गुडिरहेको बसबाट खस्दा मृत्यु

साझा बिसौनी संवाददाता
सुर्खेत, ३ चैत ।
गुडिरहेको बसबाट खस्दा सुर्खेतमा एक जना यात्रुको ज्यान गएको छ । सदरमुकाम वीरेन्द्रनगरबाट जिल्लाको पश्चिमतर्फ जाँदै गरेको बसका यात्रुको गुडिरहेको बसबाट खसेर बुधवार ज्यान गएको हो । 
वीरेन्द्रनगरबाट कुनाथरीमा रहेको आफ्नो घरतर्फ जान लागेका ५८ वर्षीय मानबहादुर कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ । गुडिरहेको बसको ढोकाबाट खसेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी बहादुरजंग मल्लले जानकारी दिए । वीरेन्द्रनगरबाट जिल्लाको पश्चिम क्षेत्र गुटुतर्फ जाँदै गरेको बसमा सवार कार्कीको मृत्यु भएको हो । 
कर्णाली राजमार्गको बड्डीचौरमा ना ३ ख ५५६ नम्बरको बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका कार्कीलाई थप उपचारका लागि वीरेन्द्रनगरतर्फ ल्याउँदै गर्दा बाटोमा ज्यान गएको हो । कार्कीको ज्यान गएपछि बस र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।