बनेनन् स्थानीय पाठ्यक्रम

आधारभूत तहमा अनिवार्य स्थानीय पाठ्यक्रम निर्माण गरी पढाउनुपर्ने प्रावधान छ । तर, त्यसको साटो कतिपय विद्यालयले अंग्रेजी र केहीले कम्प्युटर विषय पढाउँदै आएका छन् ।

आधारभूत तहमा अनिवार्य स्थानीय पाठ्यक्रम निर्माण गरी पढाउनुपर्ने प्रावधान छ । तर, त्यसको साटो कतिपय विद्यालयले अंग्रेजी र केहीले कम्प्युटर विषय पढाउँदै आएका छन् ।

बराहताल गाउँपालिकाको भेरी माध्यमिक विद्यालय रानीघाटमा स्थानीय पाठ्यक्रमको साटो ऐच्छिक अंग्रेजी विषय अध्यापन गराउने गरिएको छ । अनिवार्य अंग्रेजी पढाइरहेको विद्यालयले स्थानीय विषयको साटो पनि अंग्रेजी विषय नै पढाउने गरेको हो । विद्यालयले कक्षा ५ सम्म स्थानीय विषयको रूपमा थप अर्को विषय पनि अंग्रेजी नै पढाउँदै आएको छ । स्थानीय तहले पाठ्यक्रम नबनाउँदा उक्त विषयको ठाउँमा पनि अंग्रेजी नै पढाउने गरिएको विद्यालयका प्रधानाध्यापक रत्नबहादुर बुढा बताउँछन् ।

स्थानीय तहले पाठ्यक्रम निर्माण नगरिदिएपछि आफ्नै तरिकाले आवश्यकता अनुसार अध्यापन गराउँदै आएको उनले बताए । ‘पाठ्यक्रम निर्माणको मुख्य जिम्मेवारी स्थानीय तहको हो ।  गाउँपालिकालेले पाठ्यक्रम बनाएको छैन,’ उनले भने, ‘स्थानीय पाठ्यक्रमका रूपमा ऐच्छिक अंग्रेजी विषय पढाइरहेका छौं ।’ पाठ्यक्रम निर्माणमा सम्बन्धित निकायहरूले नै चासो नदिएपछि यस्तो समस्या आएको उनले बताए ।

भेरीगंगा नगरपालिका–६ को जनज्योति माध्यमिक विद्यालयमा स्थानीय पाठ्यक्रमका रूपमा कम्प्युटर विषय अध्यापन गराइएको छ । नगरपालिकाले पाठ्यक्रम निर्माणमा चासो नदेखाएपछि कम्प्युटर विषयलाई नै स्थानीय पाठ्यक्रम बनाएको हो । विद्यालयका प्रधानाध्यापक मानबहादुर वलीले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई कम्प्युटर विषय र कक्षा ३ देखि ५ सम्मकालाई तरकारी खेतीसम्बन्धी पाठ्यपुस्तक अध्यापन गराउँदै आएको जनाए । उनले तरकारी खेतीसम्बन्धी बजारमा प्रशस्त पुस्तक किन्न पाइने भएकाले सोही किताब अध्यापन गराएको बताए ।

पञ्चपुरी नगरपालिका–९ स्थित शारदा प्राथमिक विद्यालयमा समेत स्थानीय पाठ्यक्रमको रूपमा बजारमा किन्न पाइने तरकारी खेतीको किताब पढाउने गरिएको छ । नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छैन । पाठ्यक्रम नबनेकाले विद्यालयले बजारबाट किनेर भएपनि कृषिसम्बन्धी ज्ञान विद्यार्थीलाई दिएको प्रधानाध्यापक दधिराम वाग्ले बताउँछन् । ‘हामीले पहिले नै स्थानीय पाठ्यक्रम निर्माणका लागि प्रयास गरेका हौं । सफल हुन सकिएन,’ वाग्लेले भने । उनले नगरका पर्यटकीय स्थल चिनाउने गरी पाठ्यपुस्तक निर्माणको काम थालिए पनि त्यसले पूर्णता नपाएको जनाए ।

विद्यालयको पाठ्यक्रममा हरेक स्थानीय तहले कम्तीमा एउटा विषय स्थानीय पाठ्क्रमममा आधारित निर्माण गरी अध्यापन गराउनुपर्ने प्रावधान छ । आधारभूत तहका कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई स्थानीय मातृ भाषामा पाठ्यक्रम निर्माण गरी अध्यापन गराउनुपर्ने भए पनि सुर्खेत जिल्लाका नौ वटै स्थानीय तहले हालसम्म पाठ्यक्रम निर्माण गरेका छैनन् । स्थानीय पाठ्यक्रमको साटो विद्यालयहरूले अङ्ग्रेजी र कम्प्युटर विषय अध्यापन गराइरहेका हुन् ।

गुर्भाकोट नगरपालिका शिक्षा शाखा प्रमुख पदम विकले पाठ्यक्रम निर्माणको अन्तिम तयारी भइरहेको बताए । कृषि लगायतका विषयलाई समेटेर पाठ्यक्रम निर्माणको काम थालिएको उनले बताउँछन् । ‘पाठ्यक्रम निर्माण समिति गठन गरी छलफल भइरहेको,’ उनले भने, ‘अबको केही समयमा स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू हुनेछ ।’ उनले आर्थिक वर्ष २0७६/0७७ मा पाठ्यक्रम निर्माणका लागि बजेट विनियोजन गरेको भए पनि कोरोना भाइरसको कारण काम गर्न नसकिएको जनाए ।

वीरेन्द्रनगर नगरपालिकाले पनि स्थानीय पाठ्यक्रम निर्माण गरिसकेको छैन । शिक्षा शाखा प्रमुख उत्तम आचार्यले भने पाठ्यक्रम निर्माणको तयारीमा जुटिरहेको दाबी गरे । उनले वीरेन्द्रनगरले बनाउने पाठ्यक्रममा स्थानीय तहको संरचनादेखि उद्योग समेतलाई समेट्न लागिएको बताए । ‘विज्ञहरूको सुझावका आधारमा हामीले कृषि, संस्कृति र पर्यटनजस्ता सवाललाई पनि समेटेर पाठ्यक्रम निर्माण गर्दैछौं,’ उनले भने ।

पाठ्यक्रम विकास केन्द्रको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार स्थानीय आवश्यकतामा आधारित शिक्षा प्रदान गर्ने गरी योजना बनाएको छ । सोही बमोजिम पालिकाहरूलाई स्थानीय पाठ्यक्रम बनाएर लागू गर्ने अधिकार दिइएको छ । अधिकांश स्थानीय तहले भने आफ्नै पाठ्यक्रम निर्माण गरेर लागू गर्न सकिरहेका छैनन् । पाठ्यक्रम विकास केन्द्रले प्रकाशित प्रारूपमा मातृभाषिक पक्षहरू, रोजगारी तथा स्वरोजगारीका लागि शिक्षा, पाठ्यक्रममा समावेशी पद्धति, वैकल्पिक तथा खुल्ला शिक्षा, शिक्षामा जीवनउपयोगी सीप लगायतका विषयवस्तु समावेश गरिएका छन् । पाठ्यक्रम निर्माण गर्दा स्थानीय आवश्यकताको पहिचान गर्दै स्थानीय तहमा अनुकूल हुने विषयहरू समेटेर पाठ्यक्रम निर्माण गर्नुपर्ने भनिएको छ ।

प्रकाशित मितिः   ७ चैत्र २०७७, शनिबार ०६:००