मन्त्री–सचिव टकराव
सचिवले काम नगरेको भन्दै मन्त्रीद्वारा कारबाही माग गर्दै मुख्यमन्त्रीलाई पत्र, सचिवको लुम्बिनी प्रदेशमा काज सरुवा

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले आफ्नो मन्त्रालयका सचिवलाई कारबाही गरिदिन मुख्यमन्त्रीलाई गुहारेका छन् । मन्त्री रावलले सचिव लोकनाथ पौड्याललाई कारबाहीको माग गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका हुन् ।
मन्त्री रावलले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिन लाग्दा समेत मन्त्रालयका कुनै पनि काम अघि नबढेको व्यहोरासहितको पत्र फागुन २३ गते मुख्यमन्त्री शाहीलाई लेखेका थिए । सचिवले मन्त्रालय बाहिरका काममा प्राथमिकता दिएकाले कारबाही गरिदिन उनले अनुरोध गरेका थिए ।
‘सचिव लोकनाथ पौड्यालले पद बहाली गरेको समयदेखि नै मन्त्रालयको कामकाज भन्दा व्यक्तिगत कामलाई मात्र महŒव दिएको तथा पदको जिम्मेवारी, दायित्व र कर्तव्यलाई सिरानीमा हालेर निदाएजस्तो गरी चालु आर्थिक वर्ष २०७७÷०७८ को अन्तिमतिर आउँदासम्म पनि मन्त्रालयको काममा सिन्को भाँच्नेसम्मको कार्य गरेनन्,’ मन्त्रीले लेखेको पत्रमा भनिएको छ, ‘सचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउनका लागि आवश्यक कदमका साथ कारबाही प्रक्रिया अघि बढाउन अनुरोध छ ।’
सामाजिक विकासमन्त्री रावलको यही पत्रका आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक कारबाही र सरूवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरेको थियो । संघीय मामिला मन्त्रालयले पौड्याललाई हाल लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा काज सरूवा गरिसकेको छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म सामाजिक विकास मन्त्रालयको पूँजीगत खर्च ३ प्रतिशत २३ प्रतिशत मात्रै भएको छ ।
प्रकाशित मितिः ३ चैत्र २०७७, मंगलवार ०६:००
साझा बिसौनी ।