उद्‍गमस्थलमै नेपाली सिकाइ कमजोर

नेपाली भाषाको उद्‍गम थलो हो, कर्णाली प्रदेश । जुम्लाको सिंजाबाट उत्पत्ति भएको खस भाषालाई नेपाली भाषाको जननी मानिन्छ । तर, यही प्रदेशका विद्यार्थीको नेपाली विषयमा सिकाइ उपलब्धी भने निकै कमजोर देखिएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रतिवेदन अनुसार कर्णालीको सिकाइ उपलब्धी अन्य प्रदेशको तुलनामा सबै विषयमा कम छ । केन्द्रले शुक्रवार कर्णालीका विद्यार्थीको सिकाइ उपलब्धीको तथ्याङ् सार्वजनिक गरेको हो ।

विद्यार्थी उपलब्धीको राष्ट्रिय परीक्षण(नासा)ले सन् २०१९ मा कक्षा १० का चार वटा विषय छनोट गरी सिकाइको अवस्थाबारे अध्ययन गरेको थियो । सिकाइको वास्तविक अवस्था पहिचान गर्न पहिलो पटक कक्षा १० का देशभरीका विद्यार्थीको प्रतिनिधित्व हुनेगरी उनीहरूको सिकाइ अवस्था मापन गरिएको हो । नेपाली, अंग्रेजी, विज्ञान र गणित विषयको सिकाइ उपलब्धी र अवस्थाबारे अध्ययन गरिएको नासाका निर्देशक उत्तमकुमार पराजुलीले बताए ।

प्रदेशअनुसार विद्यार्थीको उपलब्धीमा विविधता पाइएको छ । नेपाली विषयमा राष्ट्रिय औसत उपलब्धी पाँच सय हुँदा कर्णाली प्रदेशको विद्यार्थीको सिकाइ उपलब्धी भने चार सय ७५ मात्र देखिन्छ । कर्णालीका विद्यार्थीले नेपाली विषयमै औसत उपलब्धी हासिल गर्न नसकेका हुन् । कर्णाली र २ नम्बर प्रदेशका विद्यार्थीले नेपाली विषयमा राष्ट्रिय औसत उपलब्धी भेटाउन सकेका छैनन् । नेपाली विषयमा २ नम्बर प्रदेशको सिकाइ उपलब्धी कर्णालीको भन्दा पनि न्यून छ । त्यहाँको नेपाली सिकाइ उपलब्धी चार सय ७४ रहेको पाइएको छ । नेपाली विषयमा सबैभन्दा राम्रो सिकाइ उपलब्धी गण्डकी प्रदेशको छ । जहाँ पाँच सय १६ उपलब्धी रहेको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय भाषाको प्रभावका कारण कर्णालीमा नेपाली विषयको सिकाइ कमजोर भएको हुनसक्ने आरटीआई इन्टरनेशनलको प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सुर्खेतका संयोजक डा. नरेशविक्रम ढकाल बताउँछन् । उनी भन्छन्, ‘कर्णालीमा बोलिने स्थानीय भाषाको प्रभाव बढी छ । जसले गर्दा नेपाली भाषामा विद्यार्थीको सिकाइ उलब्धीमा प्रभाव परेको होला ।’

कर्णालीको सिकाइ उपलब्धी अन्य प्रदेशको तुलनामा अरू विषयमा पनि कमजोर देखिएको छ । अंग्रेजी, विज्ञान र गणितमा पनि यहाँका विद्यार्थीको सिकाइ औसतभन्दा कम भएको हो । विद्यार्थीहरूको क्षमतालाई पाँच सय औसत मानी औसतभन्दा उच्च र न्यून हुनेको प्रतिवेदनमा तुलना गरिएको छ ।

नासाका निर्देशक पराजुलीका अनुसार चार वटा विषयको परीक्षणमा वैज्ञानिक नमुना छनोट विधि अपनाइएको थियो । जसमा सामुदायिक र संस्थागत गरी एक हजार आठ सय विद्यालयका ४३ हजार आठ सय ८६ विद्यार्थीहरूलाई समावेश गरिएका थिए । नेपालमा सन् २०११ देखि शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट विद्यार्थी उपलब्धीको राष्ट्रिय परीक्षण गर्न थालिएको थियो । त्यसयता कक्षा ३, ५, ८ र १० मा निश्चित विषयमा विद्यार्थीको सिकाइ उपलब्धीको परीक्षण गरिएको छ ।

प्रकाशित मितिः   ७ चैत्र २०७७, शनिबार ०६:००