दुई लाख पुरस्कार राशीको भलिबल प्रतियोगिता हुँदै

कर्णाली प्रदेशमा अहिलेसम्मकै ठूलो पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने भएको हो । चुली युवा क्लबले चैत ११ गतेदेखि भलिबलको प्रदेशस्तरीय प्रतियोगिता हुने जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक चुली युवा क्लबका अध्यक्ष महेश जिसीले बताए । क्लबले सोमवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । भलिबल प्रतियोगितामा द्वितीय हुनेलाई एक लाख ५० हजार, तृतीयलाई एक लाख र सान्त्वना हुनेलाई ५० हजार नगद पुरस्कार दिइने बताइएको छ । आयोजक संस्थाका अनुसार खेलका विभिन्न विद्यामा उत्कृष्ट हुनेले समेत पुरस्कार पाउने छन् ।

जसअनुसार वेष्ट प्लेयरलाई १५ हजार र वेष्ट स्पाइकरलाई सात हजार पुरस्कार राशीको व्यवस्था गरिएको छ । यस्तै, वेष्ट सेट, वेष्ट ब्लकर, वेष्ट डिफेन्डर, वेष्ट सर्भर र बेष्ट कोचरलाई सात हजार पाँच सय नगद पुरस्कार रहेको छ । प्रतियोगिता सञ्चालनका लागि आवश्यक खर्च निजी क्षेत्रबाट सहयोग लिइने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन १० हजार टिम दर्ता शुल्क तोकिएको छ । खेल संयोजक मोतीराम नेपालीका अनुसार अन्य प्रदेशका टिमले पनि प्रतियोगितामा सहभागी हुन पाउने छन् । खेल अवधिमा लाग्ने खर्च सहभागी टिमले स्वयम् व्यहोेर्नुपर्ने छ । टिम दर्ता चैत ३ गते (आज)देखि १० गते साँझ ५ बजेसम्म गराइसक्नु पर्ने बताइएको छ । भलिबल प्रतियोगिता चैत ११ देखि १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

खेलकुद विकास समितिमा पुनः गिरी

जिल्ला खेलकुद विकास समिति सुर्खेतको अध्यक्षमा चन्द्रकुमार गिरी नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले गिरीलाई सोमवार नियुक्त गरेको हो ।

यसअघि २०७१ मा पनि समितिको अध्यक्ष भइसकेका गिरी भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा भलिबल संघ सुर्खेतका अध्यक्ष समेत हुन् । कर्णाली प्रदेश खेलकुद परिषद्ले उनलाई संघको अध्यक्ष बनाउन सिफारिस गरेको थियो ।

सोमवार नै सपथ ग्रहण गरेका गिरीले कर्णालीमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माणमा पहल गर्नु आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् । पालिकास्तर र स्थानीयतहमा आयोजना गरिने विभिन्न खेलकुदका गतिविधिसँगै राष्ट्रिय खेलकुदका लागि परिषद् र मन्त्रालयसँग सहकार्य गरी अघि बढ्ने उनले बताए । मन्त्रालयले उनीसँंगै जिल्ला खेलकुद विकास समिति हुम्लाको अध्यक्षमा विनोद बोहरालाई नियुक्त गरेको छ ।

प्रकाशित मितिः   ३ चैत्र २०७७, मंगलवार ०६:००