‘पत्रिका बाजे’को पत्रकारिता
व्यक्तित्व
२०४७ सालअघि सुर्खेतमा पत्रपत्रिका प्रकाशित हुन्थेनन् । उसबेला काठमाडौंमै पनि कमै पत्रिका निस्कन्थे । तीमध्ये केही संख्यामा पत्रिका सुर्खेत आउथे । देशमा भर्खर बहुदल आएको थियो, उस्तो पत्रिकाका पाठक थिएनन् । केही जागिरे मान्छे र शिक्षितहरूले मात्र पत्रिका पढ्ने चलन थियो । सर्वसाधारणका लागि पत्रिका देख्नै मुस्किल हुन्थ्यो । पत्रपत्रिका पढ्नुपर्छ भन्ने चेतना समेत सबैमा आइसकेको थिएन । यसैबेला खडानन्द कँडेलले काठमाडौंबाट प्रकाशित हुने मातृभूमि र देशान्तर पत्रिका मगाएर वितरण गर्न सुरू गरे । ‘पत्रिका हप्तामा एक पटक जहाजमार्फत आउँथ्यो । त्यसबेलामा सुर्खेतबाट बालाराम शर्माले मातृभूमिका लागि समाचार पठाउँथे,’ कँडेलले भने । पाका पत्रकार शर्मा पछि प्रेस स्वतन्त्र सेनानीबाट सम्मानित भए ।
कँडेलले १९ वर्षसम्म निरन्तर पत्रिका वितरण गरे । यति लामो समय जनतालाई सुसूचित गरेवापत उनले पत्रिकाका ग्राहकबाट निकै माया पाए । र, ग्राहकले उनको नामै राखिदिए ‘पत्रिका बाजे’ । कँडेल झोलामा पत्रिका बोकेर वितरण गर्न गाउँगाउँ पुग्थे । उनका मुख्य गाह्रक हुन्थे, शिक्षक र राजनीतिमा लागेकाहरू । एउटा पत्रिकालाई पाँच रूपैयाँ पथ्र्यो । त्यसमा उनलाई प्रति पत्रिका २५ पैसा कमिसन आउँथ्यो । ‘थोरै संख्यामा पत्रिका पाइने हुँदा सबै ग्राहकलाई पत्रिका पु¥याउन निकै गाह्रो थियो,’ कँडेल भन्छन्, ‘त्यसबेला पाठकले पत्रिका मगाए पनि पाउने अवस्था थिएन, पत्रिका मैले नै निकै कम संख्यामा पाउँथे ।
सीमित पत्रिका आउने हुँदा कँडेलले एउटै पत्रिका तीन दिनको फरकमा फरक–फरक ग्राहकलाई समेत वितरण गर्थे । वीरेन्द्रनगर मात्र होइन उनले मेहेलकुना, छिन्चु, गुुमीलगायतका गाउँमा हिँडेरै पत्रिका वितरण गरे । त्यसबेला कँडेलले दैलेख र जुम्लासम्म पनि पत्रिका पठाए । आफू जान नसक्ने ठाउँमा उनले हुलाकबाट पत्रिका पठाउँथे । कँडेल भन्छन्, ‘मलाई उसबेला सबैले पत्रकार बाजे भनेर बोलाउँथे । खुबै माया गर्थे ।’ अहिले पनि उनी पत्रिका बाजेकै रूपमा परिचित छन् । उसो त कँडेलले कुनै बेला आफ्नो नाम ‘श्रमजीवि पत्रिका बाजे’ राखेका थिए ।
