‘अब देश कांग्रेसले सम्हाल्छ’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अब नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने बताएका छन् । कांग्रेसले सरकारको नेतृत्व गर्दै निष्पक्ष चुनाव गराउने नेता थापाले बताए । नेपाल मगर संघ कर्णाली प्रदेशको कार्यक्रममा प्रशिक्षकका रूपमा सुर्खेतको वीरेन्द्रनगर आएका नेता थापाले कांग्रेसकै नेतृत्वको सरकारले भयरहित वातावरणमा चुनाव गराउने दाबी गरे । ‘अब देश कांग्रेसले सम्हाल्नुपर्ने छ । परिवर्तित परिस्थितिमा कांग्रेसले सरकारको नेतृत्व गर्छ,’ उनले भने ।
नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गर्दै नेता थापाले कांग्रेसहरूबीच एकता हुन जरुरी रहेको औंल्याए । ‘हामीले आफूलाई सच्याउने बेला भएको छ, महाधिवेशन पनि नजिकै आएको छ । यस्तो बेलामा हामी सबै सच्चिएर जानुपर्छ, तिक्तता कसैले पनि नबढाऔं,’ नेता थापाले भने । आगामी चुनावमा जाँदा नेपाली कांग्रेसले समृद्ध नागरिकसहितको समृद्धिको संकल्प गरेर जनतामाझ जाने जनाए ।
‘हामी चुनावमा जाँदा कम्युनिष्टको जस्तो खोक्रो समृद्धिको सपना देखाउँदैनौं, हामी नेपालमै युवाहरूको रोजगारीको ग्यारेण्टी गर्नेगरी समृद्धिको एजेण्डा लिएर जान्छौं,’ थापाले भने । उनले तत्कालीन नेकपा विभाजन र विघटनको सन्दर्भमा बोल्दै प्रधामन्त्री केपी शर्मा ओलीको अहंकारले पार्टीमा विभाजन आएको बताए । ओलीले गरेको असंवैधानिक कदमका कारण बहुमत पाएको नेकपा एक ठाउँमा रहन नपाएको उनको भनाइ थियो ।
नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिसक्दा पनि ओलीले अहंकार देखाउन नछोडेको उनले बताए । ‘प्रधानमन्त्री ओलीले आफ्नो अहंकारका कारण संसद् विघटन गरे, अदालतले न्याय ग¥यो,’ थापाले भने, ‘तर प्रधानमन्त्रीले राजीनामा दिएनन्, उनलाई अझै दम्भ छ कि मैले विघटन गरेको संसद् सर्वोच्चले पुनस्र्थापना ग¥यो ।’ ओली अब यो संसद्लाई काम नलाग्ने गराउनतर्फ लागेको नेता थापाको आरोप छ । सरकारका तर्फबाट संसद्लाई दिनुपर्ने विजनेस नदिएर प्रतिनिधिसभालाई काम गर्न सकेन भन्ने पार्ने योजनामा ओली रहेको थापाले बताए ।
प्रकाशित मितिः ८ चैत्र २०७७, आईतवार ०६:००
साझा बिसौनी ।