बर्सेनि किन दोहोरिन्छ आगलागी ?
गएको माघ १४ गते जुम्लाको गोठीगाउँमा आगलागी हुँदा २८ वटा घर पूर्णरूपमा जलेर नष्ट भए । तीन वटा घरमा आंशिक क्षति भयो । अन्नपात, धनसम्पत्ति र पशुचौपाया जलेर खरानी भए । प्रहरीकाअनुसार गोठीगाउँमा भएको आगलागीबाट ठूलो क्षति पुगेको छ । तीन करोड बढीको धनमालको क्षति भएको प्रहरीले जनाएको छ । भीषण आगलागी भए पनि त्यहाँ मानवीय क्षति भने भएन ।
एउटा घरमा सुधारिएको चुल्होको धुवा फाल्ने ठाउँबाट आगलागी सुरू भएर बस्ती नै सखाप भएको थियो । आगलागीका कारण विस्थापित भएका परिवार अहिले पनि खुल्ला आकाशमुनी छन् ।
गत मंसिरमा कालीकोटको तिलागुुफा नगरपालिका–४ राँचुलीमा आगलागी भयो । त्यहाँका १३ घरपरिवार विस्थापित भए । उनीहरू अहिले पनि त्रिपालमुनी बसिरहेका छन् । प्रदेश सरकार र स्थानीय तहले आगलागी भएको बस्तीको पुनर्निर्माण गर्ने भने पनि काम अघि बढ्न सकेको छैन ।
त्यस्तै, गएको फागुनमा सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पेमा आगलागी हुँदा तीन घर जलेर नष्ट भए । जंगलमा लागेको आगो घरमा सल्किएको थियो । प्रहरीकाअनुसार वनमा लागेको आगोले बस्तीलाई भेटाएपछि तीन घर जल्दा लाखौंको क्षति भएको हो । सामुदायिक वनमा पनि आगोले ठूलो क्षति पु¥याएको थियो ।
यी पछिल्लो समय भएका आगलागीका प्रतिनिधिमूलक घटना मात्रै हुन् । कर्णालीका बस्ती र सामुदायिक वन बर्सेनि यसरी नै जल्छन् । आगलागीका कारण यहाँ ठूलो जनधनको क्षति हुुँदै आएको छ । आगलागीले बस्ती नै सखाप हुुने गरेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला पाँच वर्षको अवधिमा प्रदेशमा आगलागीका कारण २३ जनाको मृत्यु भएको छ । ४२ जना घाइते भएका छन् । यो अवधिमा एक अर्ब ७९ करोड १७ लाख नौ हजार आठ सय रूपैयाँ बराबरको धनमालको क्षति भएको छ ।
आर्थिक वर्ष २०७३÷०७४ मा दुई सय २४ वटा आगलागीका घटना भएका थिए । ती घटनामा चार जनाको मृत्युु र सात जना घाइते भएका हुन् । सोही वर्ष चार करोड ५० लाख ४४ हजार बराबरको सम्पत्ति जलेर नष्ट भएको थियो । आर्थिक वर्ष २०७४÷०७५ मा एक सय ९१ आगलागीका घटना भएकोमा पाँच जनाको मृत्यु भयो भने १२ जना घाइते भए । आठ करोड ६६ लाख ६४ हजार सात सय बराबरको धनमालको क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै, आर्थिक वर्ष २०७५÷०७६ मा कर्णालीमा दुुई सय आठ वटा आगलागीका घटना भए । यी घटनामा तीन जनाको मृत्युु भयो भने १० जना घाइते भएका थिए । सोही वर्ष चार करोड ६३ लाख ४२ हजार बराबरको भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ ।
२०७६÷०७७ मा एक सय ६० वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर चार जनाको मृत्यु भएको छ । ८९ पशुचौपाया मरेका छन् । आगलागीका कारण एक अर्ब ५१ करोड ५६ लाख ४८ हजार बराबरको सम्पत्तिमा क्षति पुगेको छ । चालु आर्थिक वर्षको यो अवधिसम्म ४७ वटा आगलागीका घटना भइसकेका छन् । आगलागीबाट सात जनाको मृत्यु भएको छ भने नौ करोड ६४ लाख ७९ हजार रूपैयाँ बराबर क्षति भएको छ ।
कर्णाली बाढी पहिरोसँगै भीषण आगलागीको चपेटामा पनि पर्दै आएको छ । हरेक वर्ष प्राकृतिक प्रकोपदेखि आगलागीका घटनामा उस्तै नियति दोहोरिने गरेको हो । प्रायः आगलागीका घटना मानवीय त्रुटीले निम्तिने गरेका छन् । यसबाहेक कर्णालीका बस्ती तथा सामुदायिक वनमा आगलागी हुनुका अन्य कारण पनि छन् ।
