नौ दिनपछि भेटियो रजनीको शव

गएको फागुन २३ गते आमासहित कर्णाली नदीमा हामफालेकी ५ वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ । उनको शव नौ दिनपछि अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

बालिकाको शव मंगलवार दिउँसो कर्णाली नदीको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । रजनीको शव पोष्टमार्टमका लागि अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा पठाइएको छ । नदी किनारमा बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

दैलेखको आठबीस–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै कर्णाली नदीमा हाम फालेको भोलीपल्ट अर्थात् फागुन २४ गते (सोमवार) सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव नदीमा फेला परेको थियो । त्यसको भोलिपल्ट (मंगलवार) सुकी र उनका छोरा १० वर्षीया ललितको शव पनि कर्णाली नदीमै भेटिएको थियो ।

पारिवारिक कलहका कारण सुकी चार सन्तानसहित नदीमा हाम फाल्न बाध्य भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । आफ्नो मृत्युपछि सन्तानलाई पतिले झन् दुःख दिने भयका कारण सुकीले यस्तो गरेको हुन सक्ने स्थानीयले बताएका छन् ।

प्रकाशित मितिः   ४ चैत्र २०७७, बुधबार ०६:००