पूर्वाधार विकासमा योगदान

कर्णाली प्रदेश विकासमा पछि छ । पर्याप्त पूर्वाधार निर्माण हुन सकेको छैन । सडककै सहज पहुँच छैन । केही जिल्लामा भर्खरै मात्र राष्ट्रिय सडक सञ्जालले छोएको छ । हुम्ला र डोल्पा सदरमुकामलाई अझै सडक सञ्जालले जोडेको छैन । सवारीसाधन नपुगेका कयौं गाउँ छन् । बिरामी उद्धारका लागि एम्बुलेन्स समेत पुग्न नसक्ने अवस्था छ । खच्चरलाई भारी बोकाएर सामान पु¥याउनुपर्ने बाध्यता हटेको छैन । बनेका अधिकांश सडक पनि कच्ची छन् । सुधार र स्तरोन्नति हुन सकेका छैनन् । कतिपय स्थानीय तहहरूमा पक्की सडकले छुन समेत सकेको छैन । प्रदेशका ७९ वटा स्थानीय तहमध्ये ४० वटा तहमा पक्की सडक नै पुगेको छैन । भौगोलिक अवस्थितिलाई विकटताका रूपमा व्याख्या गर्ने र त्यसलाई समस्याका रूपमा खडा गरेर पञ्छिने गरिएको छ । जसले गर्दा कर्णाली पछि परेको हो ।

विगतको केन्द्रीकृत शासन व्यवस्थाका बेला उपेक्षामा परेको कर्णाली अहिले संघीय गणतन्त्रात्मक व्यवस्था कार्यान्वयनमा भइरहँदा पनि अपेक्षाकृत रूपमा विकास हुन सकेको छैन । यद्यपि केही प्रयास भने भएका छन् । पछिल्लो पटक संघीय सरकारले सबै स्थानीय तहमा पक्की सडक पु¥याउने गरी प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सुरू गरेको छ । तीनै तहका सरकारबीचको समन्वयमा पक्की सडक नपुगेका स्थानीय तहमा सडक निर्माण र सुधारका काम हुने भएका हुन् । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले देशका सात वटै प्रदेशमा एकै साथ उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् । सरकारले देशभरका दुई सय १० स्थानीय तहमा केन्द्रसँग जोड्ने पक्की सडक निर्माण कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहसँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । कार्यक्रमलाई अघि बढाउन स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सबै प्रदेशमा स्थापना गरेर काम अघि बढाएको हो । स्थानीय तहको केन्द्रहरूसम्म पक्की सडक पु¥याउने लक्ष्य यो कार्यक्रमको हो । यस परियोजना अन्तर्गत कर्णाली प्रदेशमा ४० वटा स्थानीय तहका प्रशासनिक केन्द्र जोड्ने पक्की सडक बनाइनेछ । उल्लेखित कार्यक्रम सुरू भइसकेकाले यी स्थानीय तहमा केही वर्षभित्र पक्की सडक पुग्ने छ ।

यस कार्यक्रममार्फत सडक निर्माण, स्तरोन्नति र सुधारका कामहरू सञ्चालन हुुनेछन् । सडक विकासको आधारभूत पूर्वाधार हो । सडकविना अरु पूर्वाधार निर्माण गर्न पनि सकिदैन । त्यसैले सडक निर्माण अपरिहार्य छ । सडक नपुगेको ठाउँमा नयाँ निर्माणका साथसाथै यसअघि निर्माण गरिएका सडकहरूको विस्तार र स्तरोन्नति गर्न सकिन्छ । सडक निर्माणले एकातर्फ विकासलाई गाउँ–गाउँसम्म पु¥याउँछ । अर्कोतर्फ यसैलाई रोजगारीको अवसरका रूपमा समेत सदुपयोग गर्न सकिन्छ । कर्णालीमा बेरोजगारी समस्या व्याप्त छ । रोजगारी नहुँदा यहाँका अधिकांश नागरिक विदेशिनु परिरहेको छ । सडक निर्माण योजनाले मात्रै पनि धेरै नागरिकलाई रोजगारी दिलाउन सक्दछ भने अन्य आर्थिक विकासका बाटाहरू पनि खुल्दछन् । त्यसैले सडक निर्माण तथा सुधार परियोजनाको कार्यान्वयनले कर्णालीलाई निकै फाइदा पुग्नेछ ।

प्रकाशित मितिः   ३ चैत्र २०७७, मंगलवार ०६:००