कँडेल वि.सं. २०२२ सालमा कमाइका लागि भारतको सिम्ला हाानिए । भारतमा झण्डै पाँच वर्ष बिताए । ‘भान्साको काम गर्थे । मैले काम गर्ने ठाउँमा प्रतिष्ठित व्यक्ति थिए । त्यहाँ काम गर्दा व्यवस्थाका बारेमा जान्ने बुझ्ने अवसर पाए,’ कँडेलले विगत सुनाए । सिम्ला जस्तो पहाडी भूगोलमा रेल कुदेको देख्दा उनलाई लागेको थियो के नेपालमा पनि रेल कुदाउन सकिएला ? कँडलेले भारतको जस्तो विकास नेपालमा पनि सम्भव हुने देखे । तर, त्यसका लागि उहीले व्यवस्था परिवर्तन हुनुपर्ने निश्कर्षमा उनी पुगे । व्यवस्था परिवर्तन भएपछि नेपालमा पनि त्यहाँको जस्तै विकास गर्न सकिन्छ भन्ने उनमा लाग्यो । नेपालमा पनि बहुदलबारे बसह सुरू भएका थिए ।
वि.सं. २०३६ सालमा जनमत संग्रह भयो । उनी त्यसअघि नै नेपाल फर्किसकेका थिए । उनले टोल–टोलमा पुगेर बहुदलबारे जनतालाई बुझाउन थाले । ४० घर रहेको टोलमा उनले २१ जनालाई बहुदलको पक्षमा मत खसाल्न लगाए । त्यति गर्दा पनि उनको प्रयास भने सफल भएन । बहुदलको पक्षमा नतिजा आएन ।
वि.सं. २०४७ सालमा बहुदल आएपछि पत्रपत्रिका निस्कन थाले । ‘त्यसपछि मैले जनतासम्म पत्रिका पु¥याएर सुसूचित गर्ने काम गरे,’ कँडेलले भने । जनताले पत्रिका पढे भने धेरै कुरा थाहा पाउँछन् भन्ने लाग्यो उनलाई । मुलुकमा के व्यवस्था छ ? शासकहरू कस्ता छन् ? विकास के हो ? लगायतबारे थाहा पाउन पत्रिका र रेडियोबाहेकका अरू माध्यम उसबेला थिएनन् पनि । कँडेलले भने, ‘जनताको चेतना बढ्छ भनेर मैले पत्रिका वितरण गर्ने योजना बनाए । त्यो प्रेरणा मैले भारतमा काम गर्दादेखि नै पाएको थिएँ ।’
२०४९ सालमा सुर्खेतकै भानुभक्त भारती सम्पादक, कुमार ढकाल प्रकाशक र कँडेल समाचार संकलक तथा वितरक भएर अधिकार साप्ताहिक नामको पत्रिका सञ्चालनमा ल्याए । सुर्खेतमा त्यसअघि बुलबुले साप्ताहिक पत्रिका प्रकाशित हुन्थ्यो । उतिबेलाका पत्रिका सरकारी मुखपत्रजस्तै हुन्थे । सरकारका बारेमा मात्रै समाचार छापिन्थे । तीनै पत्रिका गाउँमा लिएर वितरण गर्ने र गाउँका समाचार ल्याउने काम थियो, कँडेलको । वि.सं. २०४९ सालदेखि उनले कान्तिपुर दैनिक पत्रिका बाँड्न थाले । उनले त्यसबेला कान्तिपुर पाँच वटा मात्र पाउँथे । कान्तिपुर बोकेर पनि उनी लामो समय गाउँ–गाउँमा वितरण गर्न पुगे ।
२०४९ सालमा सुर्खेतमा नेपाल पत्रकार महासंघको शाखा स्थापना भयो । कँडेल शाखाको संस्थापक सदस्य भए । चिरञ्जीवि अर्यालको अध्यक्षतामा गठित महासंघमा पीताम्बर ढकाल, भानुभक्त भारती र उनी थिए । कँडेल नेपाल पत्रकार महासंघको थुप्रै पटक केन्द्रीय पार्षद् चुनिए ।
