सुआहाराको पहिलोचरण सकियो

साझा बिसौनी संवाददाता
सुर्खेत, ३ चैत ।
सुर्खेतमा पोषण कार्यक्रम सुआहाराको पहिलो चरण सकिएको छ । सुआहारा कार्यक्रमले बुधवार वीरेन्द्रनगरमा अनुभव आदान–प्रदान कार्यक्रमको आयोजना गरेर एक वर्षको अवधिमा भएको कामको समीक्षा समेत गरेको छ । सो अवसरमा सरोकारवालाहरूले यो कार्यक्रम सफल भएको बताए ।
जिल्लाका विभिन्न गाविसमा सञ्चालन भएको यो कार्यक्रमको उपलब्धिबारे जानकारी दिने, जिल्लामा भएका राम्रा अभ्यासलाई आउँदा दिनमा समेत अनुशरण गर्ने र सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा पहिलो चरणको कार्यक्रम सकिएको जानकारी दिइएको हो । पहिलो चरणको कार्यक्रम अन्तर्गत एक वर्षको अवधिमा नै यो कार्यक्रम सफल भएको निश्कर्ष निकालिएको छ । 
समाज जागरण केन्द्र (स्याक) नेपालको सहकार्यमा सुआहाराले यो कार्यक्रम सञ्चालन गरेको थियो । गर्भवती महिला र सुत्केरी आमा र दुई वर्षसम्मका बालबालिकाहरूको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन, महिला र तिनका परिवारमा पोषित खानाको उपभोगमा वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । समीक्षा कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख बसन्त अधिकारीले जिल्लामा सुआहाराको काम प्रभावकारी भएको बताउँदै आगामी दिनमा यसले निरन्तरता पाउनुपर्नेमा जोड दिए । उनले सुआहारा कार्यक्रमलाई दोस्रो चरणमा जिल्लाका दुर्गम स्थानसम्म लैजान आग्रह गरे ।
स्थानीय विकास अधिकारी हिरालाल रेग्मीको सभापतित्वमा भएको सो कार्यक्रमका सहभागीहरूले यो कार्यक्रम सफल भएकाले आउँदा दिनमा पनि सञ्चालन गर्नुपर्नेमा जोड दिए । यस्तै सुआहारा कार्यक्रमका संयोजक चिरञ्जीवी दाहालले पोषण कार्यक्रमको आवश्यकता, वर्तमान अवस्थाको बारेमा जानकारी दिएका थिए । स्याक नेपालका कार्यकारी निर्देशक टीकाराम आचार्यले यो कार्यक्रम दोस्रो चरणमा समेत सञ्चालन हुने बताए ।
प्रकाशित मितिः   ४ चैत्र २०७२, बिहीबार १२:३६