसैबीच, प्रतिष्ठानमा एमबीबीएसको अध्ययन भने अनिश्चित बनेको छ । नयाँ शैक्षिक सत्रदेखि एमबीबीएसको अध्ययन सुरू गर्ने तयारी गरे पनि चिकित्सा शिक्षा आयोगले अनुगमन नगर्दा पढाइ अनिश्चित भएको हो । पछिल्लो पटक असोजमा १९औं सत्याग्रह बसेका डा. गोविन्द केसीसँग सरकारले ६ महिनाभित्र प्रतिष्ठानमा एमबीबीएस अध्ययनको लागि सम्पूर्ण तयारी पूरा गरी विद्यार्थी भर्ना लिने सम्झौता गरेको थियो ।

‘हामीले सम्पूर्ण तयारी पूरा गरिसक्यौं, तर आयोगले अनुगमन नै गरेको छैन,’ प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भने । यसले गर्दा समयमै एमबीबीएसको पढाइ सुरु गर्न नसकिएको उनले बताए ।

प्रतिष्ठानको २०७४ सालमा बसेको पाँचौ सिनेटले एमबीबीएस कार्यक्रम सञ्चालनको लागि सैद्धान्तिक निर्णय गरेको थियो । २०७५ र २०७६ सालमा बसेका सिनेटले पनि सोही निर्णयलाई निरन्तरता दिएका छन् । रजिष्ट्रार काफ्लेका अनुसार यसबीच पर्याप्त पूर्वाधार निर्माण गरिनुका साथै जनशक्ति व्यवस्थापन पनि गरिएको छ । प्रतिष्ठानले २०७६ साउनमा एमबीबीएसको पाठ्यक्रमसमेत तयार पारिसकेको छ ।

प्रकाशित मितिः   ८ चैत्र २०७७, आईतवार ०६:००