सक्रिय संक्रमित एक प्रतिशतभन्दा कम

कर्णाली प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरस ‐कोभिड–१९) का सक्रिय संक्रमितको संख्या न्यून छ । कूल संक्रमित मध्ये एक प्रतिशतभन्दा कम मात्र ‘एक्टिभ केस’ रहेका छन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेशमा कोरोना संक्रमण देखिएका मध्ये सक्रिय संक्रमितको संख्या हाल ० दशमलव ०८ प्रतिशत मात्र छ ।

कर्णालीमा कोरोनाका संक्रमितको संख्या एक प्रतिशतभन्दा पनि तल झरेको हो । महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले अहिले प्रदेशभर ६ जना संक्रमित रहेको बताए । उनीहरूको आइसोलेसनमा उपचार भइरहेको कंडेलले जानकारी दिए । ती सबै संक्रमित सुुर्खेतका हुन् । हाल प्रदेशका नौ वटा जिल्ला कोरोना संक्रमणमुक्त भइसकेका छन् । सुर्खेतबाहेकका जिल्लामा कोरोना संक्रमित छैनन् ।

कर्णाली प्रदेशमा गएको जेठ ५ गते पहिलो पटक कोरोना संक्रमण देखिएको थियो । त्यस यता कोरोना संक्रमणको संख्या सात हजार पाँच सय ७३ पुगेको छ । सात हजार तीन सय ९२ जना कोरोना संक्रमणमुक्त भइसकेको महाशाखाले जनाएको छ । कोरोना संक्रमण देखिएका ३१ जनाको मृत्यु भएको छ ।

महाशाखाका अनुसार सुर्खेतका १७, दैलेखका सात, सल्यान, रुकुम–पश्चिम, कालीकोट र डोल्पाका एक–एक जना र अन्य प्रदेशका तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । प्रदेशमा अहिलेसम्म ९७ हजार नौ सय २३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । पछिल्लो समय प्रदेशका विभिन्न स्थानमा एन्टिजेन विधिबाट पनि कोरोना परीक्षण हुँदै आएको छ ।

प्रकाशित मितिः   ४ चैत्र २०७७, बुधबार ०६:००