कँडेलले पत्रिका वितरण गरेवापत पक्राउ हुनुप¥यो । वितरण गरेकै कारण दुई पटकसम्म जिल्ला प्रशासन कार्यालयले उनलाई पक्राउ गरेर अनुुसन्धान ग¥यो । अधिकार साप्ताहिक पत्रिका लामो समय प्रकाशन हुन सकेन । आर्थिक अवस्था र सरकारी नीतिका कारण पत्रिका चलाउनु उतिबेला निकै कठिन थियो । जब कि अहिले पनि पत्रपत्रिका नियमित प्रकाशित गर्नु त्यति सहज छैन ।
त्यसपछि पुनः बालाराम शर्मा सम्पादक रहेको जनअधिकार पत्रिका प्रकाशन गर्न थालियो । त्यसमा पनि कँडेलले समाचार संकलन र वितरणको जिम्मेवारी लिए । उक्त पत्रिका पनि एक वर्ष मात्रै प्रकाशित भयो । त्यसपछि वि.सं. २०५४ सालदेखि जनआस्था साप्ताहिक र बुधवारमा कँडेलले सुर्खेतबाट समाचार पठाउन थाले । ‘पैसा भने खासै हुन्थेन् । काठमाडौं आउँदा जाँदाको खर्च पाउँथे,’ उनले भने, ‘अरु पत्रिका बिक्री गरेको कमिशन भने राम्रै हुन्थ्यो ।’
कँडेलहरूले पत्रिका प्रकाशन गर्दा अहिलेको जस्तो विज्ञापन बजार थिएन । समाचार लेखेर हुुलाकबाट पठाउनुुपर्ने बाध्यता थिए । पठाएको एक हप्तापछि मात्रै समाचार पत्रिका छापिन्थ्यो । २०६७ सालसम्म उनको सञ्चार कर्म निरन्तर चल्यो । त्यसबेलासम्म ‘पत्रिका बाजे’को झोलामा समाचार लेखेका कपी र पत्रिका कहिल्यै छुटेनन् । विस्तारै शारीरिक अवस्थाले बुढ्यौलीको संकेत दियो । उनी पहिले जसरी हिँड्डूल गर्न नसक्ने भए । ‘अनि मैले सक्रिय पत्रकारिता छोडे,’ कँडेलले भने ।
अहिले पनि बिहान उठ्न बित्तिकै उनको नजर पत्रपत्रिकामै जान्छ । पत्रिका पढेपछि मात्र उनको दैनिकी सुरू हुन्छ । कँडेल भन्छन्, ‘बुढेसकालले छुँदै गएपछि अब आराम गर्नुपर्छ भनेर पत्रकारिताबाट विश्राम लिए । पत्रिकासँगको प्रेम भने छुटेको छैन । बिहानै पत्रिका नपढी मनै मान्दैन ।’
पहिले र अहिलेको पत्रकारितामा आकाश पाताल फरक देख्छन् उनी । आज प्रविधिको विकास भएको छ । उसबेला जस्तो पत्रकारितामा संघर्ष गर्नु पर्दैन । पत्रकारलाई प्रविधिले काम गर्न सजिलो बनाइदिएको छ । पत्रकारिता क्षेत्रको विकाससँगै पछिल्लो समय विकृति पनि भित्रिएको कँडेल बताउँछन् । उनले पत्रकार र सञ्चार गृहले थुप्रै पक्षमा सुुधार गर्नुपर्ने सुझाए ।
‘हामीले हातले लेखेर पत्रकारिता गरेका थियौं । मेशिनमा अक्षर थिचेर पत्रिका प्रकाशित गर्ने समय थियो । अहिले धेरै परिवर्तन भएको छ । सञ्चार गृहहरू प्रविधिमैत्री छन् । सत्य, तथ्य र निष्पक्षमा आधारित भएर समाचार लेख्नुुहोस् । पत्रकारिताको मर्यादा जोगाउनुहोस्,’ अहिलेका पत्रकारलाई कँडेलको सुझाव छ ।
प्रकाशित मितिः ७ चैत्र २०७७, शनिबार ०६:००
साझा बिसौनी ।