खर तथा फुसका छाना, काठले बनाइएका कच्ची घर, वनजंगल नजिकै बस्ती जस्ता कारण आगलागीका घटना बढी हुने गरेको जानकारहरू बताउँछन् । कर्णालीमा एउटा घरमा आगो लाग्ने बित्तिकै अरु घरहरूसमेत जल्ने समस्या छ । हिमाली क्षेत्रमा घरहरू जोडेर बनाइने भएकाले यस्तो समस्या हुने गरेको हो । भौगोलिक विकटता र पानीको सहज उपलब्धता नहुँदा आगो नियन्त्रणमा समेत कठिनाइ हुने गरेको छ ।
वनजंगलमा घाँस पलाउने भन्दै आगो लगाउँदा बस्तीमा पस्ने गरेको छ । सामुदायिक वनहरू सल्किएको आगोले बस्ती नै सखाप पार्ने गरेको छ । चुरोट खाएर ठुटा जथाभाबी फाल्दा पनि आगलागी हुने गरेको पाइएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्दले यसबाहेक केटाकेटीले जथाभाबी रूपमा आगो बाल्दा, विद्युत सट हुँदा पनि आगलागीका घटना हुने गरेको बताए ।
‘आगलागी हुनेको प्रमुुख कारण मानवीय त्रुटी हो,’ उनी भन्छन्, ‘केही घटना विधुत सट भएर पनि हुने गरेका छन् ।’ कर्णालीमा भौगौलिक विकटता छ । यहाँका सबै बस्तीमा सडकको पहुँच छैन । आगलागी भइहाले पनि नियन्त्रण गर्न समस्या छ । आगलागी भइसकेपछि नियन्त्रण गर्न स्रोत, साधन र जनशक्तिको अभाव त छँदै छ बस्तीमा पानी समेत नहुुँदा थप समस्या हुने गरेको छ । जसले गर्दा आगलागी भइहाले ठूलो जनधनको क्षति हुने गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी शाखा कालीकोटका सभापति बल सञ्जेल आगो लाग्नै नदिनका लागि बढी सजकता अपनाउनुपर्ने बताउँछन् । कर्णालीमा आगलागीका घटना दोहोरिरहनुमा मानवीय कमजोरी नै बढी भएको उनले बताए ।
‘आगो लाग्नै नदिनका लागि हरेक मान्छे सजक हुनुपर्छ । स्थानीय तहहरूले जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक छ । फेरि आगलागीका घटना हुन नदिन सजक रहनुको विकल्प छैन ।’ घर निर्माण गर्दा संरचनाहरूमा पनि विशेष ध्यान दिनुपर्ने उनले बताए ।
कर्णालीमा फुस र खरका छाना हटाएर टीनका छाना हाल्ने सरकारी नीति भए पनि सबै ठाउँमा लागू भएको छैन् । कतिपय बस्तीहरूमा टीनका छाना लगाइए पनि काठका घर भएकाले आगलागीका घटना फेरि–फेरि दोहोरिरहेका छन् । अरु बेलाभन्दा सुख्यायाममा झनै आगलागीका घटना बढ्ने गरेका छन् । लहरै जोडिएर बनेका घरका कच्ची संरचनाले आगो तिव्र रूपमा फैलने गरेको छ । पहाडी क्षेत्रमा हुने आगलागी एकदमै ठूलो क्षतिपछि मात्रै नियन्त्रणमा आउने प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार दमकल र पानीको अभावका कारण आगो नियन्त्रणमा लिन निकै चुनौती हुने गरेको छ ।
प्रदेश वन निर्देशनालयका वन अधिकृत सूर्यप्रसाद शर्माले जनचेतनाको कमीका कारण आगलागी बढी हुने गरेको बताए । उनले यो समयमा वनमा बढी डढेलो लाग्ने र बस्तीमा लागेको आगो वनमा लाग्ने र वनमा लागेको आगो बस्तीमा सर्ने समस्या रहेको जनाए । आगलागीका घटना कम गर्न हरेक बस्तीहरूमा जनचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने उनी बताउँछन् । सरकारी निकाय र सामुदायिक वन उपभोक्ता समितिहरूले आगलागी न्यूनीकरणका प्रयासहरू गरेपनि ती कार्यक्रम पर्याप्त नभएको उनले बताए ।
डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले पनि खासगरी मानवीय त्रुुटिका कारण नै आगलागीका घटना बढी हुुने गरेको बताए । आगलागी हुनुमा प्राकृतिक कारण पनि रहेको गिरी बताउँछन् । ‘ढुङ्गाहरू खसेर ठोकिँदा पनि आगलागी हुने गरेको छ,’ उनले भने, ‘यस्ता घटना भने न्यून मात्रामा हुने गरेका छन् ।’ आगलागी भइसकेपछि बस्ती व्यवस्थापनमा सरकारी निकाय निकै उदासीन देखिने गरेको छ । आगलागीका घटनाबाट विस्थापित परिवारको व्यवस्थापनमा तीनै तहका सरकारले बेवास्ता गर्ने गरेको अग्नीपीडितहरूको गुनासो छ ।
प्रकाशित मितिः ४ चैत्र २०७७, बुधबार ०६:००
साझा बिसौनी ।