स्थानीय संरचनामा महिलाको वर्चश्व
गीता थापा
सुर्खेत, ३ चैत ।
कुनैबेला श्रीमान् तथा परिवारका अन्य पुरुष सदस्यहरूको कमाइमा घरखर्च टार्दै आएका सुर्खेतको पूर्वी गाविसका महिलाहरू पछिल्लो समयमा भने आत्मनिर्भर बन्न थालेका छन् । सामान्य खर्चका लागि समेत पुरुषको कमाइमा भरपर्दै आएका यहाँका महिलाहरू यतिबेला आफ्नो खर्चको जोहो आफैले गर्न थालेका छन् । आर्थिक रूपमा मात्र होइन समाजमा हुने हरेक स्थानीय संरचनाका काममा समेत अग्रसर भएर लागेका छन् ।
लेखफर्सा–८ की टीका पौडेललाई कुनै बेला घर बाहेक बाहिरको काम के र कसरी गर्छन् भन्नेसम्म थाहा थिएन । सानो काम गर्न पनि श्रीमान्को सहमति माग्नुपर्ने अवस्था उनको थियो । तर, अहिले भने उनी घरको चुल्हो र चौकोमा मात्र होइन जनचेतना सामुदायिक वनको अध्यक्ष भएर काम गरिरहेकी छिन् । उनले भनिन्, ‘पहिला त म घरदेखि बाहिर निस्कन समेत डराउँथें, घरपरिवार र समाजले केही कुरा काट्ने हुन् कि भन्ने डर लाग्ने गथ्र्यो ।’ जब महिलाहरूका लागि महिला संस्था (वाम) ले लेखफर्सामा ‘मेरो अधिकार, मेरो आवाज’ कार्यक्रम सञ्चालन ग¥यो तब टीका जस्तै धेरै महिलाहरूको जीवनमा नै परिवर्तन ल्याइदियो । उनले थपिन्, ‘जब मेरो अधिकार, मेरो आवाज कार्यक्रम सञ्चालन भयो तबदेखि नै लेखफर्साका सबै महिलाहरूको जीवनमा परिवर्तन भयो ।’ पहिला घरपरिवारको नाताले चिनिने टीकालाई अहिले सबैले अध्यक्षको नामले बोलाउने गर्छन् ।
टीका छलफल कक्षामा सहभागी भएपछि उनमा कुनै पनि स्थानीय संरचनामा अब महिलाहरूले हिसाब किताब खोज्नुपर्छ भन्ने लाग्यो र उनी केही समय जनचेतना सामुदायिक वनको सचिवको पदमा रहेर काम गरिन् । उनी अहिले अध्यक्षको पदमा रहेर काम गरिरहेकी छिन् । उनले भनिन्, ‘यही वन हो जुन वनमा पुरुष अध्यक्ष भएर काम गर्दा र महिला भएर काम गर्दा हिसाब किताबको पारदर्शीता भएको छ ।’ वनबाट काठ निकासी गरेर आएको रकम बचत गर्ने गरेको उनको भनाइ छ ।
त्यस्तै रामघाट–२ की बलीसरा खत्री पनि कुनै समय चुल्होचौकोमा सीमित हुने गर्थिन् । उनलाई महिलाले पनि स्थानीय संरचनामा भाग लिन पाउँछन् भन्ने थाहा थिएन । उनले भनिन्, ‘हामी महिला त सधैं घरको काममा मात्र सीमित हुन्थ्यौं, महिला भएर बाहिर निस्कनु हुँदैन भन्ने लाग्थ्यो ।’ तर, उनी पनि छलफल कक्षामा सहभागी भएदेखि महिला अधिकारका कुरादेखि स्थानीयस्तरमा हुने हरेक संरचनाका कामहरूमा चासो दिन थालिन् । उनी अहिले चन्द्रोदय निम्न माध्यमिक विद्यालयको अभिभावक संघको अध्यक्षको पदमा रहेर काम गरिरहेकी छिन् । यति मात्र होइन रामघाट छलफल कक्षाका महिलाहरू मिलेर नै रामघाट स्वास्थ्य चौकीको लागि जग्गा खरिद तथा भवन निर्माणको काममा समेत जुटिरहेका छन् । कुनै बेला हुलाकीको बुहारी भनेर चिन्ने गाउँका व्यक्तिले अहिले अध्यक्ष भनेर नमस्कार गर्ने गरेको उनको भनाइ थियो ।
रामघाट छलफल कक्षाका सहभागी महिला, स्वास्थ्यचौकी र स्थानीयको पहलमा नै गाविसबाट स्वास्थ्यचौकीको भवन निर्माणका लागि दुई लाख ५० हजार रूपैयाँ छुट्याउन सफल भएका थिए । त्यस्तै महिलाहरूकै सक्रियतामा सहरी डिभिजन कार्यालयबाट स्वास्थ्य चौकी भवन निर्माणका लागि यसै वर्ष दुई करोड ३८ लाख रूपैयाँ छुट्याइ भवन निर्माण कार्य सुरु गरेका छन् । खत्रीले भनिन्, ‘यति मात्र होइन हामी महिलाहरूकै पहलमा गाउँमा बर्थिङ्ग सेन्टर समेत निर्माण गर्न सफल भएका छौं ।’
पहिला पुरुषहरूको नेतृत्व र निर्णयलाई स्वीकार्य मान्दै आएका महिलाहरू अहिले जुनसुकै कामको लागि पनि महिलाहरूको निर्णय अनुसार काम गर्ने गर्छन् । स्थानीय संरचनासँगसँगै आर्थिक रूपमा समेत महिलाहरू सक्षम बन्दै गएका छन् । समूहका महिलाहरू मिलेर नै तरकारी खेती गरी आत्मनिर्भरमा समेत अग्रसर भएका
छन् । रामघाट स्वास्थ्यचौकी इन्चार्ज मानसिं नेपालीले छलफल कक्षाका महिलाहरूकै पहलमा स्वास्थ्यचौकीको लागि जग्गा खरिददेखि भवन निर्माण कार्यसमेत भइरहेको बताए । उनले भने, ‘महिलाहरूसँगसँगै स्वास्थ्यकर्मीदेखि स्थानीय सरोकारवाला सबैले गर्दा रामघाट स्वास्थ्यचौकी अब व्यवस्थित हुँदैछ ।’ ‘मेरो अधिकार, मेरो आवाज’ कार्यक्रमका संयोजक शुक्रबहादुर विकले महिलाहरूमा छलफल कक्षाले धेरै परिवर्तन ल्याएको बताए । उनले भने, ‘पहिला आफ्नो नाम समेत भन्न डराउने महिलाहरू अहिले स्थानीय संरचनाका हरेक कामको हिसाब–किताब खोज्नसक्ने भएका छन् ।’
साझा बिसौनी संवाददाता ।