जुम्लामा सामूहिक स्याउ बगैँचा

१९ हेक्टर जमिनमा साढे चार हजार स्याउका बिरूवा रोपियो

१९ हेक्टर जमिनमा साढे चार हजार स्याउका बिरूवा रोपियो


जुम्ला: जुम्लाका कृषकहरू सामूहिक स्याउ खेतीमा आकर्षित भएका छन् । परम्परागत खेती प्रणालीले उत्पादन राम्रो नभएपछि कृषकहरूले सामूहिक लगानीमा स्याउ खेती गर्न थालेका हुन् । जुम्लाको तातोपानी गाउँपालिका–६ हिँयाखोलाका कृषकहरू मिलेर नमुना स्याउ बगैँचा बनाउन जुटेका छन् । यहाँ एक लाख ९० हजार वर्गमिटर (१९ हेक्टर) क्षेत्रफलमा साढे चार हजार स्याउका बिरुवा रोपिएको छ ।

पहिले उक्त जमिनमा गहुँ र जौं लगाउने गरिएको थियो । परम्परागत खेतीले आम्दानी नभएपछि अहिले स्थानीयले त्यहाँ सामूहिक स्याउ खेती गरेका हुन् । स्थानीय जौंकली खड्काले सामूहिक रूपमा स्याउ खेती सुरू गरिएको बताइन् । समूहमा मिलेर खेती गर्दा लगानी र संरक्षणमा सहज हुने उनले जनाइन् । हिँयाखोलामा रोजगारीका अवसर समेत छैनन् । बरोजगार युवाहरूलाई समेत रोजगारी सिर्जना गर्नेगरी सामूहिक कृषिमा आफूहरू जुटेको खड्का बताउँछिन् ।

स्थानीय हर्कबहादुर कामीका अनुसार हिँयाखोला गाउँ शैक्षिक र आर्थिक हिसाबले पनि निकै पछाडि छ । ‘गाउँमा एक जना पनि निजामती कर्मचारी छैनन्,’ उनले भने, ‘सबै बेरोजगार छन् । कमाउने कुनै स्रोत छैन । अब यो बगैँचाले सिङ्गो गाउँको जीवनस्तर उकास्ने अपेक्षा गरेका छौं ।’ उनले अहिले गाउँका अधिकांश युवाहरू मजदुरीका लागि भारत जाने गरेको बताए ।

मालिका स्याउ उत्पादन समूहका अध्यक्ष जनक खड्काले कृषकहरूले स्याउ खेतीबाटै आत्मनिर्भर बन्ने योजना बनाएको सुनाए । ठूलो क्षेत्रफलमा फैलिएको हिँयाखोलामा समुदायस्तरबाटै नमुना स्याउ बगैँचा बनाउने स्थानीयको प्रयासलाई स्याउ सुपरजोन जुम्ला र तातोपानी गाउँपालिकाले सघाएका छन् । स्याउ सुपरजोनले बिरुवामा ५० प्रतिशत अनुदान दिएको छ भने घेरबारका लागि २० लाख उपलब्ध गराउँदै छ ।

यस्तै, तातोपानी गाउँपालिकाले घेराबार र बिरुवा संरक्षणका लागि पाँच लाख रूपैयाँ बजेट दिने घोषणा गरेको छ । दुई किलो मिटर गोलाइ क्षेत्रमा घेराबारका लागि ३९ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई स्याउ सुपरजोन जुम्लाका प्रमुख नवराज भण्डारीले बताए । उनका अनुसार बाँकी रकम जुटाउने तयारी पनि भइरहेको छ । नेपालमा समुदायस्तरबाट यति ठूलो क्षेत्रफल र लगानीमा स्थानीय जातको स्याउ बगैँचा कतै पनि नभएको उनले बताए । भण्डारीले यो देशकै नमुना बगैंचा बन्नेमा आफू विश्वस्त रहेको जनाए । राजमार्गको नजिकैमा बन्दै गरेको स्याउ बगैँचा पर्यटकीय दृष्टिले समेत उत्तम हुने स्थानीयको भनाइ छ ।

प्रकाशित मितिः   ८ चैत्र २०७७, आईतवार ०६:००